८ वैशाख २०८१ शनिबार
विचार

बिपी र राष्ट्रियता

विश्व समाजवादी आन्दोलनमा स्थापित नाम, नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापनार्थ गरिएका हरेक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइरालाबारे जति लेखे पनि अपुरै हुन्छ। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति आफ्नो जीवनै समर्पण गरेका थिए। प्रजातान्त्रिक समाजवाद स्थापना गरेपछि मात्र नेपाली जनताको सपना साकार हुन्छ भन्ने आदर्श बोकेका बिपी अदम्य साहस, दृढ संकल्प र आत्मविश्वासका प्रतिमूर्ति मानिन्छन्। उनी जनताका नजरमा सदा सम्मानित रहे। अहिले आफूलाई कम्युनिस्ट ठान्नेहरूले समेत बिपीको आदर्शको प्रशंसा गर्न थालेका छन्।

नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापनार्थ गरिएका आन्दोलनका अग्रज जननेता बिपी कोइराला एउटा अमर नाम हो। १३–१४ वर्षको उमेरदेखि नै प्रारम्भ भएको उनको राजनीतिक जीवन अन्त्य समयसम्म पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति समर्पित रह्यो। ‘राष्ट्रिय मेलमिलाप नीति’ जस्तो नयाँ राजनीतिक नीति प्रतिपादन गरेर नेपाली कांग्रेस मात्र होइन, देश र जनताकै निम्ति अमूल्य गुण बिपीले लगाएका छन्। यतिबेला कथित अग्रगामी विचार र आदर्श पछ्याउने नाममा नेपाली कांग्रेसले बिपीको बाटो भुलिसकेको छ, आफ्नो वास्तविक पहिचान गुमाइसकेको छ। बिपीको जीवन अवधिमा भन्दा अवसानपछि उनका सिद्धान्त, आदर्श, मूल्य, मान्यता र राजनीतिक, सामाजिक एवं साहित्यिक क्षेत्रमा उनले पु¥याएका योगदानबारे बढी चर्चा गरिएको पाइन्छ। मुलुकमा प्रजातन्त्रको संस्थागत विकासका लागि बिपी कोइरालाले जुन योगदान दिएका थिए, त्यसको उच्च मूल्यांकन हुनुपथ्र्याे। तर भाषणमा जे भनिए पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन।

बिपीले कल्पना गरेका राष्ट्रियता, समाजवाद र प्रजातन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। बिपीको तस्बिरमा माला लगाउँदैमा उनीप्रति सम्मान ठहरिँदैन। उनको आदर्शलाई व्यवहारमा उतारेर अगाडि बढ्न सके मात्र उनको सच्चा सम्मान हुनेछ।

राष्ट्रिय जीवनमा बिपीको स्थान सुरक्षित र उच्च छ। बिपीले राजनीतिलाई सत्ताको सिँढी चढ्ने माध्यम बनाएनन्। प्रजातान्त्रिक समाजवादद्वारा देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने योजनाका साथ अग्रसर भएका बिपीले आफ्ना समाजवादी कार्यक्रम लागू गर्न भने पाएनन्। १०४ वर्षे निरंकुश राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका निम्ति सशस्त्र आन्दोलन नेतृत्व गरेका बिपी सधैँ राष्ट्र र जनहितका निम्ति लडिरहे। २००७ सालको क्रान्तिपछि जनस्तरबाट प्रथम गृहमन्त्री तथा २०१५ सालको संसदीय निर्वाचनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बिपीको राजनीतिक जीवन ज्यादै कष्टकर रह्यो। राजनीतिलाई व्यक्तिगत सफलताको भ-याङ बनाउनु हुँदैन भन्ने आदर्श बोकेका बिपीको जीवनी गहिरिएर अध्ययन गर्ने हो भने निकै उत्साहजनक र शिक्षाप्रद पाइनेछ। बिपीको आदर्श देशका लागि अहिले पनि उत्तिकै सान्दर्भिक छ।

नेपाली कांग्रेस बिपीको आदर्शबाट विचलित भइरहँदा लोकतन्त्र र राष्ट्रियता नै संकटमा पर्ने संकेत देखिन थालेका छन्। राष्ट्रियताप्रति उनको अडान र कुनै राष्ट्रसामु नझुक्ने शिखर व्यक्तित्व भएकै कारण जनजनिर्वाचित प्रधानमन्त्री बिपीलाई भारतीय सेना प्रमुखको इशारामा राजा महेन्द्रले ‘कु’ गरेर लामो समय जेलमा कोचिदिए। २०१७ सालमा राजाले त्यस्तो ‘कु’ नगरेका भए यतिन्जेल नेपाल बहुदलीय व्यवस्थामा अभ्यस्त भएर देश कहाँ पुगिसक्थ्यो होला !

‘अहिले देशमा भारतीय हस्तक्षेपको कुरा चर्को रूपमा उठिरहेको छ। नांगो रूपमा भारतीय हस्तक्षेपको हामी साक्षी बनिरहेका छौँ,’ १५ सालदेखि १७ सालसम्म बिपीका सहायक रहेका कुमारमणि दीक्षितले आफ्नो संस्मरणमा लेखेका छन्। अहिले मुलुकमा प्रधानमन्त्री, मन्त्री, राजदूत तथा उच्च ओहोदामा पुग्नाका लागि राजनीतिक दलका नेताहरू राजदूतावासहरू धाउँछन् भन्ने समाचार बाहिर आइरहँदा बिपीबारे दीक्षितले संस्मरणमा लेखेको केही अंश यहाँ हुबहु उल्लेख गर्न निकै उपयुक्त लाग्यो।

‘प्रधानमन्त्री भएपछि बिपीको पहिलो विदेश भ्रमण चीनमा तय भएको थियो। नेहरूलाई यो मन परेनछ। उनले पहिले भारत आउन दबाब दिए। छिमेकी राष्ट्रका रूपमा बिपीको भारत भ्रमण भव्य रह्यो। नेहरूले बिपीलाई खुसी पार्न कुनै कसर बाँकी राखेनन्। हैदराबाद हाउसमा बिपी र नेहरूको भेट राजनीतिक रूपले निकै संवेदनशील थियो। हामी अलि टाढा बसेका थियौँ। नेहरूसँग गफ गर्दागर्दै बिपीको अनुहार रातो हुँदै गएको देखियो। म अचम्ममा परेँ। सधैँ उज्यालो अनुहार लगाउने र हासिरहने बिपीको अनुहार त्यस्तरी किन बदिलयो ? छोटो संवादपछि नेहरू बाहिरिए। मैले नजिकै गएर सोधेँ, ‘बिपी बाबु, तपाईंको अनुहार किन एक्कासि रातो भयाे?’ बिपीले भने, ‘हेर न, चीन नजाऊ भन्छ।’ नेहरूले बिपीलाई चीन जाने कार्यक्रम स्थगन गर्न दबाब दिएका रहेछन्।

बिपीलाई नेहरूको भनाइ चित्त बुझेनछ। उनले झोक्किएर तत्कालै नेहरूलाई जवाफ फर्काएछन्, ‘यस्तो कुरामा हस्तक्षेप नगर।’ बिपी प्रधानमन्त्री भएकै बेला नेहरूले अर्को विवादास्पद टिप्पणी गरे, ‘भारतीय सीमा हिमालयदेखि सुरु हुन्छ।’ बिपीलाई नेहरूको भनाइ चित्त बुझेन। उनले नेपालको संसद्बाटै नेहरूलाई दह्रो जवाफ दिए। भारतीय सेना प्रमुखले कु गर्न उक्साए, मलाई झल्झली याद आउँछ, ‘कु’ हुने अघिल्लो रात बिपी छट्पटाइरहेका थिए। उनलाई सुत्न गाह्रो परेको थियो। पछि थाहा भयो– भारतका सेना प्रमुखले चितवनमा राजा महेन्द्रलाई भेटेर ‘कु’ गर्ने सल्लाह दिएका रहेछन्। वास्तवमा नेहरूलाई बिपीप्रति पूरै ‘इगो’ थियो।

उनको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो ख्याति नेहरूलाई मन परेको थिएन। पुस १ आउनुको एउटा कारण यो पनि हो। २०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गर्दै छन् भन्ने बिपीलाई पहिल्यै थाहा थियो। त्यो कुरा उनले म बैंककमा युएन सर्भिसमा छँदा भनेका थिए। उनले भने, ‘कु गर्दै छ भन्ने पहिल्यै सुइँको पाइसकेको थिएँ।’ यतिले मेरो जिज्ञासा मेटिएन। ‘त्यसो भए आफ्नो मान्छे तयार पारेर बस्नुपर्दैनथ्यो ?’ ‘नेहरूले गर्न दिएनन्।’ त्यतिबेला राजाले कु गर्दै छन् भन्ने छनक पाएपछि बिपीले ‘मुक्ति सेना’ (२००७ सालमा प्रजातन्त्रका लागि लडेका लडाकु) लाई नै सक्रिय पार्न चाहेका रहेछन्। तर नेहरूले त्यसो नगर्न सल्लाह दिएछन्।’

बिपीका विषयमा जति धेरै अध्ययन र अनुसन्धान गर्दै गयो उति नै रोचक र मर्मस्पर्शी तथ्य भेटिँदै जान्छन्। बिपीले कल्पना गरेका राष्ट्रियता, समाजवाद र प्रजातन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। बिपीको तस्बिरमा माला लगाउँदैमा उनीप्रति सम्मान ठहरिँदैन। उनको आदर्शलाई व्यवहारमा उतारेर अगाडि बढ्न सके मात्र उनको सच्चा सम्मान हुनेछ।                                           

प्रकाशित: ८ श्रावण २०७६ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App