८ वैशाख २०८१ शनिबार
समाज

पक्राउ परेका दुई वडाध्यक्षसहित ६ छुटे

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्काजाम गर्ने क्रममा पक्राउ परेका दुई वडाध्यक्षसहित ६ जना झन्डै आठ घण्टापछि छुटेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असन्तुष्टि जनाउँदै हलेसी–जयराम सडक खण्डमा चक्का जाममा उत्रिएको अवस्थामा बुधबार बिहान उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–५ का वडाध्यक्ष रमेश तिवारी, ७ का वडाध्यक्ष चइन्द्र राई, ७ कै वडा सदस्य निरजमानसिं बस्नेत, नेकपा नगर कमिटी कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटीकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा कमिटी सचिव धनकुमार भुजेल साढे २ बजे छुटेका हुन् ।

राष्ट्रिय राजमार्गमा अवरोध नगर्ने गरी नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्र राईको जिम्मामा छाडिएको खोटाङका डिएसपी वामदेव गौतमले बताए । नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढंगले चौथो नगरसभा गरिएको विरोधमा चक्काजाममा उत्रिएका जनप्रतिनिधि तथा नेतालाई इलाका प्रहरी कार्यालय हलेसीले नियन्त्रणमा लिएको थियो ।

हलेसीपछि नेकपाले च्यास्मिटारमा पनि चक्का जाम गरेको थियो । नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्न, २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएको विरोधमा मंगलबार नेकपाले नगरको कार्यालयमा धर्ना दिएको थियो ।

सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको नेकपा नगर कमिटी अध्यक्ष राईले आरोप लगाए । हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने आन्दोलनको अर्थ नभएको बताएका छन् ।

प्रकाशित: ८ श्रावण २०७६ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App