४ वैशाख २०८१ मंगलबार
समाज

रोकिएन ‘रोनाल्डो’ आतङ्क

रोनाल्डोले सौराहामा क्षति गरेको संरचना। तस्विरः नागरिक।

चितवन - खैरहनी नगरपालिका–१२ को जनकपुर टोलमा सोमबार राति जंगली हात्ती ‘रोनाल्डो’ पस्यो। रोनाल्डोले होमनाथ धमलाको घरभित्र थन्क्याएको करीब चार क्विन्टल धान लगेर बारीमा पोख्यो। केही खायो, बाँकी छरेर नोक्सान ग¥यो। गोविन्दप्रसाद भट्टको काठको भकारी भत्काउन लाग्दा परिवारले थाहा पाए र सबै गाउँले मिलेर लखेटे। गाउँकै रेशमराज भट्टको खेतमा रोपेको धानबालीमा समेत क्षति गरेको छ। करीब १० कट्ठामा रहेको धानबाली नष्ट गरेको सो वडाका अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए।

कुमरोज मध्यवर्ती सामुदायिक वननजिक बस्तीमा बेलाबेलामा हात्तीले दुःख दिनेगरेको उनले सुनाए। ‘राति ११ बजेदेखि करीब १ बजेसम्म हात्ती गाउँमै घुमिरहन्छ,’ उनी भन्छन्, ‘गाउँलेको सहभागितामा राति नै खोलासम्म धपाएर छोड्ने गरिएको छ।’ केही दिनअघि सौराहा क्षेत्रमा सताएको ‘दाह्रावाला’ हात्तीले अहिले खैरहनीतिर आएर दुःख दिइरहेको उनले बताए। रोनाल्डोले करीब चार महिनाअघि पनि आफ्नो वडामा आएर करीब चार सय बोट केरा नष्ट गरेको तिमल्सिनाले जनाए।

 एक साताअघि रत्ननगर–७ बद्रहनीका ६२ वर्षीय कान्छा दराईमाथि बाघमारा चौरनजिकै रोनाल्डोले आक्रमण गरेको थियो र उनको घटनास्थलमै मृत्यु भएको थियो।

मध्यवर्ती वनको सीमाक्षेत्रमा लगाइएको इलेक्ट्रिक फेन्स (विद्युत्को झड्का दिने बार) बिगे्रर मर्मत गर्नुपर्ने भएको छ। वनबाट जंगली हात्ती बस्तीमा प्रवेश नगरोस् भनेर कंक्रिटको पर्खाल बनाउन सकिने भए पनि त्यसका लागि धेरै समय लाग्ने उनले बताए। तत्काल मर्मत गरेर सञ्चालन गर्दा केही सुरक्षित हुनसक्ने उपाय भनेको इलेक्ट्रिक फेन्स नै भएको उनी बताउँछन्। उनका अनुसार फेन्स मर्मतका लागि मध्यवर्ती वन समितिमा समेत जानकारी गराइएको छ। एक साताअघि रत्ननगर नगरपालिका–७ को बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईमाथि रोनाल्डोले आक्रमण गरेको थियो। बाघमारा चौरनजिकै आक्रमण गरी दराईलाई करीब ४० मिटर परसम्म घिसारेको थियो र उनको घटनास्थलमै मृत्यु भएको थियो।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्र हुँदै नजिकका बस्तीमा पसेर रोनाल्डोले दुःख दिने गरेको छ। वन्यजन्तुले गाउँघरमा आएर तर्साउने र बालीनाली नोक्सानी गर्ने समस्या वर्षौंदेखि भोग्दै आइरहेको स्थानीय बताउँछन्। रोनाल्डोले रत्ननगरको वडा नम्बर ६ र ७ का बस्तीमा धेरै दुःख दिने गरेको छ। गत बिहीबार रत्ननगर–६ का विक्रम चौधरीको घर भत्काएर हात्तीले धान खाइदिएको थियो। गाउँमा हात्ती आएको थाहा पाउँदा लुकेर बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। जंगली हात्तीलाई केही गर्न नसक्ने भएकाले खाद्यान्न र धनसम्पत्तिको क्षति हुनुका साथै डराएर बस्नुपरेको उनको भनाइ छ। बस्ती पसेर दुःख दिने हात्ती नियन्त्रणका लागि निकुञ्जले ध्यान दिनुपर्ने उनले बताए। शुक्रबार बिहान रोनाल्डोले सौराहास्थित चितवन गैडा लज र चिल्याक्स हाउसको भौतिक संरचनामा क्षति पु-याएको थियो।

लजमा रहेको खुला डाइनिङको पिल्लर र बंगलातिरको शो–पिल्लरमा क्षति पु-याएको लजका सञ्चालक टीकाराम गिरीले जानकारी दिए। रोनाल्डो पालैपालो खोरसोर, सौराहा, खैरहनीको कुमरोज क्षेत्रका बस्तीमा जाने गरेको उनले बताए। ‘बालीनाली खाने, घरभित्रको खाद्यान्न खान मिल्नेसम्म खाने र पोखिदिने गर्छ,’ उनी भन्छन्, ‘सौराहाका निजी हात्ती पनि भएकाले पोथी हात्तीसँग भेटघाट गर्न सौराहा आउने गरेको छ।’ करीब ८ वर्षअघिदेखि नै सौराहाआसपास आउने हात्तीले पछिल्ला वर्षमा भने खानका लागि स्थानीयको धनसम्पत्ति क्षति गर्ने क्रम बढेको उनको अनुभव छ। गत साता आक्रमण गरी मानिस नै मारेपछि रोनाल्डोलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले डार्ट हानेको थियो।

प्रकाशित: ८ श्रावण २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App