८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय शिक्षा लिन डुङ्गा चढेर कर्णाली पारि

डुङ्गा चढेर कर्णाली तर्दै विद्यार्थी। तस्बिर सौजन्यः ओमप्रकाश बास्तोला।

काठमाडौं - बिहानै नौ बजे। झोला भिरेर विद्यालय जान तयार भए कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ रागामलेखाका दिपेन्द्र आले। कक्षा आठमा पढ्ने आले घरबाट केही मिनेट हिँडेपछि कर्णाली किनारमा पुगेर रोकिए। उनी पुगेको केहीसमयपछि आइपुगिन् सोही ठाउँकी कक्षा १० मा पढ्ने भृकुटी सलामी। सलामीपछि केही बेरमै आइपुग्यो कक्षा नौमा पढ्ने मन्जु सिजालीलगायतको १६ जनाकोे टोली। सबै जम्मा भएपछि डुङ्गा ताने र लागे कर्णाली पारीतिर। 

यहाँका करिब पाँच दर्जन बालबालिका विद्यालय शिक्षा लिन वर्षैभरी कर्णाली तरेर कर्णाली प्रदेशको सुर्खेत पुग्छन्। गाउँमा कक्षा ५ सम्म मात्रै पढाई हुने विद्यालय छ। पाँच कक्षा उतिर्ण गरेपछि उनीहरुको एक मात्रै विकल्प यही कर्णाली पारीको विद्यालय हो। सुर्खेत चौकुने गाउँपालिका ४ बिजौराको जगन्नाथ माविमा यहाँका साठी बढी विद्यार्थी अध्ययन गर्न पुग्छन्। साउने झरीमा समेत उनीहरु बिहान कर्णाली तरेर करिब आधा घण्टा हिँडेपछि विद्यालय पुग्छन् भने साँझ अध्यारोमा घर आइपुग्छन्। यो उनीहरुको दैनिकी नै हो।

सुर्खेतको जगन्नाथ माविका शिक्षक ओमप्रकाश बास्तोलाकाअनुसार सो क्षेत्रबाट अघिल्लो वर्षसम्म १०० को संख्यामा विद्यार्थी पढ्न आउँथे। अहिले भने सो संख्या घटेर ७० हाराहारीमा पुगेको छ। उनकाअनुसार ७० मध्ये केही बिजौरामै डेरा गरी बस्छन् भने पच्चीस तीस जना भने दैनिक कर्णालीमा ड्ङ्गा तरेरै पढ्न आउँछन्। जीवननै दाउमा राखेर शिक्षा लिन आइपुग्छन् उनीहरु। शिक्षक बास्तोलाले भने, 'नियमित विद्यालय आउँन सक्दैनन्। वर्षा र फागुन चैत्रतिर कर्णालीको पानी बढ्ने भएकोले उनीहरुलाई बढी समस्या हुन्छ।

तर पनि जोखिम मोलेरै विद्यालय आइपुग्छन्” यो समस्या त्यहाँका विद्यार्थीले वर्षैदेखि भोग्दै आएको बास्तोलाको भनाइ छ। उनले अगाडि भने, 'अहिले मात्रै होइन वर्षौदेखि यस्तो समस्या झेल्दै आएका छन्। धेरैजसो छात्रहरु त पाँच कक्षा पढेपछि बिचमै पढाई छाडेर भारततिर लाग्छन्। यहाँ आउने धेरैजसो छात्राहरु छन्। पाँच कक्षामाथिका मात्रै होइन तीन चार कक्षामा पढ्ने बालबालिका समेत दाइ दिदीहरुसँग यहाँ आउँछन्।'

उनीहरुले कर्णाली वारपार गर्ने क्रममा तीन पटक त डुङ्गा नै पल्टियोे। तर विद्यार्थीहरुले पौडेरै ज्यान जोगाए। शिक्षक बास्तोलाले भने, 'एक पटक त एउटा बच्चाको कर्णालीबाट करिब दुई घण्टापछि जीवितै उद्धार भयो। पौडीमा पनि उनीहरु पोख्त छन्। उनीहरुका आमाबुवा पनि कर्णालीमै माछा मार्ने काम गर्छन्। विद्यार्थी पनि बिदामा कर्णालीमै हुन्छन्। यस कारण अहिलेसम्म मानविय क्षति भने भएको छैन। यसो भनेर ढुक्क हुने अवस्था भने छैन। दुर्घटना कहिले कसरी हुन्छ भन्न सकिदैन।'

मोहन्याल गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष नन्दराम गिरीले पनि त्यहाँको विद्यार्थीलाई विद्यालय शिक्षा लिन निकै समस्या भएको बताए। 'गाउँमा पाँच कक्षासम्म मात्रै पढाई हुने विद्यालय छ। त्योभन्दा माथि पढ्ने विद्यार्थी पारी सुर्खेत पुग्नुपर्ने बाध्यता छ्, वडाध्यक्ष गिरीले भने। कर्णालीमा पुल बनाउने कुरा नउठेको पनि होइन। २०७१ र २०७४ सालमा गरी दुई पटक सुर्खेतका सांसदको पहलमा त्याहाँ झेलुङ्गे पुल बनाउन सर्भे भयो। तर न त बजेट छुट्याइयाे न कुनै काम नै अघि बढ्यो।' उनले भने।

उनकाअनुसार सोही वडाको ताम्चाका विद्यार्थी पनि विद्यालय शिक्षा लिन यही कर्णाली तरेर सुर्खेत पुग्छन्। त्यहाँ कक्षा आठसम्म पढाई हुने विद्यालय छ। त्योभन्दा माथिल्लो कक्षा पढ्न विद्यार्थी सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ।

प्रकाशित: ८ श्रावण २०७६ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App