coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिलो किस्ता नलिने भूकम्पपीडित आठ सय बढी

रसुवा - भूकम्प गएको चार वर्ष बितिसक्दासमेत जिल्लाका आठ सयभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता बुझेका छैनन्। अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका अनुसार जिल्लाका आठ सय चारजना लाभग्राहीले पहिलो किस्ता नबुझेका हुन्। किस्ता नलिनेमा उत्तरगया गाउँपालिकाका ३ सय ४१, आमाछोदिङ्मोका एक सय ६४, गोसाइँकुण्डका १ सय ४१, कालिकाका १ सय १५ र नौकुण्डका ४३ परिवार छन्।

विस्थापित भएका, नाम दोहोरिएका र वैदेशिक रोजगारमा रहेकाहरूले किस्ता नलिएको कार्यालय प्रमुख दिवस आचार्यले बताए। ‘हालसम्म पनि पहिलो किस्ता नलिने लाभग्राही सायद अब नआउलान्,’ उनले भने, ‘धेरैजसो लाभग्राही सम्पर्कमै छैनन्।’

त्यसैगरी १ सय १८ लाभग्राहीको पहिलो किस्ता बैंकमा रोकिएको छ। कसको नाममा गएको भन्ने यकिन नभएका कारण बैंकमा रोएिको हो। जिल्ला समन्वय समितिबाट गएको फाइलमा विवरण नखुलेकाले बैंकमा होल्ड भइरहेको सूचना अधिकारी सूर्यबहादुर थोक्राले बताए। यसरी होल्ड भएको रकम कोषमा जम्मा गर्ने तयारी गरिएको छ। भदौभित्र कोषमा रकम जम्मा गर्ने र किस्ता लिन बाँकी पीडितलाई दिइने छ। पहिलो किस्ता नगएको देखिए पनि त्यहाँ होल्ड भएका केही लाभग्राहीले दोस्रो तथा तेस्रो किस्ता बुझिसकेका छन्। यो समस्या सुल्झाउन प्रयास भइरहेको सूचना अधिकारी थोक्राले बताए। जिल्लामा १० हजार तीन सय ४० घर निर्माण भइसकेको उनले बताए। चालू आर्थिक वर्ष २०७६/७७ भित्र करिब ९५ प्रतिशतले घर निर्माण गरिसक्ने कार्यालयको अनुमान छ।

गुम्बा पुनर्निर्माणको रकम फिर्ता
भूकम्पले क्षति भएका गुम्बा मर्मत तथा पुनर्निर्माणका लागि आएको रकम फिर्ता भएको छ। असार १० गते रकम आएका कारण खर्च हुन नसकी सबै रकम फिर्ता भएको हो। गुम्बा मर्मत तथा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा एक करोड ४० लाख ५० हजार रुपैयाँ आएको थियो। जिल्लामा ४२ ओटा गुम्बाको पुनर्निर्माण र आठओटाको मर्मत गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App