काठमाडौं – कार्यवाहक कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लको टोलीका लागि सर्वाधिक छिटो अर्धशतकपे्ररित नेपालले सिंगापुरमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया फाइनल क्वालिफायरमा पहिलो जित हात पारेको छ।
बुधबार सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा नेपालले मलेसियामाथि ७ विकेटको जितका साथ प्रतियोगितामा अंक खाता खोलेको हो। नेपालले यसअघि मंगलबार पहिलो खेलमा कतारलाई ४ विकेटको नतिजा सुम्पिएको थियो।
वर्षाले प्रभावित बनेपछि खेल ९ ओभरमा झारिएको थियो। मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको थियो। ज्ञानेन्द्र र प्रदीप ऐरीले पहिलो विकेटका लागि ६६ रनको महŒवपूर्ण साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए। यो ट्वान्टी–२० क्रिकेटमा नेपालका खेलाडीले पहिलो विकेटका लागि गरेको अहिलेसम्मकै सर्वाधिक साझेदारी हो। यसअघि ज्ञानेन्द्र र पारस खड्काले मंगलबार कतारविरुद्ध पहिलो विकेटका लागि ४९ रनको सर्वाधिक साझेदारी गरेका थिए।
नियमित कप्तान पारस खड्का चोटका कारण टोलीमा उपस्थित नहुँदा ज्ञानेन्द्रले कार्यवाहक कप्तानको जिम्मेवारी पाएका थिए। त्यस्तै प्रदीपले भने पारसको स्थानमा ज्ञानेन्द्रसँग ओपनरका रूपमा आएका थिए।
जित्नैपर्ने दबाबमा रहेको नेपाललाई प्रतिओभर १० को औसतमा रन आवश्यक थियो। नेपालले सहिद अजिजको पहिलो ओभरमा ११ रन जोड्दै सुखद सुरुआतको संकेत ग¥यो। फित्री सामको दोस्रो ओभरमा ८ रन जोडे पनि नेपालले सार्विन मुनियान्डेको तेस्रो ओभरमा २१ रन जोड्दै खेलमा हाबी बनेको थियो। मुुनियान्डेको ओभरको पहिलो बलमा छक्का प्रहार गरेका ज्ञानेन्द्रले अन्तिम ३ बलमा पनि लगातार ४ चौका प्रहार गरेका थिए।
५ ओभरको समाप्तिमा नेपाल विनाविकेट क्षति ६० रनमा खेलिरहेको थियो। मलेसियाका स्पिनर मुहम्मद सेहादतले छैटौं ओभरमा ज्ञानेन्द्र र प्रदीपलाई पवेलियनको बाटो देखाउदै नेपाललाई केही दबाबमा राख्ने संकेत गरेका थिए। छैटांै ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका ज्ञानेन्द्र दोस्रो बलमा अमिनुद्दिन रामलेबाट क्याच भए। ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५१ रनको योगदान गरे। सेहादतले सोही ओभरको पाँचांै बलमा प्रदीपलाई पवनदीप सिंहबाट क्याच गराएका थिए। १४ बल खेलेका प्रदीपले १ चौका मद्दतमा १२ रन मात्र जोडे। सातौं ओभरमा ६ रन जोडेको नेपाललाई जितका लागि अन्तिम २ ओभरमा जितका लागि ९ रन आवश्यक थियो। आठौं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरी पनि पवेलियन फर्किए। सातांै ओभरको अन्तिम बलमा विनोद भण्डारीले छक्का प्रहार गर्दै नेपालको जित निश्चित गरेका थिए।
यस जितपछि २ खेलको समाप्तिमा २ अंक जोडेको नेपाल समूहको तेस्रो स्थानमा उक्लिएको हो। समान २ खेलमा १ जित र १ बराबरीको नतिजा ल्याएको आयोजक सिंगापुर ३ अंकका साथ शीर्ष स्थानमा छ भने २ अंक जोडेको मलेसिया दोस्रो स्थानमा छ। २ अंकका साथ कतार चौथो र १ अंक जोडेको कुवेत पाँचौं स्थानमा छन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो।
सोमपाल कामीले पहिलो ओभरमा दुवै ओपनरलाई खाता नखोल्दै पवेलियनको बाटो देखाएपछि मलेसिया सुरुआतमै दबाबमा परेको थियो। पहिलो ओभरको पहिलो बलमा अनवर अरुदिनलाई अविनाश बोहोराबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएका सोमपालले सोही ओभरको अन्तिम बलमा अर्का ओपनर साफिक सरिफलाई एलबिडब्लुको सिकार बनाएका थिए। मलेसियाले ३१ रन जोड्दा रामलेलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो। उनलाई पनि सोमपालले बोल्ड गरेका थिए।
मलेसियाका अजिजले सर्वाधिक ३० रन जोड्दा विरनदीप सिंहले २१ रनको योगदान गरे। अजिज र सिंंहले छैटांै विकेटका लागि २४ रनको साझेदारी गर्दै मलेसियालाई सम्मानजनक योगफलसम्म डोे¥याएका थिए। नेपालका सोमपालले ३, वसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने, करण केसी र अविनाश बोहोराले समान १ विकेट लिए।
नेपालले समूहको तेस्रो खेलमा शनिबार कुवेत र अन्तिम खेलमा आइतबार आयोजक सिंगापुरको सामना गर्नेछ। आइसिसी ट्वान्टी–२० विश्वकप एसिया फाइनल क्वालिफायरको शीर्ष स्थानको टोलीले युएईमा अक्टोबरमा हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५१ रनको योगदान गरेका थिए।
प्रकाशित: ९ श्रावण २०७६ ०२:३३ बिहीबार