४ वैशाख २०८१ मंगलबार
समाज

पहिरोका कारण जोखिममा ऐतिहासिकस्थल

जग काटिएपछि तुवाचुङ जायजुममुनि खसेको पहिरो पन्छाउँदै । तस्बिर: दमन राई/नागरिक

खोटाङ– सडकको भित्ता पहिरोको रुपमा खस्दा खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुमडाँडा जोखिममा परेको छ। मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्नेक्रममा फराकिलो बनाउँदा सडकको भित्ता क्रमशः खस्दा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान नजिकै रहेको किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुम पहिरोको जोखिममा परेको हो।

गत वर्ष पहिरो खसेकै ठाउँमा यसपल्ट असार २६ गते राती सडकमा पहिरो थुप्रिएको थियो। सडकमा खसेको बिशाल ढुंगाको थुप्रो पन्छाउने काम अझै पूरा भएको छैन्। पत्र–पत्र बनेर अडिएको ढुंगा हरेक वर्ष खस्न थालेकाले ऐतिहासिक तथा पर्यटकीयस्थलको अस्तित्व नै संकटमा परेको तुवाचुङ जायाजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताए। ‘तुवाचुङ–जायजुमडाँडामा हरेक वर्ष पहिरो खस्न थालेकाले ऐतिहासिकस्थल जोखिममा परेको छ,’ महासचिव राईले भने, ‘पहिरो रोकथामका विषयमा नगरपालिकासँग कुरा अघि बढाएको छु। प्रदेश र संघीय सरकारसँग पनि रोकथामका विषयमा ध्यानाकर्षण गराउने सोचमा छौँ।’

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीभन्दा केहीमाथि रहेको तुवाचुङ–जायाजुमडाँडामुनि खोतल्दा हरेक वर्षा याममा सडकको भित्ता खस्न थालेको हो। तह–तह बनेर अडिएको चट्टाने भित्ताको जग काटिएपछि तुवाचुङ जायाजुमको मुनिका बर्खेटार आसपासका विभिन्न ठाउँमा चट्टानको पत्र टुक्रिएर झर्ने गरेको छ। पहिरो खस्नेक्रम नरोकिँदा ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुमको पुरातात्विक संरचनालाई असर गर्ने देखिएको छ। जग खुस्किएपछि चिप्लिएर झरेको ढुंगालाई फुटाएर ढुंगा र गिटीका लागि उपयोग गर्ने गरिएको छ। भित्ता च्यापेर सडक खनिएपछि क्रमशः पहिरोकोरुपमा झर्न थालेको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए। ‘निरन्तर पहिरो खस्दा ऐतिहासिक स्थल नै जोखिममा पर्दैगएको छ,’ वडाध्यक्ष राईले भने, ‘टेवा पर्खाल वा ग्याविन नहाले पहिरो रोकिने अवस्था छैन्। त्यो काम नगरपालिकाले मात्र गर्न सक्दैन। प्रदेश र संघीय सरकार नै लाग्नुपर्ने देखिन्छ।’

०७५ साल असार २० गते राती चट्टानको पहिरो खसेको बर्खेटार सडकमा पुःन सोही वर्षको भदौ २३ गते पहिरो खस्दा हलेसी–दिक्तेल सडक अवरुद्ध भएको थियो। प्रचार–प्रसार गर्दै ऐतिहासिकस्थल एबं पर्यटकको गन्तव्यस्थलकारुपमा विकास गर्नका लागि तुवाचुङ–जायाजुमडाँडामा २०७४ साल मंसिर २ गते किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ। किरातीको उद्गम थलो र आस्थाको केन्द्रकारुपमा मान्ने गरिएको तुवाचुङ–जायाजुममा नेपाल बाहेक सिक्किम, दार्जिलीङ, भुटान लगायतका किरात समुदायको भीड लाग्ने गरेको छ। 

प्रकाशित: ७ श्रावण २०७६ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App