८ वैशाख २०८१ शनिबार
समाज

तटबन्धका नाममा अनियमितता

सुर्खेत - कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले लेकबेसी नगरपालिका–३ र ४ मा पर्ने कागते खोला तटबन्धका लागि टिपिओटी निर्माण सेवासँग जेठ २ गते सम्झौता ग¥यो। सम्झौताअनुसार असार मसान्तभित्र चार सय १३ जाली राखेर एक सय ७१ मिटर लम्बाइको तटबन्ध निर्माण गर्नुपर्ने थियो। निर्माण कम्पनीले खोलामा तीन सय ३९ वटामात्रै जाली भरेर २० लाख ६४ हजार एक सय चार रुपैयाँ भुक्तानी लगिसकेको छ। त्यसमाथि पनि गुणस्तरहीन काम भएको स्थानीयको आशंका छ। उनीहरुले मसिना ढुंगा र माटो भरेर तटबन्ध निर्माण गरिएको भन्दै विरोध सुरु गरेका छन्।

सम्झौता गर्ने ठेकेदारले काम गरेनन्, अर्कैलाई जिम्मा लगाए । सरकारी निकायले पनि अनुगमन गरेनन् ।

‘डोजर प्रयोग गरेर तटबन्ध निर्माण गरिएकाले गुणस्तरीय भएन’, स्थानीय मधु आचार्यले भने, ‘तटबन्धका नाममा यहाँ झारा टार्ने काममात्रै भएको छ।’ उनले जालीको प्वालभन्दा साना ढुंगा र माटो भरिएकाले जालीबाट ढुंगा खस्न थालेको बताए। ‘खहरे खोलामा आउने भेललाई यो तटबन्धले थेग्दैन’, उनले भने, ‘हतारहतारमा बजेट सक्ने काममात्रै भएको छ, यो राम्रो होइन।’ स्थानीयका अनुसार डोजर प्रयोग गरी खोलाभित्रकै ढुंगा र माटोबाट जाली भरिएको छ। ‘काम सुरु हुँदा नै हामीले विरोध गरेका थियौं’ एक स्थानीयले भने, ‘ठेकेदारले हाम्रो मागको सुनुवाइ गरेन।’

‘इस्टिमेटअनुसार जालीको प्वालभन्दा ठूला ढुंगा भर्नुपर्ने हो,’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर विकले भने, ‘त्यसअनुसार काम नभएको गुनासो आएको छ।’ कार्यालय प्रमुख विक इस्टिमेट अनुसार काम नभएको स्विकार्छन्। ‘कम जनशक्ति भएकाले हामीले नियमित अनुगमन गर्न पाएनौं’, उनले भने, ‘अब एकदुई दिनमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं।’

४१३ जाली राखेर १७१ मिटर लम्वाईको तटवन्ध निर्माण गरिनुपर्नेमा जालीको प्वाल भन्दा साना ढुंगा र माटो भरेर निर्माण कम्पनीले २० लाख ६४ हजार १०४ रुपैयाँ भुक्तानी लगेको छ ।

४३ लाख आठ हजार एक सय २० रुपैयाँ इस्टिमेट गरिएको तटबन्धका लागि टिपिओटी निर्माण सेवाले पचास प्रतिशत घटेर २१ लाख ५९ हजार ४ सय ५५ मा ठेक्का सकारेको थियो। इस्टिमेटअनुसार तीन मिटर लम्बाइ, डेढ मिटर चौढाइ र ४५ सेन्टिमिटर उचाइका २ सय २८ जाली र तीन मिटर लम्बाइ, डेढ मिटर चौडाइ र ७५ सेन्टिमिटर उचाइका १ सय ८५ वटा जाली भर्नुपर्ने थियो।

टिपिओटी निर्माण सेवाका सञ्चालक ओमकार सिंह ठकुरीले तटबन्ध निर्माणको ठेक्का सम्झौता आफूले गरे पनि काम गर्ने जिम्मा अर्कैलाई दिएको बताए। ‘फर्म मेरो भए पनि तटबन्धको काम मैले गरेको होइन’, उनले भने, ‘स्थानीयको विवादका कारण केही समस्या आएको सुनेको छु।’ उनले तटबन्धको काम सडक निर्माणजस्तो नभएको बताए। ‘तटबन्ध निर्माण गर्दा कहीं अग्लो र कहीं गहिरो भइहाल्छ, यो सडक निर्माणजस्तो बराबर हुनुपर्छ भन्ने छैन’, उनले भने, ‘हतारमा काम गर्दा केही समस्या आएको होला।’

प्रकाशित: ७ श्रावण २०७६ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App