४ वैशाख २०८१ मंगलबार
कला

५५ झ्याले दरबार अवलोकन गर्न भीड

भक्तपुर– विश्वप्रसिद्ध ५५ झ्याले दरबार अवलोकन गर्न आउने सर्वसाधारणहरूको भीड बढेको छ। गत वर्ष सर्वसाधारणको लागि दरबार खुला गरिएपछि अवलोकन गर्नेको भीड बढेको हो। सर्वसाधारणको लागि दरबार खुला गरिएको सात महिनाको अवधिमा झण्डै १८ हजारले अवलोकन गरेका छन्।

दरवारमा कार्यरत कर्मचारी हरिप्रसाद ग्यामरुका अनुसार पुसदेखि हालसम्म १७ हजार ५३४ जनाले दरबार अवलोकन गरेको जानकारी दिएका थिए। ‘सर्वसाधारणको लागि दरबार खुला गरिएपछि हरेक दिन औसतमा सात सय हाराहारीले परम्परागत दरबार अवलोकन गरिरहेको तथ्यांकले देखाएको छ,’ उनले भने,‘काठमाडौं उपत्यका आसपासदेखि देशभरका विभिन्न स्थान र विदेशी पर्यटकहरुले दरबारको अवलोकन गर्ने गरेका छन्।’

सातामा हरेक मंगलबार र शुक्रबारमात्र खोलिने तीन सय वर्ष पुरानो दरबारलाई मल्लकालिन राजा भूपतेन्द्र मल्लले बनाएको थियो। तीन तल्ले दरबार नेपालको परम्परागत सम्पदाको रूपमा लिने गरिन्छ। भक्तपुर नगरपालिकाद्धारा संचालित दरबार अवलोकन गर्नको लागि सर्वसाधारणहरूले १० देखि २० रुपैयाँ शुल्क तिर्ने गरेका छन्।

दरवार हेर्न पुगेकी ६२ वर्षीय रत्नदेवी प्रजापतिले पुरानो कलाहरु हेर्न पाएकोमा खुसी व्यक्त गरिन्। प्रजापतिले भनिन्, ‘५५ झ्याले दरबारमा रहेको भित्ते चित्रहरु मर्मत गर्न सकिए राम्रो देखिन्थ्यो। दरबारमा प्रवेश गरेपछि सर्वसाधारणहरूले मल्लकालिन अवधिका विभिन्न विषयमाथि जानकारी पाइयो। यो दरबारले ऐतिहासिक महत्व बोकेको छ भन्ने कुरा यहाँ आएपछि थाहा भएको हो।’

अर्काे अवलोकनकर्ता संजय थापाले पैसा लिएको अनुसार केही पनि नभएको गुनासो गरे। ‘सर्वसाधारणले पैसा तिरेर दरबार प्रवेश गर्दा भित्ते चित्रहरूमात्र हेर्नुपर्ने देखियो। यी चित्रहरूपनि अस्पष्ट देखिएकाले मलाई खासै आकर्षण गरेन्। बरू, चित्रबारे केही बयान गरिदिने स—साना लेखपछि राखिएको भए राम्रो हुन्थ्यो कि ?,’उनले भने। दरबारमा ३ सय वर्ष पुरानो भित्ते चित्रहरू झुन्डाइएका छन्। विनाशकारी भूकम्पबाट प्रभावित भएको यो दरवार पुनःनिर्माणमात्र एक वर्षअघि खोलिएको थियो।  
 

प्रकाशित: ८ श्रावण २०७६ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App