८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा ‘रअ’ प्रमुखका ४० घण्टा : पशुपतिको दर्शनदेखि थकाली खानासम्म

काठमाडौं– भारतीय खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ) का प्रमुख सामन्त गोयल शनिबार साँझ ३ दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं आए। गत असार ११ गते आइपीएस अधिकारीबाट (रअ) को प्रमुखमा नियुक्त भएपछि गोयल ३ सदस्यीय टोलीको नेतृत्व गर्दै पहिलोपटक नेपाल आएका हुन्।  उनको साथमा थिए, शशीभूषण सिंह तमोर (रअका उपप्रमुख तथा दक्षिण एसिया–चीन विशेषज्ञ), अरुण कुमार जैन (नेपालका लागि रअको पूर्वप्रमुख)। 

शनिबार साँझ साढे ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गोयलको टोली नागपोखरीको जिम्बु थकालीमा भोजनका लागि पुग्यो। स्रोतका अनुसार खाना खाएर रअको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्यो। प्रधानमन्त्रीको सचिवालय यो भेट स्विकार्न तयार छैन। राजनीतिक व्यक्तिको भेट अघि खुफिया एजेन्सीका प्रमुखलाई भेट्न उपयुक्त नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गोयललाई नभेटेको बालुवाटरको भनाई छ। स्रोतका अनुसार भेट सकेर गोयल टिमसहित बास बस्नका लागि महाराजगञ्जस्थित एक प्रतिष्ठित व्यक्तिको घर पुग्यो। पहिलो दिन बुक गरेको होटलमा बसेनन्। उनीहरुको बौद्ध स्थित ह्यात होटलमा बस्ने व्यवस्था मिलाइएको थियो।

दोस्रो दिन आइतबार गोयल दिनभर भेटघाटमा व्यस्त रहे। गोयलले महाराजगञ्जमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  केन्द्रीय सदस्य शेखर कोइरालालाई भेटे। स्रोतका अनुसार उनले महाराजगञ्जमा नेकपाका केही नेता समेत भेटेका छन्। भारतीय दूतावास स्रोतका अनुसार रअ प्रमुख गोयलले मधेस केन्द्रीत राजपा र समाजवादी पार्टीका नेतालाई भने भेटेनन्।

खुफिया एजेन्सीका प्रमुख भएकाले गोयलले नेपालका सुरक्षा निकायका प्रमुखलाई पनि भेटे। उनले सेना, प्रहरीका उच्च अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग आइतबारै भेट गरेका थिए।

गोयलको टिमले सोमबार विहानै पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्यो। त्यहाँबाट फर्केर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्यो। दाहाललाई भेट्न उनी खुमलटार स्थित निवासमा पुगे। तर सुरुवातमा दाहाल सचिवालयले भेटलाई पुष्टि गर्न मानेन्। दाहालले भेटलाई गोप्य राख्न चाहे पनि सचिवालयले कहीँ न कहीँ सूचना चुहाए पछि भेट लुकिरहन सकेन।

त्यसपछि मध्यान्हमा लैनचौरस्थित भारतीय दूतावासका पदाधिकारीसँग समसामयिक विषयमा छलफल गरेर दिउँसो स्वदेश फर्कियो।

 

 

 

प्रकाशित: ७ श्रावण २०७६ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App