८ वैशाख २०८१ शनिबार
विचार

मधेस समस्याको समाधान

महाभारत कथा काल्पनिक जस्तै लागे तापनि त्यो वास्तविक इतिहास हो। त्यो कथाको एउटा प्रसंगमा युद्ध टार्नका लागि स्वयं भगवान कृष्ण तत्कालीन सम्राट धृतराष्ट्रकहाँ शान्ति प्रस्ताव लिएर जानुभएको थियो। भगवानको प्रस्ताव थियो– 'यद्यपि भारत वर्षका आधिकारिक उत्तराधिकारी पाण्डव पुत्रहरु नै हुन्। तथापि धृतराष्ट्रले उनको साम्राज्यबाट पाँच गाउँमात्र पनि पाण्डव पुत्रहरुलाई दिन मञ्जुर गरेमा महाभारत युद्ध टार्न सकिन्छ।' भगवान कृष्णको यो प्रस्ताव अहंकारी दुर्योधनका पिता एवं पुत्रमोहरूपी महारोगबाट पीडित राजा धृतराष्ट्रले के स्वीकार्थे? उनले स्वीकार्न सकेनन्। अन्ततः महाभारत युद्ध हुनु थियो, भयो र करोडौं करोड निर्दोष जनता एउटा विवेकशून्य राजाको हठका कारण इहलीला समाप्त पार्न बाध्य बने। यो कथा आजभन्दा पाँच हजार वर्ष पुरानो इतिहास हो। महाभारत स्तरकै नभए तापनि आज पाँच हजार वर्षपछि नेपाल नाम रहेको यो नाजुक मुलुकमा महाभारतकै झझल्को आउने गरी 'मधेसी मुद्दा' सतहमा देखिन आएको छ। नेपालका शासकहरुको अल्पज्ञान र विवेकशून्य स्वभाव अनि शासनकलाको अभावमा नेपाली जाति कहीँ अन्तहीन विद्रोहको भूमरीमा रुमलिरहनुपर्ने त होइन भन्ने प्रश्नले भयाक्रान्त छन्। 

 चार वर्ण र छत्तीस जातको फूलबारीको मर्म र संवेदनासँग आत्मसात गर्न नसकेका नेपाली शासकले मधेसी आन्दोलनलाई घचेट्दै घचेट्दै भारतीय आन्दोलनमा परिणत गर्न खोजिरहेछन्। यो व्यवहार सरासर गलत हो। मधेसीले कुनै माग आफ्नो सरकारसँग राख्दा त्यसलाई सार्वभौमिकता र विखण्डनसँग किन जोड्ने? पूरा गर्न सक्ने माग यति कारणले पूरा गरिदिएका छौँ र पूरा गर्न नसकेका मुद्दा यस कारण पूरा गरिएन भनेर जनतालाई किन नभनेको? फेरि झापा, मोरङ र सुनसरी एक नं. प्रदेशमा रहे राष्ट्रवादको संवर्धन हुने अनि ती जिल्ला दुई नं. प्रदेशमा राखियो भने राष्ट्रघात हुने रे! यो कस्तो दलिल र तर्क हो? पञ्चायतकालका शासकहरुको भाषणको सम्झना गराउने गरी वर्तमान शासक बर्बराइरहेका छन्। तिनताकाका शासकहरु प्रजातन्त्र र मानव अधिकारको माग राखेर सडकमा ओर्लिएका जनतालाई 'अत' अर्थात् अराष्ट्रिय तत्वको बिल्ला भिराइदिन्थे। ठीक त्यसैगरी जसरी आजका मधेसीलाई वर्तमान शासकहरु राष्ट्रघाती भन्दैछन्।

सरकारको कर्तव्य

प्रजातान्त्रिक व्यवस्थाअन्तर्गतका सरकारको प्रमुख कर्तव्य र दायित्व भनेको जनताप्रतिको वफादारी हो। जनतालाई होच्याउने, सबुत प्रमाणबेगर उसको राष्ट्रप्रेमप्रति शंका गर्ने अनि जनआवाज कुल्चने दुःसाहस झुक्किएर पनि यदि कुनै शासकले गर्छ भने त्यो शासकलाई आज २१ औं शताब्दीको सभ्य समाजले स्वीकार्न सक्दैन। त्यसैगरी राष्ट्र टुक्राउन खोज्ने, देश र जनताको हितविपरीत काम गर्ने व्यक्ति र गिरोहका क्रियाकलाप सरकारले टुलुटुलु हेरी बस्छ भने त्यो सरकार अझ बढी राष्ट्रघाती हो। त्यसैले मधेस आन्दोलनमा सरकारले कहाँ राष्ट्रवाद कमजोर पार्‍यो? को यस्तो अभियानमा लागेको छ? तिनको पहिचान गरी किन जनतासामु नङ्गाउन सक्तैन? जुन सरकारले आफ्ना यी कर्तव्य पालना गर्न र गराउन सक्तैन र निरर्थक बकबकमात्र गरिरहन्छ, त्यसलाई कुर्सीमा बसिरहने न नैतिक अधिकार रहन्छ न त संवैधानिक नै।

मधेसीको राष्ट्रप्रेम

२०३४ वा ३५ सालतिरको कुरा हो, बिपी कोइरालाले चावहिलस्थित उहाँको निवासमा उपस्थित हामी युवाबीच राष्ट्रवादबारे प्रवचन दिने क्रममा भन्नुभएको थियो– नेपालका मधेसीहरुको राष्ट्रप्रेममाथि शंका गर्नु उनीहरुप्रति ठूलो अन्याय हुन्छ। मधेसीको राष्ट्रभक्ति उनको रगतमा मात्र होइन, व्यवहारमा पनि छचल्किने गरेको छ। नेपाली कांग्रेसले सञ्चालन गरेको प्रत्येक क्रान्ति र आन्दोलनहरुमा यहाँका मधेसी सधैँ अग्रिम पंक्तिमा रहे। भारतप्रति नेपाली मधेसीको सकारात्मक धारणा थिएन। यस्तो नकारात्मक धारणा रहनुमा सामाजिक कारण छन्। कुरा के भने तिनताका नेपालतर्फ भारतका चोर डाँकाले साहै्र दुःख दिने गरेका  थिए। दुःखले कमाएको अन्न, गाईभैसी र गोरु ती डाँकाले लुटिलार्न्थे। यसरी सीमापारिबाट आएको तत्वबाट प्रताडित हुनुपरेकाले नेपालीे मधेसीको मनमस्तिष्कमा भारतकै प्रति घृणा उत्पन्न गरेको हुन्थ्यो। यही मनोवैज्ञानिक कारणले उनीहरुको आफ्नो राष्ट्रप्रतिकोे प्रेम अझ गाडा बन्दै गयोे। आज त्यस्तो अवस्था त छैन तथापि बिपी कोइरालाको त्यो विश्लेषण र ठहर समयको अन्तरालमा त्यस्तै प्रकृतिको नभए तापनि वर्तमानमा पनि भारतीय आप्रवासीद्वारा नेपाली मधेसी प्रताडित नै छन्। भनिन्छ, बहुदलीय व्यवस्था पुनर्स्थापनापछि नेपाली राजनीतिज्ञलाई प्रभावमा पारेर कम्तीमा पनि ४० लाख भारतीय नेपाली नागरिकता हत्याउन सफल भएका छन्। तिनै 'नवमधेसी' हरु नेपालको मधेसमा आज हालिमुहाली गर्दैछन्। पहिले डकैती अनि अहिले त 'नव मधेसी' को शोषणको दुष्चक्रमा फसेका नेपाली मधेसीको उद्धार गर्नु त्यत्तिकै आवश्यक देखिएको छ।

मधेसी आन्दोलन

मुलुकका आधाभन्दा बढी जनता बस्ने मधेस एक वर्षदेखि अशान्तमात्र होइन, आन्दोलित पनि छ। यस्तो आन्दोलनले सिँगै मुलुकलाई प्रभावित पारिराखेको छ। हिजो काठमाडौंंका शासक वर्गका मानिस यो आन्दोलनलाई परचक्रीको उक्साहटमा भएको सीमित स्तरको असन्तोष हो भन्थे तर समयको अन्तरालमा यसले व्यापकता हासिल गर्दै गयो। कुनै कुनै क्षण त यसले यस्तो शान्तिपूर्ण जनप्रर्दशन गर्‍यो जुन नेपालको इतिहासमा न भूतोः न भविष्यती भनेजस्तै थियो। यति ठूलो र प्रभावशाली हुँदाहुँदै पनि आन्दोलन सफल हुन किन सकिरहेको छैन त? यो गहनतम् प्रश्नको उत्तर हो– विश्वसनीय नेतृत्वको अभाव।  नेपालको मधेस भूमिले एउटा पनि यस्तो नेतृत्व दिन सकिन जसले आफ्नो स्वार्थलाई तिलाञ्जलि दिएर मधेसीकै निम्ति मरिमेट्न सकोस्। महेन्द्रनारायण निधी, गजेन्द्रनारायण सिंह अनि रामराजाप्रसाद सिंहमा त्यस्तो गुण थियो तर समकालीन मधेसी राजनीतिमा त्यस्तो नेतृत्व दृष्टिगोचर छैनन्।    

तित्राको मुखै बैरी

कूटनीतिका पंंडितहरुले आफ्ना विद्यार्थीलाई दिने प्राथमिक मन्त्र हो– 'धेरै सुन्नु र कम बोल्नु।' हाम्रा कूटनीतिज्ञ भनाउदाहरु र तिनका (मालिक?) शासकहरुले यो मन्त्रको ठीक विपरीत 'धेरै बोल्ने र कम सुन्ने' गरेका हुनाले देशमा प्रजातन्त्र आगमनपछि विश्व राजनीतिमा नेपालको भूमिका निरन्तर क्षयीकरण भइरहेको तथ्य सबैसामु छँदैछ। भारतसँगको नेपालको हुँदाखाँदाको सम्बन्ध आज आँधीपूर्वको शान्तिको अवस्थामा छ। भोलि के हुने हो भन्न सक्ने अवस्थामा कोही छैन। करिब १०० वर्षको अन्तरालमा आउने गरेको महाभूकम्प यसपटक नेपालमा आयो र नेपालीलाई रु.७ खर्ब बराबरको नोक्सानी दिएर गयो।  त्यसको लगत्तै भारतले गरेको नाकाबन्दीले रु.१३ खर्बभन्दा बढीको ऋण बोकाएर नेपालीलाई दरिद्रबाट दरिद्रतम् अवस्थामा पुर्‍यायो। यसको जिम्मेवारी कसले लिने? सरकार भन्छ– भारतले अनाहकमा हामीमाथि दुःख थोपर्‍योे। होला, भारतले आफ्नो इच्छा लाद्न यसो गर्‍यो होला, तर सरकारले त्यसो हुन नदिन के के गर्‍यो त? त्यसको फेहरिस्त जनतालाई दिनुपर्दैन? भारतले नेपाललाई यस पटकमात्र दबाब दिएको हो र? होइन, अवश्य होइन! २००७ सालको सफल क्रान्तिपश्चात निरन्तर आफ्नो स्वार्थ लाद्ने प्रयत्नमा भारत लागिरहेकै छ। तर ती दबाबबाट नेपाली शासक कूटनीतिक चातुर्यसाथ उम्कँदै गएका थिए। यस पटकको सरकारले कूटनीतिक कला प्रदर्शन गर्न नसकेकै कारण र बढी बकबक गरिराख्ने आदतले समस्या बल्झाउँदै लग्यो। तित्राको मुखै बैरी भनेको सायद यही हो। भारतका प्रधान मन्त्री हाम्रा प्रधान मन्त्रीभन्दा कम बोल्न सक्ने व्यक्तित्व होइनन्। उनले नबोली नबोली हामीलाई विश्व रंगमञ्चबाट भित्तैसम्म पुर्‍याइदिएका छन्। तर हाम्रालाई चाहिँ आफ्नो वाचाल आदतप्रति गर्व छ। कस्तो विडम्बना!  

अन्त्यमा,

नेपाल नाम रहेको यो देश भावी पुस्ताको नासो हो। एउटा लहडी वा सनकी शासकको दुर्बुद्धिकै कारण यो भूखण्ड एकीकृत रहिरहेन भने ठूलो अनर्थ हुन सक्दछ। यो कुरालाई हृदयंगम गर्दै सतहमा देखा परेको मधेसी समस्याको सम्मानपूर्वक समाधान गरौँ। इति। 

प्रकाशित: १४ असार २०७३ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App