coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठेकेदारको लापर्बाहीले लथालिंग

वर्षात्का कारण लथालिंग बनेको चरिकोट–खाडीचौर सडक। तस्बिर: रमेश/नागरिक

दोलखा - ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण चार वर्षदेखि अलपत्र दोलखाको ‘लाइफलाइन’ चरिकोट–खाडीचौर सडकमा यात्रा गर्नेहरूलाई निकै सास्ती हुने गरेको छ। ठेकेदारले समयमै सडक नबनाउँदा वर्षात्का कारण खाल्डैखाल्डा परेका र हिलो जमेका कारण यात्रुहरू सकस बेहोर्दै आउजाउ गर्न बाध्य छन्। सडक बेहाल हुँदा चारपांग्रे हलुका सवारी र दुईपांग्रे मोटरसाइकल आउजाउ बन्द छ।

सडक लथालिंग भएका कारण हिलो र खाल्डोमा घण्टौं सवारी रोकिँदा कैयौं यात्रु दैनिक रूपमा अलपत्र पर्ने गरेको अरनिको यातायात चरिकोटका कर्मचारी रविन चौलागाईंले बताए। ‘अहिले यो बाटोमा बसबाहेक केही पनि चल्न सक्दैनन्,’ उनले भने, ‘काठमाडौंबाट बिहान ६ बजेको हिँडेको बस बेलुका ६ बजे मात्र आइपुग्छ, चार घण्टाको बाटोमा १२ घण्टा लाग्नु विडम्बना हो।’ सडककै कारण सो क्षेत्रमा सेवा दिँदै आएका अरनिको र रोल्वालिङ यातायातका सुमो सेवा दुई सातादेखि रोकिएको छ।

सडकको दुरावस्थाकै कारण बस र ट्रकहरू हिलोमा फस्दा डोजरले तानेर तारिदिनुपर्ने अवस्था दैनिकजसो निम्तिन्छ। चार वर्षअघि सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर सडक दोहोरो लेनको बनाउने भन्दै दुई प्याकेजमा ठेक्का लिएका कम्पनीहरूले ढिलासुस्ती र लापरबाही गरेकै कारण दुई वर्षमा सम्पन्न हुनुपर्ने आयोजना अलपत्र पर्ने अवस्थामा पुगेको छ। ठेक्का लागेका दुई खण्डमध्ये पहिलो खण्डमा काम थालेको ठेकेदार कम्पनीले सात किलोमिटर मात्र कालोपत्रे गरेर छाडिदिएको छ।

सडकलथालिंग भएपछि जिल्लाका जनप्रतिनिधिहरूको उपस्थितिमा आइतबार काठमाडौंस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव देवेन्द्र कार्कीको कार्यकक्षमा सम्पन्न बैठकपछि तीन दिनभित्र उपस्थित नभए ठेक्का तोड्नेसहितको सार्वजनिक सूचना ठेकेदारका नाममा जारी गरिएको थियो। सो सूचनापछि मंगलबार पहिलो प्याकेजका ठेकेदार सम्पर्कमा आएर ग्राभेल ओसार्ने र बिछ्याउने काम सुरु गरेको आयोजनाका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए। ‘पहिलो प्याकेजका ठेकेदार सम्पर्कमा आएर टिपरमार्फत ग्राभेल र बोस ओसारेर बिछ्याउन सुरु गरेका छन्,’ उनले भने, ‘दोस्रो प्याकेजका समेत सम्पर्कमा आए पनि मंगलबार दिउँसोसम्म काम सुरु गरेका छैनन्।’ पहिलो प्याकेजमा प्रहरी परिचालन गरेर काम भइरहेको छ।

अझै तीन दिनभित्र यातायात सहज आउजाउ हुनेगरी प्रगति हुने खालको काम हुन नसके ठेक्का तोड्ने तयारीमा सडक आयोजना छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर सडकखण्ड भारतीय एक्जिम बैंकको ऋण लगानीमा सरकारले चार वर्षअघि करिब १ अर्ब २० करोडको लागतमा विस्तार गर्न सुरु गरेको थियो। स्विस सरकारले लामोसाँघुदेखि पर्यटकीय नगरी जिरीसम्म ४० वर्षअघि बनाइदिएको ३.५ मिटर चौडाइको यो सडकलाई सात मिटरको दोहोरो लेन बनाउने भन्दै दुई वर्षभित्र काम सम्पन्न गर्ने भनिए पनि ठेकेदार कम्पनीको चरम ढिलासुस्ती र लापर्बाहीका कारण दुई वर्षयता अलपत्र पर्दै आएको छ।

खाडीचौरदेखि सिन्धुपाल्चोककै मुडे र मुडेदेखि चरिकोटसम्म गरेर दुई खण्डमा यसको ठेक्का लागेको छ। खाडीचौर–मुडे २५ किलोमिटर खण्डको संयुक्त रूपमा जिम्मा लिएका नेपाली कम्पनीहरू सुनौला खिम्ती र गौरीपार्वतीले बीचैमा काम छाडेका थिए। सुनौला खिम्ती र त्यसका सञ्चालक करछलीसम्बन्धी मुद्दामा तानिएपछि गौरीपार्वतीले स्थानीय र प्रशासनको दबाबमा ६ महिनाअघि आफैं काम गर्ने भन्दै सडक विभागबाट कामको जिम्मा लिएको थियो। सात किलोमिटर कालोपत्रे गरेपछि ऊसमेत सम्पर्कविहीन भएको थियो। मुडेदेखि चरिकोटसम्मको दोस्रो खण्डमा भने काम झन् लथालिंग बनेको छ। यसको संयुक्त रूपमा ठेक्का लिएको ठेकेदार कम्पनी शंकर माली र सुनौला खिम्तीले केही स्थानमा ओछ्याएको सबवेसमेत वर्षात्ले बगाइदिएर सडक खाल्डैखाल्डा बनेको छ।

प्रकाशित: ८ श्रावण २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App