६ वैशाख २०८१ बिहीबार
समाज

पहिरोले तुवाचुङ–जायजुमडाँडा जोखिममा

जग काटिएपछि तुवाचुङ जायजुममुनि खसेको पहिरो पन्छाइदै। तस्बिर: दमन राई/नागरिक

खोटाङ – सडकका भित्ता पहिरोको रूपमा खस्दा खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थल तुवाचुङ–जायजुमडाँडा जोखिममा परेको छ। मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने क्रममा फराकिलो बनाउँदा सडकका भित्ता क्रमशः खस्दा हलेसी तुवाचुङ नगरपालिका–७ महादेव स्थाननजिकै रहेको किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीय स्थल तुवाचुङ जायजुम पहिरोको जोखिममा परेको हो।

गत वर्ष पहिरो खसेकै ठाउँमा यस पटक असार २६ गते राति सडकमा पहिरो थुप्रिएको थियो। सडकमा खसेको विशाल ढुंगाको थुप्रो पन्छाउने काम अझै पूरा भएको छैन। पत्रपत्र बनेर अडिएका ढुंगा हरेक वर्ष खस्न थालेकाले सो क्षेत्र संकटमा परेको तुवाचुङ जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताए।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसीभन्दा केहीमाथि रहेको तुवाचुङ–जायाजुमडाँडामुनि खोतल्दा हरेक वर्षायाममा सडकका भित्ता खस्न थालेका हुन्। तहतह बनेर अडिएको चट्टाने भित्ताको जग काटिएपछि तुवाचुङ जायाजुममुनिको बर्खेटार आसपासका विभिन्न ठाउँमा चट्टानको पत्र टुक्रिएर झर्ने गरेको छ। पहिरो खस्ने क्रम नरोकिँदा सो क्षेत्रका पुरातात्विक संरचनालाई असर गर्ने देखिएको छ। जग खुस्किएपछि चिप्लिएर झरेको ढुंगालाई फुटाएर ढुंगा र गिटीका लागि उपयोग गर्ने गरिएको छ। भित्ता च्यापेर सडक खनिएपछि क्रमशः पहिरोको रूपमा झर्न थालेको महादेव स्थानका वडाध्यक्ष चइन्द्र राईले बताए।

प्रकाशित: ८ श्रावण २०७६ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App