७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनाव जित्न आर्थिक चलखेल र पार्टीगत प्यानल

बारा - महागढीमाई नगरपालिकाको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरको सञ्चालन तथा व्यवस्थापन समिति चुनाव जित्न उम्मेदरहरू कम्मर कसेर लागिपरेका छन्। जसरी पनि चुनाव जित्नैपर्ने मनशायले उम्मेदवारहरू ठूलो रकम खर्चिरहेका मात्र छैनन्, विभिन्न राजनीतिक दलको आडसमेत लिइरहेका छन्। नेपाली कांग्रेस, नेकपा, मधेसवादी दलकै समर्थनमा प्यानलै बनाएरै उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। आगामी शनिबार (साउन ११ गते) नयाँ कार्यसमितिका लागि चुनाव हुँदै छ।

८ हजार ४ सय ६५ साधारण सदस्य सहभागी हुने चुनावले नौ सदस्यीय कार्यसमिति चयन गर्नेछ। यसअघि ७ सयको हाराहारीमा साधारण सदस्य थिए। यसपालि थपिएका साधारण सदस्यहरूकै लागि उम्मेदवारहरूले डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाइएको छ। आउने मंसिरमा लाग्ने पाँच वर्षे मेला हुने करोडौंको आम्दानीतर्फ उम्मेदवारहरूको ध्यान सोझिएको पाइन्छ। मन्दिरको अध्यक्ष हुँदा आफूखुसी खर्च गर्न सकिने भन्दै उम्मेदवारहरू चुनाव जित्न लाखौं रकम खर्च गर्न अग्रसर भएको चर्चा चलेको पाइन्छ। नयाँ थपिएका साधारण सदस्यका लागि जनही दुई हजारको दरले शुल्क ट्रस्टलाई तिरिएको छ, जुन रकम प्रायः अध्यक्षकै उम्मेदवरहरूले खर्च गरेको बुझिएको छ। मत आफ्नो पक्षमा पार्न सदस्यता बढाउने सिलसिलामा अध्यक्षका एउटै उम्मेदवरले ५० लाख रुपैयाँसम्म खर्च गरेको बताइएको छ।

नयाँ कार्यसमितिमा आउन उम्मेदवारहरूले पहिलादेखि नै पार्टीगत सहयोग लिएर तथा सदस्यता दिलाउन लाखौं खर्च गरेर गढीमाई ट्रस्टको चुनावलाई खर्चिलो र पार्टीगत बनाएको भन्दै त्यहाँका एक पुजारीले असन्तुष्टि व्यक्त गरे। मधेसवादी दलहरूबाट अहिले ट्रस्ट अध्यक्ष रहेका रामचन्द्र साह चौथो कार्यकालको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन् भने नेपाली कांग्रेसबाट हाल ट्रस्टका सचिव रहेका मोतीलाल कुशवाहा अध्यक्षका अर्का उम्मेदवार हुन्। त्यसैगरी नेकपाको समर्थनमा यसअघि दुई कार्यकाल सचिव रहेका जितेन्द्र गुप्ता प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

यसअघि तीनपटक अध्यक्ष रहिसक्दा पनि गढीमाई मन्दिरको विकास गराउन नसकेको र पाँच÷पाँच वर्षामा हुने मेलाबाट हुने आम्दानीलाई पारदर्शी नतुल्याएको भन्ने आरोप अध्यक्षका उम्मेदवार साहमाथि लागेको छ। ट्रस्टको चुनावमा पार्टीगत उम्मेदवारहरू प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदा तीनवटै पार्टीका जिल्लादेखि केन्द्रीय नेताहरू उनीहरूलाई जिताउन सक्रिय छन्। उम्मेदवार साहले थपिएका नयाँ सदस्य आफ्ना मान्छे भएको बताए पनि सदस्यता खर्चबारे केही उल्लेख गर्न चाहेनन्। विगतमा गढीमाई क्षेत्रको विकास गर्ने मामिलामा कमजोरी रहे पनि अध्यक्ष जिते अबको कार्यकालमा राम्रो काम गरेर देखाउने दाबी उनले गरे। साहले पहिलाको केन्द्रीकृत सरकारले बेवास्ता गर्दा गढीमाईको समुचित विकास गर्न नसकेका अवस्थामा अब प्रदेश सरकारसँग समन्वय गरेर कमी रहेका भौतिक पूर्वाधारलाई पूरा गर्ने उल्लेख गरे। साहको प्यानलबाट उपाध्यक्षमा विश्वनाथप्रसाद कुशवाहा र सचिवमा पारस गुप्ता चुनाव लड्दै छन्।

कांग्रेसको समर्थनमा अध्यक्षका उम्मेदवार बनेका मोतीलाल कुशवाहाले नयाँ र थपिएका सदस्यहरूमा धेरैजसो आफ्ना व्यक्तिगत र पार्टीगत समर्थक रहेकाले चुनाव जितेरै छाड्ने विश्वास दिलाए। धुलोरहित स्वच्छ र हराभरा गढीमाई नगरी बनाउने उद्देश्य राखी चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ। पहिला पनि डिपिआर तयार गरी पर्यटकीय र धार्मिक रूपले गढीमाई क्षेत्रको विकास गर्ने प्रस्ताव राख्दा अध्यक्ष साहले नमानेको आरोप कुशवाहाले लगाए। गढीमाई दर्शन गर्न आउने धार्मिक पर्यटकहरूलाई बस्ने स्थानको कमी रहेको र त्यो कमी आफूले जिते पूरा हुने दाबी क्ुशवाहाको छ। अहिले पनि स्थानीय सरकारको सहयोगमा गढीमाईको पोखरीमा भूमिगत सिसमहल र माथि सूर्य मन्दिरको निर्माण कार्य थालिएको र अध्यक्षमा जितेपछि सो क्षेत्रकै मुहार बदल्ने सोचका साथ आफू अगाडि बढेको कुशवाहाले बताए।

कुशवाहाको प्यानलबाट उपाध्यक्षमा कैलाश महतो कोइरी र सचिवमा वीरेन्द्र यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
नेकपाको समर्थनमा अध्यक्षका उम्मेदवार बनेका जितेन्द्र गुप्ताले आफूले नयाँ सदस्यता बनाउन खर्च नगरे पनि पार्टीका रामबाबु यादव र शिवचन्द्र कुश्वाहाले धेरै सदस्यता बनाएको बताए। पार्टीका अन्य नेताहरूले बनाएका सदस्यहरू आफ्नो जितको आधार बन्ने दाबी गुप्ताको छ। सचिव हुँदा निर्माण गरिएको रंगशाला अधुरै रहेकाले त्यसलाई पूरा गर्न आफूले अध्यक्ष जित्नैपर्ने भनाइ गुप्ताको छ। गढीमाईमा चढाइने रकमको कुनै हिसाबकिताब नगरी त्यसको अनियमितता गरिएकोमा अहिलेको कार्यसमितिको पनि त्यसमा मिलेमतो रहेको आरोप गुप्ताले लगाए। गुप्ताको प्यानलबाट उपाध्यक्षमा राजकिशोरप्रसाद कुशवाहा र सचिवमा राजकुमार कुशवाहा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

स्थानीय तह, प्रदेश र संघको निर्वाचनकै झल्को दिनेगरी उम्मेदवारहरू ट्रस्टका सदस्यसँग भोट माग्न गाडी लिएर गाउँगाउँमा पुगिरहेका छन्, घरदैलो गरिरहेका छन्। आफूलाई समर्थन गर्ने सदस्य धेरै रहेका गाउँका चोकहरूमा उम्मेदवारहरूले फोटोसहितको होर्डिङ बोर्डलेटाँगेका छन् भने विद्युतीय पोलहरू पनि भोट अपिल गरिएका पोस्टरले भरिएका छन्।

प्रकाशित: ९ श्रावण २०७६ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App