coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सुशीलको चुनौती समाप्त

काठमाडौं – बक्सर सुशील थापा थाइल्यान्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलबाट बाहिरिएपछि नेपालको चुनौती समाप्त भएको छ। थाइल्यान्डमा च्याम्पियनसिपअन्तर्गत लाइट फ्लाइ (४९ केजी तौल) मा सुशील मलेसियाका खेलाडी मोहम्मद फुवाद बिन रिजवानसँग स्तब्ध भएपछि नेपालको चुनौती समाप्त भएको हो। मलेसियन प्रतिद्वन्द्वीविरुद्ध लगातार चुनौती प्रस्तुत गरे पनि सुशीलले अन्ततः ५–० को हारको सामना गर्न बाध्य भए। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले आफ्नो खेलाडीले राम्रो खेले पनि जजहरूले सही निर्णय नदिएको बताए।

प्रशिक्षकको आशाअनुरूप प्रदर्शन गरेका सुशीलले यसअघि पाकिस्तानी खेलाडी इद उल्लाहलाई स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए। सुशीलले पाकिस्तानी मुक्केबाज उल्लाहलाई दोस्रो राउन्डको दोस्रो मिनेटमा आरएससी (रेफ्री स्टप कन्टेस्ट)को आधारमा हराउँदै अन्तिम आठमा स्थान बनाएका थिए। यद्यपि, सुशीलको यात्रा त्यसभन्दा माथि पुग्न सकेन।

उनको हारसँगै नेपालका सबै खेलाडीको चुनौती समाप्त भयो। मंगलबार अर्का बक्सर पुरन राईले प्रिक्वार्टरफाइनलमा ताइपेईका बक्सर चेन पो यीलाई नतिजा सुम्पिएका थिए।  गत सोमबार नेपालका दीपक श्रेष्ठ भने पराजित भएका थिए। उनी ७५ केजी तौलसमूहमा न्युजिल्यान्डका इमिल रिचर्डसनसँग ५–० ले स्तब्ध भएका हुन्।
नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाल बक्सिङ संघले विगत २ हप्तादेखि ७ महिला र १० पुरुषलाई थाइल्यान्डमा वैदेशिक प्रशिक्षणमा राखेको छ।

 

प्रकाशित: ९ श्रावण २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App