४ वैशाख २०८१ मंगलबार
राजनीति

विपीलाई यसरी सम्झिए शशांकले, नेतृत्व परिवर्तनका लागि तयार हुन आह्वान

नेपालगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएका छन्। नेतृत्व परिवर्तनका लागि सम्पूर्ण कार्यकर्ता एक हुनुपर्ने उनको भनाई छ। विपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा कांग्रेस बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने, ‘हाम्रो महाधिवेशन अब आउँदैछ, शेरबहादुर जी सायद फेरि लड्नु हुन्छ होला, हाम्रो तर्फबाट पनि एउटा उम्मेदवार तयार हुन्छ, महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नुपर्छ।’ 

नयाँ नेतृत्वले मात्र पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन सक्ने उनको तर्क छ। महाधिवेशनमा चुनाव पक्ष र विपक्ष भएर लडे पनि पार्टी एक हुनुपर्ने महामन्त्री कोइरालाको भनाई छ। पार्टीलाई बलियो बनाउन सबै एक ठाउँमा उभिनुपर्ने उनले जोड दिए। विपी पुत्र समेत रहेका महामन्त्री कोइरालाले विपीका विचारलाई पछ्याउन सके पार्टीलाई ठूलो उपलब्धी हुने विश्वास गरे। 

‘विपीको जीवन एकदमै कठिन थियो, धेरै त्याग र तपस्या गर्नुभयो’, उनले भने, ‘उहाँले आफ्ना कार्यकर्तालाई एकदमै सम्मान गर्नुहुन्थ्यो, बरु आजका नेताले कार्यकर्तालाई चिन्दैनन्।’ महामन्त्री कोइरालाले आफ्नो बाल्यकालमा पिता विपीसँगको केही अविष्मरणीय क्षण कार्यकर्तालाई सुनाएका थिए। 

अर्को प्रसंगमा उनले बर्तमान सरकार हरेक कुरामा चुकिसकेको बताए। सरकारले नै संघीयतालाई उपेक्षा गरिरहेको उनको आरोप छ। ‘वर्तमान सरकारले बजेटजति सबै केन्द्रमा थुपार्ने काम गरेको छ, स्थानीय र प्रदेश सरकारलाई सिमित बजेट दिएर संघियतालाई असफल पार्न खोज्दैछ’, कोइरालाले भने, ‘हुन त कम्युनिस्ट शासन भनेको केन्द्रिकृत नै हुन्छ।’ 

नागरिकले सरकारबाट शान्ति सुरक्षाको अनुभुती नै गर्न नपाएको उनले बताए। ‘निर्मला हत्या काण्डपछि देशमा कति काण्ड भए, तर वर्तमान प्रधानमन्त्री चाही पानी जहाज र रेलका कुरा गरेर जनतालाई आश्वासन बाँड्नुहुन्छ,’ उनले थपे। 

सो क्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डेले पार्टीका आम नेता, कार्यकर्ताले विपीको विचार र आर्दशलाई बोक्नुपर्ने बताए। विपीको विचार र आर्दशलाई बोक्न सके नेपाली कांग्रेस मात्र नभएर समग्र राष्ट्रलाई फाइदा पुग्ने उनको विश्वास छ। कांग्रेस बाँकेका सभापति किरण कोइराला, पूर्वसभापति सनत रेग्मी, प्राध्यापक अर्जुन पोखरेल लगायतले विपीको आदर्श र ब्यक्तित्वलाई पछ्याउनुपर्ने धारणा राखे। 

प्रकाशित: ६ श्रावण २०७६ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App