१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तिलगंगा २५ वर्षमा, ६० लाखको आँखा उपचार

काठमाडौं - तिलगंगा आँखा प्रतिष्ठानले स्थापनाको २५ वर्षमा ६० लाखको आँखा उपचार सेवा प्रदान गरेको छ। अस्पतालले सोमबार आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ। २५ वर्षको अवधिमा अस्पतालले ४ लाखभन्दा बढीको मोतीविन्दु तथा अन्य शल्यक्रिया गरेको छ। अस्पतालकी प्रबन्ध निर्देशक डा. रीता गुरुङ र अस्पतालका कार्यकारी प्रमुख डा. सन्दुक रुइतले २५ वर्षको यात्रामा प्रतिष्ठानले गरेको संघर्ष तथा उपलब्धि सुनाए।

अस्पतालले २५ वर्षको अवधिमा पु¥याएको गुणस्तरीय सेवा, सेवामा सबैको पहुँचको स्थिति, सेवामा आधुनिक व्यवस्थापन, प्राज्ञिक अध्ययन कार्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रंशसा गरे। ‘देशमा यति ठूलो सेवा पु¥याएर अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेवा पु¥याउने डा. सन्दुक रुइतलगयात सम्पूर्णलाई बधाइ दिन चाहान्छु,’ उनले भने। ओलीले थप प्रशंसा गर्दै भने, ‘अस्पतालको टोलीले हाम्रो गौरवपूर्ण पूर्खाको इतिहासलाई स्मरण गराएको छ।’ उनले अस्पतालले यति धेरै बिरामीलाई सेवा दिनु सामान्य नभएको बताए।

वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आँखा उपचारको क्षेत्रमा आवश्यक नीतिगत तथा अन्य सहयोगमा मन्त्रालयको सधैं सहयोग रहने प्रतिबद्धता जनाए। मन्त्री यादवले भने, ‘आँखा उपचारमा आवश्यक सहयोग सदैव मिल्छने।’

सन् १९९४ मा १२ जना कर्मचारीबाट तिलगंगा आँखा केन्द्रको रुपमा सेवा सुरु भएकोमा हाल अस्पतालमा ५ सय कर्मचारी कार्यरत छन् भने आँखा सेवाका सबैजसो विशिष्ट सेवा तथा प्राज्ञिक सेवा सुचारु छन्। दश वर्षअघि प्रतिष्ठानमा रुपान्तरण भएको सो अस्पतालले देशका विभिन्न क्षेत्रमा ३ सय २० वटा आँखा शिविर, १ लाख ८० हजारभन्दा बढी बिरामीलाई मोतीविन्दुको आधुनिक चिकित्सा पद्धतिबाट ज्योति प्रदान, ३ लाख ५० हजारभन्दा बढी विपन्न वर्गका आँखा बिरामीलाई सेवा प्रदान गरिसकेको छ। प्रतिष्ठानका १७ वटा सामुदायिक आँखा केन्द्र, हेटौंडामा सामुदायिक अस्पताल स्थापना, रामगोल्छा आँखा अस्पताल बिराटनगर, जानकी आँखा अस्पताल, गेटा आँखा अस्पताल धनगढीमार्फत सेवा प्रदान गरिरहेको छ।

हाल प्रतिष्ठानले आँखा स्वास्थ्यमा विशिष्ट सेवाअन्तर्गत आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस आँखाको नशा, आँखाको प्लास्टिक सर्जरी, बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर उपचार सेवा प्रदान गरिहेको छ। प्रतिष्ठानले अध्ययन तथ तालिम विभागअन्तर्गत आँखा सेवामा आवश्यक सबै जनशक्ति उत्पादन गरिहरहेको छ। जसमा अप्टोमेररिस्ट, सहायक आँखा स्वास्थ्य कार्यकर्ता, नेत्र रोग विशेषज्ञ, नेत्र सहायक, मेडिकल विद्यार्थी, नर्स, स्वयंसेविका, सामुदायिक स्वास्थ्य कार्यकर्ता, सामुदायिक आँखा हेरचाह व्यवस्थापकलगायत जनशक्ति उत्पादन गरिरहेको छ।

अस्पतालले हालसम्म स्वदेश तथा विदेशको गरी ६ सय ११ जना नेत्र विशेषज्ञ, ७ सय ३२ जना आँखा स्वास्थ्यकर्मी, १० हजार ३ सय ५ जना सामुदायिक स्वास्थ्य कार्यकर्ता, ६ हजार ९ सय १६ मेडिकल विद्यार्थीलाई तालिम प्रदान गरिसकेको जनाएको छ। त्यसैगरी अस्पतालले आँखाको नानी संकलन गरी दृष्टिविहीनलाई दृष्टि प्रदान गर्ने, स्वास्थ्य मन्त्रालयसँग मिलेर आँखा उपचारको नीति निर्माण, इन्ट्राअकुलर लेन्सको उत्पादन, सेवाको विद्युतीय अभिलेख व्यवस्थापन समेत प्रदान गरिरहेको छ।

त्यसै गरी समयअनुसार देखिने आँखाका रोगका बारेमा अनुसन्धान गरी जटिल रोगको निदान गर्न अनुसन्धान विभाग सफल भइरहेको प्रतिष्ठानले जनाएको छ। २ सय १० वटा परियोजनाका अनुसन्धान भइसकेको छ। अस्पतालले नवीनतम प्रविधिबाट सेवा दिन उत्तिकै सफल देखिन्छ। जसअनुसार हालै कन्ट्रयाक्ट सर्जरी सेवा पनि सुरु भएको छ। सेवामा गुणस्तर तथा दीगोपनाा अस्पतालको अर्को सफलता हो।

केन्द्र अब विश्व स्वास्थ्य संगठन समन्वय
प्रतिष्ठानले आँखा उपचार सेवामा पाएको गुणस्तर तथा संख्यात्मक सफलताको कदर गर्दै विश्व स्वास्थ्य संगठनले सोमबारदेखि प्रतिष्ठानलाई संगठनको समन्वय केन्द्रको मान्यता दिएको छ। यसअघि सार्क क्षयरोग सेन्टरलाई यो मान्यता प्रदान गरेको थियो। विश्व स्वास्थय संगठनका नेपाल निर्देशक डा. जोस भेण्डेयरले अस्पतालकी प्रबन्ध निर्देशक डा. रीता गुरुङलाई मान्तयाको पत्र हस्तान्तरण गरे।

पत्र हस्तान्तरण गर्दै संगठनका निर्देशक डा. भेण्डेयरले भने, ‘संरचनागत, सेवामा गुणस्तरीयता प्रदान गरेकाले संगठनले यो मान्यता दिएको हो।’ उनले थप भने, ‘विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको रुपमा पाउँदा खुशी छु।’ विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात् आँखाको प्रविधिक जनशक्ति उत्पादन र अनुसन्धान क्षेत्रको लागि मान्यता दिएको हो।

सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालका प्रमुख डा. सन्दुक रुइतलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए। अस्पतालको २५ औं वर्षको अवधिमा पर्याप्त रुपमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरेकोमा स्थापना दिवस समारोहमा सहभागी प्रधानमन्त्री, विश्व स्वास्थ्य संगठनका नेपाल निर्देशक डा. जोश भेण्डेयरले प्रशंसा गरे।

प्रकाशित: ७ श्रावण २०७६ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App