coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालिङ्गाको विकल्प खोज्दै श्रीलंका

 कोलम्बो – अनौठो कपाल भएका तीव्र गतिका बलर लासिथ मालिङ्गाले एकदिवसीय क्रिकेटबाट संन्यासको घोषणा गर्दा श्रीलंका अर्का तीव्र गतिका बलरको खोजीमा छ। मालिङ्गाले शुक्रबारबाट बंगलादेशसँग हुने तीन एकदिवसीय खेलको पहिलो खेलपछि संन्यास लिने घोषणा गरेका हुन्।  यद्यपि ट्वान्टी–२० बाट भने मालिङ्गाले केही  निर्णय लिएका छैनन्।

शुक्रबारबाट सुरु हुने बंगलादेशसँगको तीन एकदिवसीय खेल अघि तीव्र गतिका बलर मालिङ्गाले एकदिवसीय खेलबाट संन्यास लिने निर्णय गरेसँगै श्रीलंका उनको विकल्पको खोजीमा रहेको हो। इङ्ल्यान्ड विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेका दुवै टोलीले विश्वकपको फितलो प्रदर्शन तनावलाई घटाउनका लागि शुक्रबारबाट तीन एकदिवसीय शृंखला खेल्न लागेका हुन्। सम्पन्न विश्वकपमा ७ खेलबाट १३ विकेट लिएका मालिङ्गाको उत्कृष्ट बलिङ प्रदर्शन ४÷४३ रहेको छ।

३५ वर्षीय मालिङ्गा श्रीलंकाका लागि सर्वाधिक विकेट लिने खेलाडी सूचीको तेस्रो नम्बरमा छन्। उनले २ सय २५ खेलबाट ३ सय ३५ विकेट लिएका छन्। सर्वाधिक ५ सय २३ विकेट लिन सफल मुथैया मरलिथरन पहिलो नम्बरमा छन् भने ३ सय ९९ विकेट लिएका चमिन्दा भास दोस्रो नम्बरमा छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ३७ विकेट लिँदै नवौं नम्बरमा रहेका अनिल कुम्बेलसँग बराबरी गर्न मालिङ्गालाई तीन विकेटको खाँचो छ। श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले विश्वकपपछि निराश बनेको अवस्थामा मालिङ्गाको स्थानमा अर्का तीव्र गतिका बलर  खोज्नु निकै चुनौतीपूर्ण रहेको बताए।

‘विश्वकपको प्रदर्शनलाई हेर्ने हो भने हामीले समग्रमा राम्रो खेल प्रदर्शन गरेका थियौं। कुनै खेलमा राम्रो गर्दा पनि सफल भएनौं भने कुनै खेलमा हामीले सोचेजस्तो खेल्न सकेनौं,’ कप्तान करुणारत्नेले भने, ‘हामी अवश्य पनि विकेट लिने अर्को खेलाडीको खोजीमा छौं। बंगलादेशसँगको खेल अघि भेटाउन निकै कठिन छ।’

‘सुरुआती ओभरमा नै विकेट लिने बलरको खाँचो टोलीलाई खड्किनेछ। केही युवा खेलाडीमा सम्भावना देखिएको छ। आउँदो विश्वकपमा तिनै युवा खेलाडीको खेललाई निखार्दै मालिङ्गाको स्थान पूर्ति गर्नेछौं,’ करुणारत्नेले भने। इङ्ल्यान्ड विश्वकपमा श्रीलंकाले छैटौं स्थानमा रहँदै विश्वकप टुंग्याएको थियो। प्रतियोगितामा दश टोलीको सहभागिता थियो। बंगलादेशले भने आठौं स्थानमा रहँदै विश्वकप टुङ्ग्याएको थियो।

शुक्रबारबाट हुन लागेको शृंखलामा बंगलादेश पनि आफ्ना नियमित कप्तान मासरफ मोर्ताजा र उपकप्तान साकिब अल हसनबिना खेल्दै छ। मोर्ताजा ह्यामस्ट्रिङका कारण  आराममा छन् भने विश्वकपमा ६ सय ६ रन बटुलेका साकिब पनि आराममा हुन्। ओपनर तामिम इकबाल अन्तरिम कप्तान बन्दा नयाँ युवा खेलाडीले बंगलादेशको टोलीबाट खेल्ने मौका पाउनेछन्। शृंखला जुलाई २६ बाट कोलम्बोमा हुँदै छ। मालिङ्गाले एकदिवसीय खेलबाट संन्यास लिने निर्णय गरेसँगै श्रीलंका उनको विकल्पको खोजीमा रहेको हो।

प्रकाशित: ८ श्रावण २०७६ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App