६ वैशाख २०८१ बिहीबार
समाज

बाजुराका सात सय घर जोखिममा

द्वारी क्षेत्रमा थुनिने अवस्थामा पुगेको बुढीगंगा नदी। तस्बिर ः कृष्ण÷नागरिक

बाजुरा - पैमाको पहिरो रोकिनुको साटो बढ्दै गएपछि बुढीगंगा र त्रिवेणी नगरपालिका बीचमा रहेको द्वारीमा बुढीगंगा नदी थुनिने खतरा बढेको छ। त्रिवेणीतिर पर्ने पैमाको पहिरो १० वर्षदेखि नरोकिँदा र बुढीगंगातिर पर्ने अम्कोट गाउँको पाखा भत्किने सम्भावना देखिँदा नदी थुनिने खतरा बढ्दै गएको हो। यस्तो अवस्था आए दर्जनौं बस्ती र करोडांैको भौतिक संरचनामा क्षति पुग्ने अनुमान गरिएको छ।

सम्भावित क्षति रोक्न जिल्ला विपद व्यवस्थापन समितिले भने कुनै पूर्वतयारी गरेको छैन। वर्षाको भेलसँगै बगिरहेको पहिरो नियन्त्रणको सम्भावना नभएकै कारण पूर्वतयारीको विकल्पबारे समितिले सोच्न सकेको छैन। पहिरोले नदी थुनिनेबित्तिकै बाजुराका अम्कोट, द्वारी, ताँप्रीसेरा, सेराबगर, बार्जुगार्ड तथा अछामका बुढाबगर, साँफेबगरलगायत क्षेत्रमा क्षति पुग्ने अनुमान गरिएको छ। त्यस्तै जिल्ला सदरमुकाम मार्तडी हुँदै हुम्ला, मुुगुसँग जोडिएको सडक सम्पर्क पनि विच्छेद हुने देखिएको छ। नदी थुनिएको खण्डमा अम्कोट क्षेत्रका सबै सडक पहिरोसँगै नदीमा मिसिने बताइएको छ। साँफे बगरदेखि मार्तडीसम्म ५७ किलोमिटर सडकमध्ये ८० प्रतिशत नदी किनारमै रहेको छ। नदी थुनिएर खोलिएको अवस्थामा सडकसमेतै लछारेर लैजाने अनुमान प्राविधिकहरूको छ। तर कति बहाव बढे थुनिने भन्ने अनुमान प्रशासनको तर्फबाट नगरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। पानीको बहाव बढेभन्दा पनि पहिरो खसेलगत्तै नदी थुनिने खतरा रहेको उनको भनाइ छ।

‘तत्काल पहिरो रोक्न सकिने अवस्था नभए पनि हामीले सबैतिर खबर गरेका छौं,’ प्रजिअ न्यौपानेले भने, ‘संघीय सरकारले पूर्वसूचना प्रणाली राख्न र दिगो व्यवस्थापनका लागि केही पहल सुरु गरेको छ।’ प्रशासनबाट तत्कालका लागि सचेत हुन सूचना जारी गर्नेबाहेक अरू केही प्रक्रिया थालेको देखिँदैैन। प्रजिअका अनुसार नदी थुनिए बाजुरादेखि अछामसम्मका सात सय बढी घर उच्च जोखिम पर्नेछन्। अछामस्थित साँफेबगर विमानस्थलमा पनि क्षति पुग्ने अनुमान उनको छ। मानवीय क्षति जोगाउन सकिए पनि भौतिक क्षति कल्पना गरेभन्दा बढी हुने अवस्था रहेको प्रजिअ न्यौपानेले बताए। सहरी डिभिजन तथा पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख प्रमुख जंगबहादुर थापाले भने नदी थुनिने विषयबारे पहिल्यै नसोचिएकोप्रति असन्तुष्टि व्यक्त गरे। ‘अहिले पनि खासै ढिलो भइसकेको छैन,’ उनले भने, ‘यदि पहिरोले नदी थुनिए साँफे–मार्तडी सडकले ठूलो क्षति बेहोर्नुपर्नेछ।

अर्बभन्दा बढीको लगानी गरेर २२ वर्ष लगाएर निर्माण गरिएको साँफे–मार्तडी सडक पूर्ण रूपमा क्षति हुने र सडक सम्पर्क नै विच्छेद हुने अवस्था रहेको प्रविधिकहरू बताउँछन्। त्यस्तो सम्भावनालाई मध्यनजर गरेर तत्कालका लागि जिल्लाले अर्को विकल्पको बाटो निर्माणका लागि कुनै पहल थालेको छैन। मार्तडी–थामलेख सडक निर्माण कार्य जारी रहे पनि कच्ची भएकाले सवारीसाधन सहज रूपमा सञ्चालनमा हुनसक्ने अवस्था छैन।

नदी थुनिने क्षेत्रको अनुगमन तथा अवस्था अध्ययन सरकारी तथा स्थानीयको तर्फबाट दिनहुँ भइरहेका छन्। स्थानीय तहबाट पहिरो नियन्त्रणका लागि पहल गरिए पनि सम्भव हुने अवस्था नरहेको बताइएको छ। ‘पूरै पहाड खसिरहेकाले रोमथामको कुनै सम्भावना देखिन्न,’ स्थानीय अगुवा हर्क खडायतले भने, ‘पैमा गाउँको सयौं रोपनी खेत बगिसकेर पहाडको भित्री भागमा समेत बग्न थालेको छ।’ उनका अनुसार नदी थुनिने हल्लाले स्थानीयमा त्रास मात्रै पैदा गरेको छैन, ठूलो भौतिक क्षति हुने अनुमानले चिन्ता पनि बढ्दै गएको छ। असार अन्तिम सातादेखि पहिरो बढ्दै गएपछि नदीको बाटो साँघुरिँदै गएको छ। नदी थुनिने खतरासँगै अछाम जिल्लामा उच्च सर्तकता अपनाइएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App