८ वैशाख २०८१ शनिबार
समाज

वर्षा नरोकिँदा उद्धार र राहतमा कठिनाइ

फाइल फाेटाे

बुटवल- अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु-याउन कठिनाइ भएको छ। आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो। 

वर्षा नरोकिएकाले बेपत्ताको खोजी कार्य अगाडि बढाउनसमेत नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। सत्यवती गाउँपालिका–४ लिम्घामा सात वर्षीया तारा विक र एक नाबालक सुमन विक अझै हराइरहेका छन् भने वडा नं– ३ ठूलो लुम्पेकमा माया विक र बबि विक पनि अहिलेसम्म फेला नपरेको प्रजिअ पौडेलले जानकारी दिए।

पहिरोबाट वडा नं– ३ र ४ का करीब ६०० को सङ्ख्यामा विस्थापित भएका छन्। विस्थापित सबैलाई स्थानीय विद्यालयमा राखिएको छ। वडा नं– ३ ठूलो लुम्पेकको सिङ्दी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ। सो क्षेत्रमा दुबै तर्फबाट पहिरो खस्ने क्रम रहेकाले बिचको बस्ती उच्च जोखिममा रहेको प्रजिअ पौडेलले बजानकारी दिए।

बस्ती पहिरोको खतरामा रहेकाले करीब चार सय जनालाई स्थानीय विद्यालय र अन्य सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए। त्यस्तै वडा नं– ४ लिम्घामा पनि दुई सय घरपरिवारलाई सरस्वती माविमा सारिएको छ। पहिरोको जोखिमका कारण स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिए पनि पशु चौपाया भने घर गोठमै छन्।

पहिरो प्रभावित क्षेत्र र प्रभावितका लागि तत्काल खाद्यान्नको समस्या देखिएको छ। खाद्यान्नको थप सङ्कट हुन नदिन तत्कालका लागि पोखराबाट खाद्यान्न हेलिकप्टरबाट ल्याउने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए। ढुवानीका साधन सञ्चालनका लागि सडकको अवस्था पूर्णरुपले क्षति भएकाले गाउँको मौज्दात रहेको दाल, चामल, चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न सामग्री सकिँदै जाँदा विकल्पको रुपमा हेलिकप्टरको व्यवस्था गरिएको हो।

उद्धारका लागि अहिल प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको र नेपाली सेनाका थप जनशक्ति पाल्पाबाटसमेत मगाइएको उनले बताए। जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसेर उद्धार तथा राहतको सम्पूर्ण व्यवस्थापन एकद्वार प्रणालीबाट जिल्ला प्रशासन कार्यालयकै व्यवस्थापनमा हुने उनले बताए।

उद्धार तथा पहिरो पीडितको व्यवस्थापनका लागि प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालसमेत गाउँमै रहेको छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राहत व्यवस्थापनका लागि आज फर्किएका छन्। पहिरोमा पुरिएर दुई स्थानमा नौ जनाको मृत्यु तथा चार जना बेपत्ता भएका छन्। भने दुई जना घाइते भएका छन्। रासस

प्रकाशित: ८ श्रावण २०७६ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App