८ वैशाख २०८१ शनिबार
समाज

राजधानीका भित्री सडकमा ट्राफिक लाइट

काठमाडौं - राजधानी काठमाडौंमा दिनानुदिन सवारीको चाप बढ्दैछ। सवारीको चाप बढेसँगै जाम पनि राजधानी उपत्यकाको दैनिकी बनिसकेको छ। राजधानीका मूल सडकमा मात्रै होइन भित्री चोकमा पनि जामले सर्वसाधरण हैरान छन्। भित्री सडकको ट्राफिक समस्या न्यूनीकरण गर्न विभिन्न स्थानमा ट्राफिक लाइट राखिने भएको छ।

राजधानीको सदैव जाम हुने स्थान मध्ये एक हो, भीमसेनस्थान–टंकेश्वर चोक। कालीमाटी, छाउनी, डल्लु तथा भित्री काठमाडौंबाट आउने सवारीको सो स्थानमा भेट हुन्छ। सावरी चापले जाम भइरहने सो सडकको ट्राफिक समस्या न्यूनीकरण गर्न ट्राफिक लाइट जडान गरिएको छ। सौर्य ऊर्जाले चल्ने यो ट्राफिक लाइट आगामी केही दिनमा ट्राफिक प्रहरीलाई हस्तान्तरण हुनासाथ सञ्चालनमा आउनेछ। परोपकारतर्फ २० वटा तथा टंकेश्वरतर्फ २० वटा गरी ४० वटा ट्राफिक लाइटका पोल गाडिएका छन्। तीनमा ४ वटा मुख्य ट्राफिक लाइट हुन् भने ६ वटा जेब्रा क्रसिङका संकेत लाइट हुन्।

सो ट्राफिक लाइट नेपाली प्राविधिकले बनाएका हुन्। यसमा हालसम्मको नयाँ प्रविधिको प्रयोग गरिएको बताउँछन् निर्माता संस्था तन्त्र भेन्चर्सका प्रदीप श्रेष्ठ। उनका अनुसार नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्ट प्रयुक्त सो ट्राफिक लाइटमा एडभान्स इन्टिग्रेटेड सिस्टम छ। ‘यसमा ट्राफिक लाइट मात्र नभएर सवारीको संख्या गणना गर्ने तथा सवारीको वर्गीकरण गर्ने सिस्टम पनि जडान गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘कन्ट्रोल रुपमै बसेर सडकमा कतिवटा गाडी छ। कुन प्रकारका गाडीहरु छन् थाहा पाउन सकन्छि।’ यसमा एउटा निश्चित दूरीसम्म सवारीको गति थाहा पाउने सिस्टम तथा रेड लाइट उल्लंघन गर्नेको पहिचान गर्ने सिस्टम पनि हाल्न सकिने श्रेष्ठ बताउँछन्। ‘यो रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न मिल्छ भने आएका डाटालाई अनलाइनबाटै सर्भरमा सेभ गर्न सकिन्छ,’ उनी भन्छन्।

ट्राफिक लाइट राख्न प्रदेश सांसद विराजभक्त श्रेष्ठले प्रदेशस्तरबाट पहल गरेका हुन्। ‘मैले संसद्मा ट्राफिक लाइट राख्ने कुरा गर्दा सबैजना हाँसे,’ उनले भने, ‘व्यवस्थापन पनि विकास हो भन्ने बुझाइ विकास भएको छैन। सडक दुर्घटनाका कारणले दैनिक मान्छे मरिरहेका छन् तर कसैले यसतर्फ ध्यान दिएकै छैनन्। सकडको असुरक्षाले गर्दा बेथिति बढिरहेको छ। सडक सुरक्षा पनि त विकास हो।’ उनले संघ सरकारले यस्ता विषयलाई सानोतिनो भनेर वास्ता नगरिरहेको र स्थानीय सरकार आप्mनै नियमित काममा अल्झिरहँदा यो समस्यालाई हेर्ने निकाय नै नभएसरह भएको उनले बताए। ‘अझ पनि काठमाडौंलाई व्यवस्थित गर्ने गम्मीर पहल कतैबाट पनि भएको छैन,’ सांसद श्रेष्ठले भने।
महापालमा पिपिपि मोडेलमा

तन्त्र भेन्चर्सले ललितपुरको महापालमा पनि ट्राफिक लाइट राख्न ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ। महापालमा प्रायः जाम परिरहन्छ। साँघुरो सडक तथा कार्यालय समयमा व्यापक सवारी चाप हुँदा महापालमा बिहान बेलुका सधैं नै जाम हुन्छ। त्यहाँ सधैं एकजना ट्राफिक बस्नुपर्ने स्थिति छ। ‘ट्राफिक लाइट राखेपछि पक्कै पनि अवस्थामा सुधार आउनेछ,’ भेन्चर्सका श्रेष्ठले भने।

महापालमा सार्वजनिक निजी साझेदारी (पब्लिक प्राइभेट पार्टिसिपेसन) खाकामा ट्राफिक लाइट राखिन लागेको हो। यस मोडेलमा पहिलोपटक लाइट राख्ने काम हुन लागेको त्रन्त्रका श्रेष्ठले बताए। उनले यसका लागि ललितपुर महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यसँग यस सम्बन्धि सम्झौता भइसकेको बताए।

प्रभावकारी कार्यान्वयनमा शंका
राजधानी उपत्यकाका मुख्य सडकमा नै सडक सुरक्षाका लागि अनिवार्य मानिने ट्राफिक बत्ती तथा ट्राफिक संकेत रेखा तथा चिह्न राखिएको पाइँदैन। भित्री सडकमा ट्राफिक लाइट राखिए पनि तीनको प्रभावकारी कार्यान्वयन हुनेमा भने शंका रहेको स्थानीय बताउँछन्। कालीमाटीका स्थानीय राजेश प्रधानाङ यस्ता लाइट राख्नु सकारात्मक भए पनि सबैले लाइटलाई पालना गर्न ट्राफिक, स्थानीय निकायले प्रभावकारी योजना ल्यानुपर्ने बताउँछन्। ‘मुख्य चोकमा त सकेसम्म लाइट छल्न खोज्छन् भित्री सडकमा झन् के हुने हो,’ उनले शंका व्यक्त गरे, ‘नयाँ प्रविधिले त्यसतर्फ पनि काम ग¥यो भने सडक सुरक्षा बढ्ला नै।’ त्यसो हुनसके सडक सुरक्षा बढ्ने र दुर्घटना घट्ने नै हो।

देशभर दैनिक हुने सडक दुर्घटनामा आठ जनाको मृत्यु हुने गरेको छ। उपत्यकामा पनि दुर्घटनाको संख्या बढ्दैछ। २०७४÷७५ मा उपत्यकामा छ हजार दुर्घटना भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सन् २०१३ देखि २०२० सम्ममा सडक दुर्घटना न्यून गर्ने लक्ष्यका साथ ल्याएको कार्ययोजना पनि प्रभावकारी हुन सकेन। सन् २०१६ मा सडक दुर्घटनमा ज्यान गुमाउनेको संख्या ६ हजार थियो भने सन् २०१८ मा आइपुग्दा त्यो संख्या २ हजार ३ सय ८४ पुग्यो। मन्त्रालयको तथ्यांकअनुसार चालकको लापरबाहीमा ७२ प्रतिशत, तीव्र गतिका कारण १८ प्रतिशत, मापसेका कारण २ प्रतिशत, क्षमताभन्दा बढी यात्रु बोक्दा एक प्रतिशत, जोखिमयुक्त सवारीका कारण १ प्रतिशत, पैदल यात्रीका कारण १ प्रतिशत, कमसल सडकका कारण १ प्रतिशत र अन्य कारणले ४ प्रतिशत दुर्घटना भएका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App