६ वैशाख २०८१ बिहीबार
समाज

बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर

रौतहट - जिल्लाका बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा शिविरको अयोजना गरेर बिरामीको स्वास्थ्य परीक्षण गरेको हो। गौर नगरपालिका–२ महादेवपटी र राजदेवी नगरपालिकाको मुडवलवामा आयोजित शिविरमा पाँच सय तीन जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क रूपमा औषधिसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जसमा महादेवपटीमा दुई सय ५२ र मुडवलवामा दुई सय ५१ बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको थियो।

गत असारको अन्तिम साता बाग्मती र लाल बकैया नदीमा आएको भीषण बाढीका कारण बस्तीहरू डुबानमा परेर भण्डारण गरिएको खाद्यान्न, लताकपडा नष्ट हुनुका साथै चापाकलमा समेत बाढीको पानी पसेर दूषित भएपछि प्रभावित बस्तीमा विभिन्न रोगव्याधिको महामारी फैलिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै नेपाल प्रहरी अस्पताल काठमाडांैबाट आएको दक्ष चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए। शिविरमा आउनेहरू ज्वरो, झाडापखाला, रुघाखोकी, छालारोगलगायत रोगबाट ग्रसित हुने बढी रहेको उनको भनाइ छ।
 

नेपाल प्रहरी अस्पताल काठमाडौबाट चिकित्सक डिएसपी अर्जुन डुमरेको नेतृत्वमा नौ सदस्यीय टोलीले बाढीप्रभावित बस्तीमा शिविरको माध्यमबाट पीडितहरूलाई स्वास्थ्य उपचार गरिने कार्य भइरहेको तथा भोलि ७ गते अति प्रभावित क्षेत्र दुर्गा भगवती गाउँपालि–५ बडहवा र ईशनाथ नगरपालिका–३ औरैयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एसपी खत्रीले बताए।

यसैगरी ३६औं बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले जिल्लाको गढीमाई नगरपालिका–३ गम्हरियामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर चार सयजनाको स्वास्थ्य परीक्षण गरेका छन्। बाग्मती नदीका बाँध फुटेर बस्तीमा बाढीको पानी पस्दा ठूलो क्षति भएको थियो। प्रभावित बस्तीमा आयोजना गरिएको शिविरमा ज्वरो, पखाला, पेट दुख्ने, ग्यास्ट्रिक, छाला रोग, ढाड दुख्नेलगायत बिरामीको स्वास्थ्य परीक्षण गरिएको विद्यार्थी नेता सुमन गौतमले बताए।
शिक्षण अस्पतालबाट डा. सागर अधिकारीको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले बिरामीको जाँच गरेका हो। सो शिविरमा नेविसंघका पूर्वमहामन्त्रीत्रय मनोजमणि आचार्य, प्रतिमा गौतम र दीपक भट्टराई, गढीमाईका मेयर श्यामप्रसाद यादवको उपस्थिति थियो।

प्रकाशित: ७ श्रावण २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App