coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सडक डिभिजनप्रति नगरप्रमुखको आक्रोश

रामेछाप - मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले सडक डिभिजन कार्यालय खुर्कोटको काम गर्ने शैलीप्रति आक्रोश व्यक्त गरेका छन्। नगरप्रमुख बस्नेतले प्रमुख जिल्ला अधिकारी नै उपस्थित रहेको एक औपचारिक कार्यक्रममै सडक डिभिजन कार्यलयको कामप्रति असन्तुष्टि जनाउँदै सडकले काम नै नगरेको जानकारी गराएका हुन्। उनले काम नै नगर्ने सडक डिभिजनका गाडीलाई नगरभित्र गुड्नसमेत नदिने बताए।

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुख बस्नेतले बजेट प्रशस्त भए पनि सडकले काम नगर्दा सर्वसाधारण मारमा परेको गुनासो गरे। ‘जनप्रतिनिधिको नाताले धेरै सहने काम गरियो, अब त जनताले सहनेवाला छैनन्, सडक डिभिजन कार्यालय मन्थली आए अवरोध गर्नुपर्ने र गाडी नै आगो लगाउनुपर्ने अवस्था आइसक्यो,’ उनले सडकमा आफूले व्योहोर्नुपरेको सास्तीको स्मरण गर्दै असन्तुष्टि जनाएका हुन्। ‘मन्थली नगरभित्रको सडक अस्तव्यस्त छ, सडक डिभिजनले केही गर्दैन,’ उनले थपे, ‘कतै काम नै नभएर बजेट फिर्ता जान्छ भने कतै काम गर्न बजेट नै हुँदैन।’ उनले काम नभएर बजेट फिर्ता जानुभन्दा बजेट रूपान्तरण गरी डिभिजनले काम गर्नुपर्ने बताए। प्रदेश सरकारको बजेट वितरणप्रति समेत उनले आक्रोश पोखे। उनले प्रदेशबाटै योजना चल्ने र जनप्रतिनिधिलाई जानकारीसमेत नहुने गरेको बताए। उनले स–साना बजेटभन्दा ठूला योजनामा बजेट विनियोजन गर्न सुझाव दिए। विकासका नाममा बजेट छरिएकाले उपलब्धि नदेखिने उनले ठोकुवा गरे।

बजेट प्रशस्त भए पनि सडकले काम नगर्दा सर्वसाधारण मारमा परेको गुनासो

कार्यक्रममा नेपाली कांग्रेसका पार्टीसचिव लेखबहादुर कार्कीले योजना र परियोजनाका नाममा धेरै बदमासी भएका र भ्रष्टाचार व्यापक रूपमा भएको बताए। उनले जिल्लाका अधिकांश विकासनिर्माणका काममा हुने अनुगमन फितलो हुँदा र प्रभावकारी नहुँदा भ्रष्टाचार मौलाएको बताए। उनले कार्यकर्ता पाल्ने गरी विभिन्न तहका सरकारबाट बजेट विनियोजन हुनु नै पहिलो समस्या रहेको धारणा राखे।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला वन कार्यालय, कृषि ज्ञान केन्द्रलगायत विभिन्न सरकारी कार्यालयले आफ्ना कार्यालयगत प्रगति सुनाएका थिए। कार्यक्रममा नागरिकस्तरबाट प्रतिनिधित्व गरेका व्यक्तिले सार्वजनिक सुनुवाइ बन्द कोठाभित्र नभई सर्वसाधारणको समेत पहुँच हुने खुला ठाउँमा गर्न सुझाए। प्रमुख अतिथिका रूपमा रहेका प्रदेश ३ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले काम नगर्ने कर्मचारी र विकासमा हुने अनियमितता रोक्न अनियमितता गर्नेहरूलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रहसमेत गरेका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App