७ वैशाख २०८१ शुक्रबार
समाज

सडकले छोयो, सास्तीले छोडेन

पहिरोका कारण सिन्धुलीको खाङसाङबेंसीमा रोकिएका सवारी साधन र अलपत्र यात्रु। तस्बिर: दमन/नागरिक

खोटाङ - पूर्वका पहाडी जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएको वर्षौं भएको छ। तर बर्खा लागेपछि अधिकांश सदरमुकाम जोड्ने सडक हिलाम्मे र यात्राका लागि सकसपूर्ण हुन्छन्। सडक भए पनि बर्खामा हिलोपहिरो र हिउँदमा धुलोले यात्रा कष्टकर हुने यात्रु बताउँछन्।

सडकमा गाडी नचलेपछि प्रेसरको बिमारले ढलेकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ६५ वर्षीय हस्तकला राईलाई असार ३१ गते चार्टर हेलिकोप्टरबाट काठमाडौं पठाइयो। सोही दिन राति ८ बजे क्यानडा उडानका लागि सेड्युल भएका सोल्माकै हेमन्त राईले २ लाखमा हेलिकोप्टर चार्टर गरेकाले हस्तकलाले त्यसमा जाने अवसर पाएकी हुन्। हस्तकला मात्र होइन, साबिकको सदरमुकाम दिक्तेल र सहर जोड्ने सडक पहिरोले ठप्प हुँदा अधिकांश बिरामी हेलिकोप्टर चार्टर गर्न बाध्य छन्। कतिपय यात्रु चार/पाँच दिन लगाएर काठमाडौं ओहोरदोहोर गर्न बाध्य भए। दिक्तेललाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक बिग्रँदा लोकसेवा आयोगका परिक्षार्थीसमेत सास्ती भोग्न बाध्य भए।

साबिकको सदरमुकाम दिक्तेललाई मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम–घुर्मी–खुर्कोट सडकले काठमाडौंसँग जोडेको छ। यस्तै, सिद्धिचरण राजमार्गको दिक्तेल–घुर्मी–कटारी सडकले पूर्वी सहरसँग सम्पर्क स्थापित गरेको छ। दिक्तेल–गाईघाट सडकले पनि दिक्तेल र पूर्वका सहरलाई नजिक बनाएको छ। तर, वर्षा लागेलगत्तै जेठदेखि दिक्तेल–गाईघाट सडक ठप्प छ। असार चौथो साताको सुरुवातीका दिनसम्म सञ्चालनमा रहेको दिक्तेल–जयराम–घुर्मी–खुर्कोट–काठमाडौं सडक पहिरोका कारण ९ दिनसम्म ठप्प भयो। असार २६ गतेदेखि ठप्प बनेको दिक्तेल–जयराम–घुर्मी–खुर्कोट सडक साउन ३ गते सञ्चालनमा आयो। तर, यसबीचमा भइरहेको वर्षाका कारण सडकमा यातायात भरपर्दो बन्न सकिरहेको छैन। यात्रु जुनसुकैबेला पहिरो खस्ने वा सडक भासिने त्रासमा यात्रा गर्न बाध्य छन्।

पूर्वी सहर तथा दक्षिणको तराईलाई जोड्ने घुर्मी–कटारी सडकको ठाँटीमा भत्किएको भाग मर्मत नहुँदा यातायात सम्पर्क मात्र टुटेको छैन, दैनिक उपभोग्यवस्तुको ढुवानीमा समेत कठिनाइ भइरहेको छ। सडक ठप्प हुँदा यात्रा कष्टप्रद भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए। ‘वर्षाका कारण सडक अवरुद्ध हुँदा सर्वसाधारण कष्टप्रद यात्रा गर्न बाध्य छन्,’ प्रमुख चाम्लिङले भने, ‘सिकिस्त बिरामीलाई अस्पताल लैजान महंग शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता अहिले पनि छ।’

वर्षा सुरु भएसँगै सडक बिग्रँदा सास्ती खेप्नुपर्ने समस्या खोटाङवासीको मात्र होइन। पूर्वी पहाडका अधिकांश जिल्ला सदरमुकाम जोड्ने सडकको अवस्था नाजुक छ। ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ते¥हथुमलगायत पहाडी जिल्लाको केन्द्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक अझै भरपर्दाे बन्न सकेको छैन। पहाडी जिल्लालाई जोड्ने प्रमुख सडक हिउँदमा सहजै सञ्चालन भए पनि वर्षायाममा पहिरो र बाढीका कारण ठाउँ–ठाउँमा क्षतविक्षत हुने गरेको छ। वर्षामा सडकलाई माथिबाट ठाउँ–ठाउँमा पहिरो खस्ने वा तलबाट पहिरोले तान्ने समस्या छ। सडकको नाजुक अवस्था हुँदा तत्काल अस्पताल लैजानुपर्ने प्रकृतिका बिरामी बढी समस्यामा परेका छन्। आकस्मिक कामका लागि गाउँ–सहर गर्नुपर्ने स्थानीय पनि सास्ती बेहोर्न बाध्य छन्। पहाडी जिल्लालाई जोड्ने सडकमा वर्षायाममा निम्तिने समस्या उस्तै–उस्तै रहेको ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए।

‘तल्लो सडकलाई माथिल्लो सडक भत्किएर असर गरिरहेको देखिन्छ। माथिबाट खनिएका सहायक बाटोको ढिस्को भत्किएर मध्यपहाडी लोकमार्ग अवरुद्ध छ,’ सुनुवारले भने, ‘ओखलढुंगामा पनि त्यही समस्या छ। अन्य जिल्लाको समस्या पनि यही हो।’

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको हर्कपुरस्थित भँडारे खोला, घुर्मी र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलामा बाढी आउँदा तथा घुर्मी र खुर्कोटकाबीचमा दर्जनौं स्थानमा पहिरो जाँदा असार अन्तिम साता ओखलढुंगा, खोटाङ र सोलुखुम्बु साता दिनसम्म यातायात सम्पर्कबाट विच्छेद भए। बाढी र पहिरोका कारण सडक ठप्प हुँदा कतिपय यात्रुले पैदल यात्रा गरेर अवरोध पार गरे। २०७१ सालमै ओखलढुंगा बजारसम्मकै सडक पिच गरिएको छ। तर, हरेक वर्षा याममा ओखलढुंगाको हिलेपानी र हर्कपुरबीचमा समस्या निम्तिने गरेको छ। यस्तै, सोलुखुम्बुको साबिकको सदरमुकामसम्म कालोपत्रे गरिएको छ। २०७१/०७२ मा पिच गरिएको सोलुखुम्बु–ओखलढुंगा सडक खण्डको सोलुदुधकुण्ड नगरपालिका–११ स्थित साल्मेभीरमा खस्ने पहिरोले बेला–बेलामा सोलुखुम्बुलाई सडक सञ्जालबाट अलग बनाउने गरेको छ। घुर्मी–कटारी सडक ठप्प हुँदा खोटाङमाजस्तै सोलुखुम्बु र ओखलढुंगामा पनि दैनिक उपभोग्यवस्तु ढुवानी हुन सकेको छैन।

मध्यपहाडी लोकमार्गसँग जोड्ने भोजपुर–लेगुवा सडक (६६ किलोमिटर) कालोपत्रे भइसकेको छ। तर, लेगुवा–हिले (२६ किलोमिटर) खण्ड अझै पनि कच्ची छ। कच्ची सडक त वर्षायाममा ठप्पै हुन्छन्। संखुवासभाको खाँदबारीलाई धनकुटा हिले–वसन्तपुर–मुढे–शनिश्चरे–चैनपुर सडकले जोड्छ। यसबाहेक हिले–पाख्रीबास–लेगुवा–तुम्लिङटार सडकले पनि खाँदबारी पु¥याउँछ। हिउँदमा सहज यात्रा गर्न सकिए पनि वर्षायाममा खाँदबारी यात्रा सहज छैन। संखुवासभा जोड्ने हिले–वसन्तपुर–मुढे–शनिश्चरे–चैनपुर सडकको विभिन्न खण्डमा ६÷७ वर्षअघि गरिएको पिच उक्किसकेको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताए। ‘हिले–पाख्रीबास–लेगुवा–तुम्लिङटार सडक कच्ची भएकाले हाल अवरुद्ध छ,’ मेयर खतिवडाले भने, ‘हिले–वसन्तपुर–मुढे–शनिश्चरे–चैनपुर सडक कालोपत्रेको काम पनि गत वर्ष सकिनुपर्नेमा अहिले पनि सकिएको छैन।’

६/७ वर्षअघि ते-हथुमको म्याङलुङ पुग्ने बशन्तपुर–जिरीखिम्ती सडकमा ओटासिल पिच थियो। यात्रा पनि सहज थियो। तर, अहिले अवस्था फरक छ। वसन्तपुर–म्याङलुङ सडक (२६ किलोमिटर) खण्डमा हाल कतै–कतै मात्र कालोपत्रे देखिन्छ। तीन खण्डमा कालोपत्रे गर्न लागिएको सो सडकका ठाउँठाउँमा ढुंगा ओछ्याएर सवारी भने चलाइएको छ।

प्रकाशित: ९ श्रावण २०७६ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App