७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीलाई सिटौलाले भने, ‘कांग्रेस सकियो अब उठ्ँदैन भनेर भ्रममा नपरे हुन्छ’

रामेछाप– नेपाली कांग्रेसका शीर्ष नेता कृष्ण सिटौलाले वर्तमान गठबन्धनको सरकारले सत्तामा पुगेपछि सहमतिको भावनामा ठेस लगाएको बताएका छन्। सहमतिका आधारमा मुलुकमा संविधान जारी भएको उदाहरण दिँदै सिटौलाले सहमतिका कुरालाई वेवास्ता गर्दै सरकार अघि बढ्न खाजे मुलुकमा ठुलो दुर्घटना हुने दावी गरे। 

३७ औ बी पी जयन्तीको अवसरमा वी पी कोइराला प्रतिष्ठान रामेछापले आयोजना गरेको ‘वी पी न विगत न वर्तमान–एक अपूर्व विज्ञान’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा नेता सिटौलाले पछिल्लो राजनीतिक घटना क्रमलाई हेर्ने हो भने सहमति र सहकार्य गरेर अघि बढनुको अर्को विकल्प नै नरहेको बताए। 

उनले कांग्रेस सकियो अब उठ्ँदैन भनेर भ्रममा वर्तमान सरकार रहेकोले मुलुकमा समस्या निम्तिएको बताए। उनले नेपाली राजनितिको विभिन्न कालखण्डमा कांग्रेसले गरेको सरकारको नेतृत्वको स्मरण गर्दै सिटौलाले भने, ‘कांग्रेसको नेतृत्वमा बनेको सरकारले निकै उपलब्धीका काम गरेको थियो, तर वर्तमान सरकार यतिबेला सबैतिरबाट आलोचित त बनेको नै छ। आफ्नै भित्रबाट पनि सरकारको काम गराइप्रति विरोध आउनुले सरकारको हविगत छर्लंग भएको छ।’ सहमति र सहकार्यलाइ आत्मसात गर्दा कांग्रेसले उपलब्धी हाँसिल गरेको तर्फ उल्लेख गर्दै कांग्रेसले सहमति र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेकाले मात्र मुलुकले संविधान पाएको बताए। 

बीपीको योगदान चर्चा गर्दै नेपाली राजनितिमा विपीको विचार समय सापेक्ष रहेको र विपीको उचाइमा कुनै पनि नेपाली राजनितिज्ञ पुग्न नसकेको सिटौलाको भनाइ थियो।  श्री ५ हरुले (राजाहरुले)  कहिल्यै लोकतन्त्र नचाहेको उल्लेख गर्दै उनले मुलुकका अनेक परिवर्तनमा सक्रियता जनाइ मुलुकलाई यो अवस्थासम्म ल्याउनका लागि कांग्रेसको योगदान उच्च रहेको बताए।

सरकारको कामकार्वाहीको आलोचना गर्दै नेता सिटौलाले राजनीतिक आस्थाकै आधारमा सिंगो कर्मचारी संयन्त्रमाथि समेत सरकारले हस्तक्षेप गरेको आरोप लगाए। सरकारले कर्मचारीलाई राष्ट्रको सेवक नभइ कम्युनिस्टको सेवक बन्नुपर्ने बाध्यकारी अवस्था लाद्न खोजेको आरोप लगाए। आस्थाका आधारमा राज्यका सबै क्षेत्रमा दुःख दिन र हस्तक्षेप गर्ने कार्यमा सरकार लागि परेको सिटौलाको भनाइ छ।  

सिटौललो पार्टी भित्र बेथितिहरु रहेको र हुन नहुने कुराहरु भइरहेकाले पार्टीमा समस्या देखिएको बताए। उनले नेता र जिम्मेवारीमा रहेकाहरुले हिजोको गल्तिलाई सच्याउने संकल्प गर्न जरुरी रहेको बताए। उनले पार्टीमा आन्तरिक कमीकमजोरीहरु रहेकाले त्यसलाई सुधार्न जरुरी देखिएको बताए। उनले कांग्रेसले वीपीको विचारमा आज पनि हिँड्नु पर्नेमा जोड दिए। कांग्रेसीले सोच, व्यवहार, शैली, नीति र जिम्मेवारी परिवर्तन गरी नयाँपन दिन सोच्नु पर्ने आवश्यकता देखा परेको नेता सिटौलाको ठहर छ। संविधानको मौलिकतालाई जोगाउनका निमित्त कांग्रेसले आफ्नो स्पष्ट खाका बनाएर अघि बढनु पर्नेमा जोड दिए। 

कार्यक्रममा कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले विभिन्न चरणका आन्दोलनको उपलब्धीको रुपमा संविधान रहेको बताए। उनले संविधान कार्यन्वयन र संशोधनमा अहिले समस्या देखिएको बताए। सरकारका प्रधानमन्त्रीले विभिन्न वहानामा झुक्किए र झुक्याइयो भन्ने अभिव्यक्ति दिनु जनतालागि धोका रहेको बताए। घिमिरेले घरव्यवहार चलाउने साँद सिमाना चलाउने मुद्धा नभइ राज्य संचालन गर्ने मुद्धामा झुक्याइयो भन्नु लज्जाको विषय रहेको र नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनु पर्नेमा बताए। तर पनि पदको लुप्ततामा अनेक बहानामा टिकिरहेको आरोप लगाए। 

प्रकाशित: ६ श्रावण २०७६ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App