coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्युठान सिमेन्टमा आठ अर्ब लगानी थपिँदै

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–८ मा रहेको शुभ श्री अग्नी सिमेन्ट प्रालिको प्युठान सिमेन्ट उद्योगको प्लान्ट। तस्बिर : नागरिक

काठमाडौं – प्युठान सिमेन्टले क्लिंकर उत्पादन क्षमता तीन गुणा बढाउन करिब आठ अर्ब रुपैयाँ लगानी थप्ने तयारी गरेको छ। नौ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्दै आएको शुभश्री अग्नि सिमेन्ट प्रालिले क्षमता बढाएर तीन हजार टन पु-याउन लागेको हो।

अग्नी र प्युठान सिमेन्ट उत्पादन गर्दैै आएको उक्त समूहले आफ्ना दुई सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने क्लिंकर अपुग भएपछि क्लिंकर प्लान्टको क्षमता बढाउन लागेको जनाएको छ।

क्षमता बढाउनका लागि करिब आठ अर्ब रुपैयाँ लगानी थप्ने प्युठान सिमेन्टका कार्यकारी निर्देशक ताराप्रसाद पोखरेलले बताए। ‘क्लिंकरको उत्पादन क्षमता बढाएर तीन हजार मेट्रिक टन पु-याउने योजनामा छौं,’ पोखरेलले भने, ‘पूरानै प्लान्टको क्षमता बढाउछौं।’

शुभ श्रीले २०७४ बाट क्लिंकर उत्पादन गर्दै आएको छ। क्लिंकर उद्योगमा प्युठान र दाङको चुनढुंगा प्रयोग गरेको छ। ‘चुनढुंगा पनि गुणस्तरीय छ,’ उनले भने, ‘आफ्नै चुनढुंगा खानी प्रयोग गरिरहेका छौं।’ गुणस्तरीय चुनढुंगा भएकाले सिमेन्टले बजारमा राम्रो प्रभाव पार्ने विश्वास कम्पनीले लिएको छ।

शुभश्रीले यसअघि जेठदेखि प्युठान सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको थियो। शुभश्रीले यसअघि सिमेन्ट प्लान्टका लागि एक सय ३६ करोड रुपैयाँ र क्लिंकरका लागि दुई अर्ब ६६ करोड रुपैयाँ गरी  चार अर्ब दुई करोड रुपैयाँ लगानी गरेको थियो। नयाँ लगानी थपिँदा उक्त उद्योगमा लगानी करिब १२ अर्ब रुपैयाँ पुग्नेछ।

क्लिंकर उत्पादन क्षमता तीन गुणा बढाएर तीन हजार टन पु-याउने।

प्युठान सिमेन्टले जर्मनीको उच्च प्रविधि प्रयोग गरेर ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। प्युठान सिमेन्टको प्लान्ट अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ मा छ। प्युठानको उद्योग पूर्णरुपमा वातावरणमैत्री छ। प्रविधिमैत्री यो उद्योग पूर्ण अटोमेसनमा सञ्चालन गरेको कम्पनीले जनाएको छ। करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उद्योगले ग्रिनफिल्ड साइट निर्माण, धुवाँ, धुलो नियन्त्रणका लागि दुई सय पिस ब्याक फिल्टर जडान गरेको छ।

अग्नि सिमेन्ट उत्पादन गरिरहेको समूहको नेतृत्वमा उक्त उद्योग सञ्चालनमा छ। प्युठानमा अग्नि सिमेन्टसहित एनआरएन र सिटिजन्स बैंकको नेतृत्वमा नेपाल बैंकलगायतले लगानी गरेका छन्। क्लिंकरको क्षमता वृद्धि गर्दा थप लगानीकर्ता ल्याउने कम्पनीको योजना छ।

विगतमा विदेशबाट क्लिंकर आयात गरेर सिमेन्ट उत्पाद गर्दै आएका सिमेन्ट उद्योगले अहिले धमाधम क्लिंकर उद्योग सञ्चालन गरिरहेका छन्। पुरानाले क्षमता बढाइरहेका छन् भने नयाँ थपिने क्रम जारी छ। क्लिंकरसहित नयाँ सिमेन्ट उद्योगपनि आइरहेका छन्। उद्योग विभागका अनुसार अहिलेसम्म एक सय १३ वटा सिमेन्ट उद्योग सञ्चालनको अनुमति जारी भएको छ। तीमध्ये ५६ वटाले उत्पादन गरिरहेका छन्।

केही नयाँ उद्योग तत्काल उत्पादन गर्ने तयारीमा छन्। ५४ वटा उद्योग निजी क्षेत्रले सञ्चालन गरेको छ। सिमेन्ट उद्योगमा करिब दुई खर्ब रुपैयाँ लगानी पुगेको छ। आफ्नै क्लिंकर उत्पादन गरेर ग्राण्डिङ गर्ने उद्योगको संख्या १९ वटा पुगेको छ। अहिले मुलुकमा करिब ९० लाख मेट्रिक टन सिमेन्ट खपत हन्छ। सिमेन्ट उत्पादन गर्ने ग्राण्डिङ उद्योगको क्षमता एक करोड ३० लाख टन पुगेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ।



 

प्रकाशित: ७ श्रावण २०७६ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App