coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘संगीतको कुनै भाषा हुँदैन’

काठमाडौं - भारतीय रियालिटी शो ‘सारेगमा लिल च्याम्प’ मा तेस्रो भएका इटहरीका प्रितम आचार्यको व्यस्तता बढेको छ। रियालिटी शोमा तेस्रो भएर नेपाल फर्किएलगत्तै उनी विभिन्न कार्यक्रममा सहभागि हुन भ्याइनभ्याइ भएको छ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनी फुरुङ थिए। ‘सारेगमा लिल च्याम्प’ रियालिटी शोमा सहभागि उनी र आयुष केसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए। ‘प्रधानमन्त्री ओली मेरो उमेरमा भैसी चढेर गोठाला जाने गरेको सुनाउनु भएको थियो। राजनीतिको क्रममा १४ वर्ष जेलमा बिताएको कुरा सुनाउँदा नरमाइलो लागेको थियो,’उनले भने,‘उहाँले देशको नाम चम्काएको भन्दै खुसी प्रकट गर्नुभयो। उपहार स्वरुप भाटभटेनी सुपरमार्केटमा गएर मनपरेको सामान किन्न भनेपछि फुरुङ भएको छु।’

मेरो प्राथमिकतामा नेपाली गीतहरू पर्ने गरेको छ। नेपाली गीत गाउँदा जहिल्यै उर्जा पाएको महसुस गरिरहेको हुन्छु।

‘सारेगमा लिल च्याम्प’ को यात्रा अविस्मरणीय रहेको उल्लेख गर्दै उनले सांगीतिक यात्रामा लाग्न प्रोत्साहन मिलेको बताए। नेपालको प्रतिनिधित्व गरेर दिल्ली अडिसनमा सहभागि १० जना प्रतिस्पर्धीहरूमध्ये प्रितम आचार्य र आयुष केसी ‘सारेगमा लिल च्याम्प’ को लागि छनोट भएका थिए। ‘विभिन्न भजनहरू गुन्गुनाउने गथें। यसले मलाई संगीततिर लाग्न प्रेरित गरिरहेको थियो,’ उनी भन्छन्। ११ वर्षीय प्रितमको गायन शैलीबाट बलिउडका कलाकारहरू मोहित भएका थिए। विभिन्न थिममा सञ्चालन हुने ‘सारेगमा लिल च्याम्प’ मा उनले सबै खालका प्रस्तुतिहरू दिएका थिए।

परिवारका दोस्रो सन्तान उनी इटहरीस्थित विश्व आदर्श स्कुलमा कक्षा ६ मा अध्यनरत छन्। स्कुलमा आयोजना हुने सांगीतिक प्रतियोगितामा सहभागि हुँदै आएका उनले सफलता समेत पाउँदै गएका थिए। संगीतमा लाग्न उनलाई बुबाले प्रेरित गरेको बताए। सुरिलो आवाजका खानी उनले संगीतलाई निरन्तरता दिने कुरा सुनाएका छन्। ‘संगीतबारे धेरै थोरै बुझ्ने अवसर पाइरहेको छु। यसलाई निरन्तरता दिन चाहन्छु। यसका लागि सबैको साथको अपेक्षा गरेको छु,’उनले भने।

नेपालको ‘सुरशाला’ नामक बाल–गायन प्रतियोगितााट सांगीतिक यात्रा सुरू गरेका उनी डाक्टर बन्न इच्छुक छन्। ‘जीवनमा पढाइको महत्व छ। म पढाईसँगै संगीतलाई अगाडि बढाउँछु। तर, संगीतको कारणले पढाइमा असर भने हुन दिने छैन। डाक्टर सफल संगीत हुनसक्छ भन्नेजस्तो लाग्छ। त्यसैले डाक्टर बनेपनि संगीत मेरो जीवनको एक हिस्सा भइसकेको छ,’ उनी भन्छन्,‘संगीतमा सबै पेशाका मानिसहरू आउनु जरुरी छ।’

उनी गायकहरू रामकृष्ण ढकाल, नारायण गोपाल र भक्तराज आचार्यका गीतहरूका फ्यान हुन्। उनीहरूका प्रायजसो गीतहरू उनलाई याद छ। ‘नेपाली गीतहरु सुनेर हुर्किएको हुँदा नेपाली गीतहरू प्राथमिकतामा पर्ने गरेको छ। नेपाली गीत गाउँदा जहिल्यै उर्जा पाएको महसुस गरिरहेको हुन्छु,’ उनले भने। नेपाली गीत गाउन रूचाउने भएपनि अन्य भाषाको गीत गाउन प्रस्ताव आए पछि नहट्ने उनले बताए। ‘संगीतको कुनै भाषा हुँदैन। त्यसैले जुनै भाषाको गीतहरू सुन्ने र सकेसम्म शब्द समात्ने प्रयास गरिरहेको हुन्छु,’ मुस्कुराउँदै उनले भने।

नेपालमा बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्ल्याटफमको अभाव भएको महसुस उनले गरेका छन्। नेपालमा प्रतिभाशाली बालबालिकाहरू प्ल्याटफमको अभावमा खुम्चिएर बस्नु परेको तितो अनुभव उनले सुनाए। ‘बालबालिकाको प्रतिभा प्रस्तुत गर्ने खालको प्ल्याटफम निर्माण गर्न आवश्यक रहेको छ। प्रतिभाशाली बालबालिकाहरूको प्रतिभा थन्किएका छन्। देशभरका बालबालिकाहरूको प्रतिभा बाहिर आउनु पर्दछ।’

भारतीय रियालिटी शो ‘सारेगमा लिल च्याम्प’ को फारम खुलेको थाहा पाएलगत्तै उनी तयारीमा जुटेका थिए। दिल्ली अडिसनमा छनोट भएपछि भने देशप्रतिको जिम्मेवारी बोध भएको उनले बताए। ‘नेपालको प्रतिनिधित्व गरेर भारतीय रियालिटी शोको स्टेजमा पहिलो पटक गीत गाउँदा डराएको थिए,’उनी स्मरण गर्छन्,‘ खुट्टा थरर भएको थियो। धड्कन बाहिर निस्किन्छ जस्तो लागेको थियो। तर, प्रतियोगितामा जित्नुपर्छ भन्ने सोचले प्रोत्साहित गरिरहेकाले यो यात्रामा सफलता पाएको थिए।’ प्रतियोगिताको क्रममा उनले आफ्ना कमजोरीहरू सुधार्ने अवसर पाएका थिए। नेपालका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले उनलाई सद्भावना दूत बनाएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App