७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसदमा ‘बिहे गर्न २० वर्ष पुग्नुपर्ने, रक्सी पिउन ६ वर्ष भए हुने?’ भनेपछि...

काठमाडौं– सांसदहरुले मदिरा नियन्त्रण गर्न माग गरेका छन्। मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले बुधबारको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका लागि पनि सरकारले मदिरामा कडाई गर्नुपर्ने माग राखे। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले २२ वर्ष नपुगेकाले रक्सी खरिद गर्न नपाउने नियम बनाउन प्रस्ताव गरे। उनले जड्याहाको सूची पनि बनाउनुपर्ने बताए। 

कुलतमा फस्ने युवा देशमा रहेको तथा श्रम बेच्न जाने जति विदेशमा रहेको कुरा सरकारलाई थाहा छ कि छैन भन्ने प्रश्न गर्दै विडारीले युवालाई कुलतबाट बचाउन मदिरा नियन्त्रण गर्नुपर्ने उनको भनाई छ।  

‘रक्सी मजाले खान पाइने, जहाँ बसेर खुल्लम खुल्ला खान पाइने। मन्दिर र अस्पतालका वरिपरि पनि खान पाइने। मज्जाले रक्सी खान पाइने देश पृथ्वीमा कहाँ भनेर खोज्यो भने हाम्रो देशको नाम आउँछ’, उनले भने, ‘संसारमा यस्तो छैन। निश्चित ठाउँमा निश्चित समयमा निश्चित व्यक्तिले मात्र खरिद गर्न पाउँछ। हाम्रोमा बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए हुने?’
मदिरा नियन्त्रण गर्न सरकारलाई कसले छेक्यो र किन गर्न सक्दैन भन्ने प्रश्न गर्दै विडारीले २०३१ सालको मदिरा ऐन परिमार्जनको माग गरे। ‘यो ऐनले रक्सी खाएर घरेलु हिंसा भएका छन्। महिला हिंसा, संगठित अपराध भएका छन्’, उनले भने।  

‘एउटा सटरमा औषधि पसल, अर्काे सटरमा रक्सी पसल। यसो किन गर्यौ सरकार भन्दा कर उठाउन रे। रक्सीमा कर बढाइदिएको छ। अनि  पैसा आउँछ, मोटर चढ्ने, के के गर्ने भन्नलाई गर्या हो’, विडारीले यसो भन्दा अर्थमन्त्री डा. युवराज खतिवडा मुसुमुसु हाँस्दै थिए। 

अब २२ वर्ष नपुगेकाले रक्सी किन्न नपाउने, वडा वडामा जड्याहाहरुको सूची बनाउनुपर्ने तथा कसले कति खरिद गर्यो भन्ने तथ्यांक राख्नुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए। 

उनले मदिरा पान क्षेत्र तोक्न पनि माग गरे। अपराध नियन्त्रणका लागि मदिरामा नियन्त्रणमा जरुरी रहेको उनको सुझाव छ। त्यसैगरी मुलुकका विभिन्न स्थानमा निर्माण गरिएका राजमार्ग तथा छोटा सडकहरुमा पैदल यात्रुका लागि छुट्टै पेटीको व्यवस्था नभएको भन्दै उनले सडक निर्माण गर्दा साइकलयात्री र पैदल यात्रीका लागि पेटीको व्यवस्था गर्न पनि माग गरे।

प्रकाशित: ८ श्रावण २०७६ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App