coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

परिवारले छेक्न सकेन कुन्तीलाई

गायिका कुन्ती मोक्तान २०१९ साल असार २७ गते दार्जिलिङको मार्गरेट्स होप चियाबगानमा जन्मेकी हुन्। उनको बाल्यकाल चियाबगानमै बित्यो। गाउँमा हुर्केकी कारण उनी सानैदेखि प्रकृतिसँग नजिक थिइन्।

प्रकृति मन पराउने स्वभावकी थिइन्। विद्यालयमा सधैँ शिक्षकको मनपर्ने विद्यार्थीमा पर्थिन्। सबैकी प्यारी। परीक्षामा कहिल्यै असफल भइनन्। सधैँ पास र राम्रो अङ्कले पास हुन्थिन्।

कक्षा १० मा उनले कहिल्यै अंग्रेजीको मौखिक परीक्षा दिनु परेन। मौखिक परीक्षा लिने शिक्षकले सधैँ उनलाई गीत गाउन लगाउँथे। अनि कुन्तीले गीतै गाएर उक्त परीक्षाको नम्बर पाउँथिन्। साथीहरु उनलाई हेरेर ईष्र्या पनि गर्थे अनि उनको गायकी देखेर खुशी पनि। 

नोस्टाल्जिक हुँदै कुन्तीले सुनाइन्, ‘ओरलको जाँच हुँदा सरले पढाइको केही सोध्नु हुन्थेन। गीत गाउन लगाउनुहुन्थ्यो। गाएबापत अङ्क पाउँथेँ मैले।’

तिनै शिक्षकका कारण पनि गायनमा उनलाई निकै उत्साह मिल्थ्यो। सानैदेखि उनी गीत गाउन रुचाउँथिन्। विद्यालका शिक्षकहरु सधैँ उनलाई गाउन हौसला दिन्थे। स्कुलमा केही कार्यक्रम भयो कि कुन्तीले नै गीत गाउनु पथ्र्यो। विद्यालस्तरमा गायनसम्बन्धी कुनै प्रतियोगिता भयो भने कुन्तीलाई नै विद्यालयले सहभागिताका लागि अन्यत्र पठाउँथ्यो। मिलनसार स्वभावकी कुन्ती आफ्नो आवाजले सबैको मन जितेरै फर्कन्थिन्। त्यसैले त कुनै प्रतियोगितामा उनले हार अनुभव गर्नु परेन। प्रतियोगिताबाट सधैँ जितको ट्रफी बोकेर फर्कन्थिन् कुन्ती। उनलाई लिएर विद्यालयका शिक्षक शिक्षिका खुशी हुन्थे।

परिवारले गाउन दिएनन्
विद्यालयमा शिक्षकको हौसला पाए पनि गायनका लागि कुन्तीले परिवारको साथ भने कहिल्यै पाइनन्। बुवा र आमा उनको संगीत लगाव देखेर वाक्कै थिए। गायनमा परिवारबाट कहिल्यै हौसला पाइनन्। कुन्ती भन्छिन्, ‘आमाबुवा भन्ने गर्नुहुन्थ्यो– छोरी मान्छेले गीत गाउनु हुन्न। पछि गएर एउटा राम्रो केटा पाइँदैन, बिहे हुँदैन।’

तर उनलाई त गीत गाउन पाएपछि केही चाहिँदैन थियो। त्यसैले विद्यालयमा अध्ययन गर्दागर्दै संगीत सिक्ने निधो गरिन्।

शास्त्रीय संगीत सिकाउने गुरु जेसी राईलाई सबै जनाले संगीत शुल्क तिर्थे। तर, कुन्तीसँग गुरुको फि तिर्ने पैसा पनि हुन्थेन। परिवारसँग संगीत सिक्ने पैसा माग्ने अवस्था पनि थिएन। त्यसैले उनले तिहारमा देउसीभैली खेलेको पैसा जम्मा गरेर गुरुको फि तिरिदिने सोचिन्। पहिलो महिना भैलीबाट जम्मा गरेको १० रुपैयाँ गुरुलाई दक्षिणा दिइन्। कुन्तीको अभाव अनि संगीत प्रतिको लगाव देखेर गुरुले त्यो दक्षिणा लिन चाहेनन्। त्यसपछि दोस्रो महिना पनि त्यही पैसा लिएर गुरु कहाँ गइन्, कुन्ती। तर, गुरुले पैसा लिन मान्नु नै भएन। गुरुले उनलाई बिना शुल्क संगीत सिकाए।

‘विद्यालय पढ्दा पढ्दै परिवारको इच्छाविरुद्ध नै मैले शास्त्रीय संगीत सिकेँ। भैली खेलेको १० रुपैयाँ गुरुलाई दिन खोजेँ तर लिनुभएन,’ कुन्ती सम्झन्छिन्, ‘पैसा ठूलो कुरा होइन, तिमी राम्रोसँग सिक भन्नुहुन्थ्यो। अरुसँग भने केही रकम लिनुहुन्थ्यो। मैले भने सित्तैमा संगीत सिकेँ।’

त्यो बेला टेलिभिजनको जमाना पनि थिएन। उनी सधैँ सोच्ने गर्थिन्, ‘सिकेको कुनै पनि गीत नबिर्सने गरी राख्ने केही भाँडो भइदिए कति जाती हुन्थ्यो होला !’ यतिबेला मोबाइलमा सयौँ गीत अटेको देख्दा उनी चकित पर्छिन्।

उनी कहिलेकाहीँ त संगीत कक्षामा ८ घण्टासम्मै रमाउँथिन्। संगीत सिकेर घर फर्कन तीन घण्टाको बाटो हिँड्नु पथ्र्यो। तर, पनि कक्षामा सिकेका सबै गीतको लय र भाका सम्झँदै हिँड्थिन् उनी। हप्तामा एकपटक संगीत कक्षा हुन्थ्यो। अर्को हप्ता नआउञ्जेल उनी सिकेका सबै गीत अभ्यास गरेर बस्थिन्।

संगीत सिकिसकेपछि कुन्तीले त्यो बेला नै हार्मोनियम बजाएर गीत गाउन थालिसकेकी थिइन्। केही समयपछि त गीतार नै बजाएर गाउन थालिन्। विद्यालय जीवनमा हार्मोनियम बजाएर स्टेजमा गायक दीप श्रेष्ठको ‘नजाऊ छाडी यो देश’ भन्ने गीत गाएको सम्झना कुन्तीमा अझै जीवितै छ। त्यतिखेर उनी गीतारमा प्रेमध्वज प्रधानको ‘घुम्तीमा नआऊ है’, दीप श्रेष्ठकै अन्य गीत स्टेजमा प्रस्तुत गर्थिन्।

तर स्टेजमा गीत गाएको देखेर उनका बुबा निकै रिसाउनुहुन्थ्यो। झगडा पनि पथ्र्यो। बुबाले गाली पनि गर्नु हुन्थ्यो तर उनको उत्कट इच्छाको अगाडि कसको के लाग्थ्यो र ?

उनलाई घरमा भाइ र बहिनी थिए। उनीहरुले भने कुन्तीलाई गाउन हौसला दिन्थे। 

कलेज पढ्दाका दिनमा निरौला सर एकदमै कडा हुनुहुन्थ्यो। कुन्ती त्यतिखेर खर्साङ भन्ने विद्यालमा पढ्थिन्। पहिलो कक्षा त्यही निरौला सरको हुने गथ्र्यो तर कुन्ती र उनका साथीहरुलाई गाउँदेखि कलेज पुग्न तीन घण्टा हिँड्नु पथ्र्यो। आधा बाटो हिँडेर, अर्को आधा बाटो गाडी चढ्नु पथ्र्यो। कहिलेकाहीँ त बस छुट्थ्यो। उनीहरु पहिलो कक्षामा सधैँ ढिला पुग्थे। निरौला सर ढिला आउने विद्यार्थीलाई कक्षाबाहिरै उभ्याइदिनु हुन्थ्यो। कक्षाभित्र छिर्ने चान्स नै हुन्थेन। बिस्तारै कुन्ती र उनका साथीहरुलाई ती शिक्षक मन पर्न छाड्यो। शिक्षक पनि उनीहरुदेखि वाक्कै भइसकेका थिए। तर, एकदिन निरौला सरले ‘कलेज डे’मा राम्रो कार्यक्रम गर्नेलाई २५ अंक थपिदिने घोषणा गरे। कुन्तीले ‘कलेज डे’मा गीत प्रस्तुत गरिन्। त्यसपछि उनको आवाजले निरौला सरको मन जित्यो।

‘म राम्रो गीत गाउने भइसकेकी थिएँ। त्यतिखेर हार्मोनियम बजाएर मैले क्लासिकल गीत गाएँ। निरौला सर एकदम खुशी हुनु भयो। भोलिपल्ट पनि ढिला नै पुग्यौं तर त्यस दिन हामीलाई ढिला आउनुको कारण सोध्नु भयो। हामीले हाम्रो घर कलेज टाढा रहेको जानकारी दियौं। कारण खुलाएपछि शिक्षकले हामीलाई कक्षाभित्र छिराउनु भयो। त्यति नै खेर मलाई उठाएर, सरले भविष्यमा तिमी हिरा वाइबा बन्छौ भनेर भन्नु भएको थियो। किनकि त्यतिखेर सबैभन्दा चलेको गायक नै हिरा वाइवा थिए। एकदमै चर्चित।’

कुन्तीले अहिले पनि निरौला सरले भनेको ती कुरा बिर्सेकी छैनन्। उनी हिरा वाइबा त होइन तर कुन्ती मोक्तान नै भएर संगीत जगतमा चम्किइन्।

कुन्ती त कक्षा ८ मा नै सेलिब्रिटी भइसकेकी थिइन्। ‘कक्षा ८ पढ्दा नै म सेलिब्रिटी भइसकेकी थिएँ किनकि मैले मेरो पहिलो गीत नै कक्षा ८ मा हुँदा रेकर्ड गरेकी थिएँ’, उनले सम्झिन्, ‘लोकगीतबाट सुरु गरेकी थिएँ।’

पहिलो गीत रेकर्ड गराउँदा उनी १४ वर्षकी थिइन्। उनको गायकीले उनलाई चिनाइसकेको थियो। साथीहरु पनि उनीसँग धेरै मिल्थे। परिवार पनि उनको गायन प्रतिको झुकाव देखेर वाक्कै भए पनि रेडियो खर्साङबाट गीत बज्न थालेपछि भने बिस्तारै सकारात्मक हुँदै गए।

‘मेरा आमाबुबाबाट त्यस्तो हौसला पाइनँ,’ कुन्तीले भनिन्, ‘गाएर अगाडि जान्छौ, राम्रो गर भनेर कहिल्यै भन्नु भएन। वाक्कै भएर छोड्नु भयो। तर, आफ्नो दृढ इच्छा र संकल्पले नै मलाई स्थापित ग¥यो।’

अल इण्डिया रेडियोमा भ्वइस टेस्ट दिएको केही समयपछि उनलाई रेडियो नेपालमा पनि परीक्षा दिन मन लाग्यो। तीव्र इच्छाले बालापनमा गरेको संघर्षका कारण उनी संगीतमै जमिन्। उनले पछि शीलाबहादुर मोक्तानसँग विवाह गरिन् भने शितल र सुवानी मोक्तानजस्ता सशक्त गायिकाकी आमा पनि बनिन्।

उनका चोली राम्रो, गोठालो जाँदा, खुट्टा तान्दै गर, भन्छन् कोही, कति माया लाग्छ, सुन्कै भाउ, बर पिपलको छायाँ सर्वाधिक रुचाइएका गीतहरु हुन्।

प्रकाशित: ८ श्रावण २०७६ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App