८ वैशाख २०८१ शनिबार
अर्थ

१७२२ पुग्यो सेयर परिसूचक

काठमाडौं- वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा सेयर बजार मापक नेप्से सोमबार १७२१.७७ बिन्दुमा पुगेको छ। बिमा र होटल समूहको सेयर मूल्यमा गिरावट आए पनि वाणिज्य बैंक समूह उचालिँदा बजारले नयाँ रेकर्ड बनाएको हो।

सोमबार नेप्सेले १७०० अंक सजिलै पार गर्दै १७२१.७७ अंकमा पुगेर बन्द भएको छ।

बजारमा एकै दिन ३६.६० अंकको वृद्धि भएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.८८ अंकले बढेको थियो। दुई दिनमै यो ५५.४८ बिन्दुले बढ्न पुग्यो।

सोमबार एभरेस्ट, नेपाल एसबिआई लगायत बैंकको सेयर मूल्य बढेपछि बजारले नयाँ उचाइ कायम गरेको हो।

चालु आर्थिक वर्षको अन्त्य हुन लागेको र ३–४ महिनाभित्र बैंकले लाभांश वितरण गर्ने भएकाले पनि लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए।

'साउनमा बैंकहरुको वित्तीय विवरण आउने र उनीहरुको नाफा बढ्ने अपेक्षा लगानीकर्ताले गरेका कारण सेयर मूल्य बढेको हो,' उनले भने, 'बिमा, लघुवित्त कम्पनीको मूल्य अत्यधिक बढेकाले लगानीकर्ताले कम मूल्य बढेका बैंकको सेयर रोजे।'

सेयर बजारका अर्का विश्लेषक रविन्द्र भट्टराई भने छोटो समयमा नाफा लिन लगानीकर्ता लालायित हुँदा सेयर मूल्य बढेको बताउँछन्। 'पछिल्लो १३ वर्षको इतिहास हेर्न हो भने १० वर्ष वैशाखदेखि असार मसान्तसम्म सेयर मूल्य बढेको भेटिन्छ,' उनले भने, 'अहिले पनि बजारमा त्यही प्रवृत्ति देखियो।' उनले यो वृद्धिलाई कम्पनीको पर्फरमेन्स भन्दा बजार मागमा आधारित भनेका छन्।

बजारमा दिनभरिमा १३२ कम्पनीका १ अर्ब ६३ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भयो। बैकिङ समूहको सूचक ६१.०७ अंकले उक्लिएको छ। बिमा समूहको ९५.५७ अंकले र होटल समूहको २६.१९ अंक ओरालो लागेको छ। बाँकी सबै समूहको परिसूचक उकालो लागेको छ।

बैंकिङ प्रणालीमा अत्यधिक तरलता (लगानीयोग्य पैसा) थुप्रिनु र सुरक्षित लगानीको वैकल्पिक क्षेत्र उपलब्ध नहुनुलाई सेयर बजारमा लगानीकर्ता आकर्षित हुनुको मुख्य कारण मानिएको छ। यसैको परिणाम पछिल्लो समय सेयर कारोबार र मूल्य बढेको हो।

बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आगामी दुई वर्षभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बनाउनुपर्ने प्रावधान ल्याएको थियो। विकास बैंक र वित्तीय संस्थाले पनि चुक्ता पुँजी बढाउनुपर्ने छ। त्यो आवश्यकता पूरा गर्न वाणिज्य बैंकहरुले धमाधम हकप्रद र बोनस सेयर दिइरहेका छन्। तोकिएको चुक्ता पुँजी पुर्‍याउन उनीहरुले हकप्रद सेयर जारी गर्ने योजना पनि अघि सारेका छन्।

बोनस र हकप्रद सेयरबाट लगानीकर्तालाई नगद लाभांशबाट भन्दा बढी फाइदा हुन्छ। नगद लाभांश नै पाउँदा पनि हालको बैंक ब्याजभन्दा बढी हुने हुँदा लगानीकर्ता सेयर बजारमा बढी नै हौसिएको विश्लेषक बताउँछन्। यसैको असर बजारमा परेको हो।

सोमबार एभरेस्ट बैंकको ९ करोड ९५ लाख र एसबिआईको ८ करोड ६४ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको ७ करोड ४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

भूकम्प र नाकाबन्दीको असरले थोरैदेखि धेरै पैसा भएकासम्मलाई लगानीको विकल्प नहुँदा सबै पैसा सेयर बजारमा गएको अनुमान गरिएको छ। बजार विश्लेषकका अनुसार बैंक तथा वित्तीय संस्थाको लगानी पछिल्ला महिनामा सेयर बजारमा गएको छ। बैंकिङ प्रणालीमा थुप्रिएको तरलताका कारण ब्याजदर घटेकाले पनि कर्जा लिएर सेयर किन्ने प्रवृत्ति पछिल्लो समय बढेको अध्यक्ष रेग्मीले बताए। 'सेयरको मूल्यवृद्धिमा यसको पनि भूमिका छ,' उनले भने।

सोमबार सेन्चुरी बैक र जेविल्स फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन्। बजारले नयाँ उचाइ कायम गर्दा पनि मनास्लु विकास बैंक, नेपाल इन्स्योरेन्स लगायतका सेयर होल्डरले भने गुमाएका छन्।

म्युचल फन्डका एकाइहरुलाई छाड्दा सबैभन्दा बढी कित्ता सेयर किनबेच नेपाल बैंकको भएको छ। यसको ९२ हजार २ सय ३५ कित्ता किनबेच भयो। नेपाल बैंकलाई सेन्चुरी, एनबी, एनएमबी बैंकले पछ्याए।

ब्रोकरका अनुसार, ठूला बैंकहरुको एफपिओ आउने हल्लाले पनि बजार उचालेको हो। साथै महँगो मूल्यको बिमा कम्पनीको विकल्पका रुपमा अहिले बैंकको सेयर देखिएका कारण पनि सूचक उचालिएको हो। सोमबार बजार पुँजीकरण १८ खर्ब ४६ अर्ब नाघेको छ।

'हल्लाको भरमा लगानी नगर्नू'

नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले लगानीकर्तालाई संयम भएर लगानी गर्न आह्वान गरेको छ।

नेपालको सेयर बजार ऐतिहासिक उचाइमा पुगेकै दिन नेप्सेको यस्तो सुझाव आएको छ।

नेपाली सेयर बजारको तथ्यांकीय सूचक नेप्से सोमबार एकै दिन ३६.६० अंकले बढेर हालसम्मकै उच्च १७२१.७७ बिन्दुमा पुगेपछि नेप्सेले लगानीकर्तालाई हल्लाको भरमा लगानी नगर्न सुझाएको हो। नेप्सेले सम्बन्धित कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेरमात्र सेयरमा लगानी गर्न भनेको छ।

'मुलुकको आर्थिक गतिविधि तथा नीति नियमले कम्पनीको क्रियाकलापमा प्रभाव पार्ने हुँदा यसले सेयर मूल्यमा पार्न सक्ने प्रभावलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्छ,' नेप्सेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'साथै लगानीसम्बन्धी निर्णय गर्दा प्राविधिक विश्लेषणका साथै आधारभूत विश्लेषण नगर्दा जोखिम धेरै हुन्छ। त्यसैले यस्ता विश्लेषण गरी लगानीसम्बन्धी निर्णय गरेमा मात्र प्राइस इज द फङ्सन अफ इन्फर्मेसन भन्ने भनाइ सार्थक हुन्छ।'

नेप्सेले हल्लाको भरमा कारोबार नगर्न लगानीकर्तालाई आग्रह गरेको छ। 'सूचीकृत धितोपत्रमा रहने जोखिम नाफा, सुरक्षा, तरलता जस्ता गुणको विश्लेष गरी किनबेच गर्न, हल्लाको भरमा नलागी सत्य–तथ्य सूचनाको आधारमा कारोबार गर्न र बजारमा चलेको हल्लालाई पुष्टि गरेरमात्र लगानीसम्बन्धी निर्णय लिन सम्बन्धित सबैमा अनुरोध छ,' नेप्सेको विज्ञप्तिमा भनिएको छ,

सेयर बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले यसअघि तीनपटक लगानीकर्तालाई सचेत गराइसकेको छ। नेप्सेले भने पहिलोपटक यस प्रकारको सूचना जारी गरेको हो।

प्रकाशित: १४ असार २०७३ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App