८ वैशाख २०८१ शनिबार
अर्थ

जर्जिया र नेपालका व्यवसायीबीच समझदारी

काठमाडौं – जर्जिया र नेपालका व्यवसायीका दुई संस्थाबीच लगानी, व्यापार र आर्थिक वृद्धि गर्ने समझदारी भएको छ। नेपाल चेम्बर अफ कमर्स र जर्जिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्सका अध्यक्ष गिवर्रगी पेर्रटियाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। यसले दुई देशका उद्यमी व्यवसायीबीच प्रचलित कानुन र नियमको ढाँचाभित्र रहेर द्विपक्षीय व्यापार विस्तार गरी नयाँ व्यावसायिक अवसरका सम्भावना पहिचान गर्ने सहमति भएको छ। नौबुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रदर्शनीमा सहभागी हुने उल्लेख छ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत्, सूचना प्रविधि, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए। आर्थिक उन्नतिका लागि औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागू भइसकेको जानकारी दिँदै नेपालमा व्यवसाय एवं लगानीको वातावरण बनेको बताए।

कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्वार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताए। उनले नेपालले पनि जर्जियाको अनुभवबाट समग्र सामाजिक सेवा विस्तारमा र आर्थिक क्षेत्रमा एकद्वार प्रणालीमा हासिल गरेको अनुभवलाई अनुशरण गर्नसक्ने बताए। उनले जर्जिया सरकार नेपाल सरकारसँग समन्वय गरी चेम्बरसँग सहकार्य गर्न तयार रहेको बताए। यसले दुई मुलुकबीच पर्यटन प्रवद्र्धन गर्नका लागि जर्जिया सरकारले भिसामा सरलीकरण गर्ने जानकारी दिए। नेपालबाट जर्जियामा हाते कागज, ऊनी गलैंचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना आदि निकासी गर्ने सम्भावना छ।

प्रकाशित: ७ श्रावण २०७६ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App