६ वैशाख २०८१ बिहीबार
अर्थ

पाँच वर्षभित्र ३५ सय किमि सडक कालोपत्रे गरिने

पोखरा – गण्डकी प्रदेशमा अहिलेसम्म नौ सय ३७ किलोमिटर सडक कालोपत्रे छ। आगामी पाँच वर्षभित्र यो दूरीलाई बढाएर झन्डै तीन हजार पाँच सय किमि पु-याउने लक्ष्य प्रदेश सरकारको रहेको छ।

प्रदेश नीति तथा योजना आयोगले हालै सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्रमा अबको १० वर्षमा प्रदेशभित्रको कालोपत्रे सडकको दूरी ६ हजार नौ सय ५० किमि पु-याउने लक्ष्य छ। प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले २५ वर्षभित्र प्रदेशभित्र १२ हजार नौ सय ३७ किमि सडक कालोपत्रे भइसक्ने बताए।

‘सडक कालोपत्रे भएर विस्तार भएसँगै जनताको आयस्तर बढ्न जानेछ,’ पौडेलले भने, ‘कुल गार्हस्थ उत्पादनमा पनि यो विकासले सघाउ पु-याउने छ।’ सडकमार्ग विस्तारसँगै विकासको गतिले अझै तीव्रता पाउने उनले बताए। प्रदेशका बासिन्दाको समृद्धि र सुखका लागि पनि विकासका पूर्वाधारले गति लिनुपर्ने उनले बताए। आयोगका अनुसार अहिलेसम्म ८० प्रतिशत जनताको पहुँच ३० मिनेटसम्मको दूरीको यातायातमा रहेको छ। यो दूरीलाई कम गरेर अबको पाँच वर्षभित्र ९६ र १० वर्षमा ९८ प्रतिशत पु-याउने लक्ष्य रहेको उनले बताए। गाउँगाउँमा विस्तार भइरहेको सडकमा अहिले जनताको पहुँच बढिरहेको उनले बताए।

प्रदेश समृद्धिका लागि पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, मानव संशाधन र सुशासन आवश्यक पर्ने भन्दै पौडेलले सडक विस्तारले ती क्षेत्रमा विकासको ढोका खुल्ने उनले बताए। उनका अनुसार प्रदेशभित्रका सडकका आठ आयोजनालाई प्रमुखता दिइएको छ। मुग्लिन–दमौली–पोखरा–कुश्मा–ؘबाग्लुङ–बुर्तिबाङ्, पोखरा–पुतलीबजार–वालिङ–गल्याङ–चापाकोट,कोरला–जोमसोम–बेनी–कुश्मा–पोखरा–भीमाद–दुम्कीबास–त्रिवेणी खण्ड मुख्य रहेको बताए।

त्यस्तै अर्मादी–सेतिबेनी–रुद्रबेनी–मिर्मि–गल्याङ–चापाकोट–देउघाट–गैंडाकोट–काबासोती,डुमे्र–बेसीसहर–धारापानी–रुइलाभञ्ज्याङ, बेनीघाट–आरुघाट–सामागाउ–रुइलाभन्ज्याङ आधार मानिएको छ। पोखरा महानगरपालिकालाई फेरो लगाउने गरी पोखरा रिङरोड पनि विकासको मुख्य आधार मानिएको छ। आयोगले प्राथमिकतामा राखेको पोखरा रिङरोड निर्माण भने वर्षाैदेखि अलपत्र छ। पोखरा महानगर वरिपरीका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता सहरलाई साना स्याटलाइट सहरको रुपमा विकास गर्ने पनि प्रदेशको योजना रहेको उनले बताए।

त्यस्तै प्रदेशभित्रको द्रुत मार्गलाई पनि प्रदेशले उत्तिकै प्राथमिकतामा राखेको छ। पोखराबाट सुरु भएर तनहुँको भिमाद हुँदै नवलपुरको दुम्कीबास निस्कने यो द्रुतमार्ग अबको दशवर्षमा ७० किलोमिटर दुरीको बनिसक्ने अनुमान छ। अबको पाँचवर्षभित्र द्रुतमार्गको दुरी शुन्यकै अवस्थामा रहने उल्लेख छ। तर दशवर्षमा भने ७० किलोमिटर पुगिसक्ने उनले बताए। ‘द्रुतमार्ग बनिसकेपछि अहिलेको भन्दा निकै नै कम दुरीमा प्रदेश राजधानी पोखराले तराई छुनेछ,’ उनले भने।

प्रदेशभित्र रेलमार्गको योजना पनि तयार भएको छ। अबको पाँचवर्षभित्र प्रदेशभित्र ८० किलोमिटर रेलमार्ग तयार भईसक्ने आयोगको प्रक्षेपण रहेको छ। त्यो दुरी दशवर्षमा बढेर १८० किलोमिटर दुरीको हुनेछ। २५ वर्षमा प्रदेशभित्रको रेलमार्गको दुरी दुईसय किलोमिटर पुगिसक्ने आयोगको आधारपत्रमा उल्लेख गरिएको छ। पछिल्लो समय पोखरालाई छुनेगरि रेलमार्गको अध्ययन पनि भईसकेको छ।

यसअघि नै चिनियाँ टोलीले केरुङदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न चाँसो देखाएको थियो। त्यही रेल पोखरासम्म आउने गरि अध्ययन भईसकेको छ। चिनियाँ रेल प्रशासनका उच्च टोलीले केरुङ–काठमाडौं, काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो। अध्ययनपश्चात नेपालमा रेलमार्ग निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदन समेत नेपाल सरकारलाई बुझाएको थियो।

नेपाल र चीनलाई जोड्ने सो रेल चीनको लाह्सा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ। सोही रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ। यसअघि नै प्रदेश सरकारले राजधानीदेखि स्थानीय तहसहित जिल्लासम्म जोड्ने सडक कालोपत्रे गर्ने योजना ल्याइसकेको थियो।

प्रकाशित: ८ श्रावण २०७६ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App