coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदर्शनबाट फर्किरहेकामाथि हङकङमा आक्रमण

हङकङ – हङकङमा जारी लोकतन्त्र पक्षधरको प्रदर्शनबाट फर्कदै गरेका प्रदर्शनकारीमाथि आइतबार राति अज्ञात समूहबाट आक्रमण भएको छ। हङकङको एउटा रेल स्टेसनमा सेतो टिसर्ट लगाएका र नचिनिएका मानिसको समूहले ती प्रदर्शनकारी आक्रमण गरेको बताइएको छ। हङकङको युएन लङ रेल स्टेसनमा लाठी लिएका पुरुषको समूहले प्रदर्शनबाट फर्किरहेकालाई पिटिरहेको भिडियो सामाजिक संजालमा राखिएका छन्।

आइतबार रातिको आक्रमणबाट ३६ जनाभन्दा बढी मानिस घाइते भएको बताइए पनि आक्रमण गर्ने समूह कुन थियो भन्ने जानकारी भने प्राप्त नभएको बिबिसीले उल्लेख गरेको छ। तर सामाजिक सञ्जालमा सरकारको तर्फबाट यस्तो कार्य भएको भन्ने विचार भाइरल भइरहेको छ। सो घटनाको भिडियोमा त्यो समूहले मानिसहरुलाई लाठीले कुटिरहेको देखिन्छ। घटनामा घाइते भएका कम्तीमा ३६ जना मानिसलाई अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

आइतबार नै हङकङमा लोकतन्त्रको पक्षमा भएको ¥यालीमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो। सरकारी सुरक्षा फौजले निषेधित क्षेत्र नतोड्न चेतावनी दिँदा पनि प्रदर्शनकारी नरोकिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप सरुरू भएको थियो।
प्रदर्शनकारीले अटेर गरी प्रहरी घेरामा प्रवेश गर्न खोज्दै विभिन्न सामान फ्याँकेपछि प्रहरीले बाध्य भएर अश्रुग्यास र रबरका गोली प्रहार गरेको अधिकारीहरुले बताएका छन्। प्रदर्शनकारी चीनको केन्द्रीय सरकारी कार्यालयतर्फ बढ्दै त्यहाँका भवनमा अन्डा फ्याँकिरहेका थिए।

निहत्था मानिसमाथि आक्रमण हुँदा पनि नजिकै रहेको प्रहरी किन समयमा पुग्न सकेन भन्दै सोमबार हङकङका कैयौं सांसदहरुले सरकारसमक्ष आवाज उठाएका छन्।

आइतबारको प्रदर्शनको आयोजना गर्ने आयोजकहरुले ४ लाख ३० हजार जनाभन्दा बढीले प्रदर्शनमा भाग लिएको दाबी गरेका छन्। यद्यपि प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ। हङकङ सरकारले ल्याएको एउटा सुपुर्दगीसम्बन्धी विधेयकलाई लिएर हङकङमा केही साताअघि विरोध प्रदर्शन सुरु भएको थियो। मुख्यभूमि चीतर्फ सुपुर्दगी गर्नका लागि सो कानुन ल्याउन लागिएको थियो।

प्रस्तावित सुपुर्दगी विधेयकले हङकङको न्याय प्रणाली ध्वस्त हुने र त्यसले राजनीतिक विपक्षीलाई निशानामा पार्न सक्ने भन्दै विधेयक खारेजको माग गर्दै सुरु भएको प्रदर्शनमा हाल आएर लोकतन्त्रसम्बन्धी अन्य कुरा पनि समेटिएका छन्। हङकङ सरकारले सुपुर्दगी सम्बन्धी सो विधेयकलाई स्थगित गरिसकेको भए पनि पूर्ण खारेजीको माग प्रदर्शनकारीहरुले राख्दै आएका छन्। बेलायको उपनिवेशमा रहिसकेको हङकङ चीनको एक महŒवपूर्ण हिस्सा हो। तर ‘एक देश, दुई प्रणाली’ सिद्धान्त अनुसार हङकङ चल्दै आएको छ। उक्त प्रणालीले हङकङलाई एउटा तहको स्वायत्तता प्रदान गर्ने गरेको छ। हङकङको आफ्नै न्यायालय र न्यायिक प्रणाली रहेको छ जुन चीनबाट पूर्ण स्वतन्त्र छ।

सातौं सातासम्म भएको सुपुर्दगी विधेयकविरुद्धको प्रदर्शनका क्रममा आइतबार राति भएको झडप पहिलो हिंसा भएको बिबिसीले उल्लेख गरेको छ।
निहत्था मानिसमाथि आक्रमण हुँदा पनि नजिकै रहेको प्रहरी किन समयमा पुग्न सकेन भन्दै सोमबार हङकङका कैयौं सांसदहरुले सरकारसमक्ष आवाज उठाएका छन्। आइतबार रातिको घटनालाई लिएर हङकङकी प्रमुख कार्यकारी क्यारी लामले दुःख व्यक्त गरेकी छन्। आइतबारको घटनाले हङकङ पुरै त्रसित रहेको बताइएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App