coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जाऔं है हेटौंडा

शरद ऋतुको आगमन । बर्षादको बिदाई । आनन्दमयी मौसम । चाड पर्वको बहार । चंचल मन । मनको वेग रोक्ने लगाम छैन । बेलगाम मनले साइकल डोहो¥्याउन उक्साउँछ । चन्द्रागिरी, चित्लाङ्ग, बज्रवाराहि, कुन्छाल हुँदै बाइरोडको बाटो पुगें । बाइरोडमा पाउदान घुमाउँदै दामन, सिमभञ्ज्याङ्गबाट लागें हेटौंडा ।

पालुङ्ग, दामन, सिमभञ्ज्याङ्गका जादुमयि दृष्यले मोहनी लगाउँछ । अघि बढ्दै जाँदा नयाँ नयाँ दृष्य देखिन्छ । भर्खरका दृष्य भर्खरै विगत भइदिन्छ । समय कति गतिशील । पल पल बर्तमानबाट बिगत भइदिन्छ । उकुस मुकुस उपत्यकाबाट यता आउँदा राहत महशुस हुन्छ ।


हेटौंडालाई केन्द्र मानेर मकवानपूर गढि, गुम्बा डाँडा, कुस्माण्ड सरोबर, सहिद स्मारक, त्रिखण्डि महादेव, भूटन देवी, चूरीया माई लगायत घुम्न सकिन्छ ।


सिमभञ्ज्याङ्गबाट अघोर तिर ओह्रालो लाग्दै छु । घाम भने बादलमा लुक्दै डाँडा पारी पुग्दैछ । बाक्लो बादलको एक लाप्सा पहाडको फेदिमा झरेको छ । बादलको छिद्रबाट घामको किरण फुत्किएर त्यो लाप्सामा ठोकिएको छ । सेतो बादलमा हल्का सिन्दुरे रंङ्ग पोतिन्छ । लाग्छ अस्ताउँदो घामको झुल्कोमा बादल लाजले लाल लाल भएको छ । कहिल्यै देखेको थिईन । केही मिटर अगाडि यस्तो बेजोड, मनमोहक दृष्य । आश्चर्य लाग्ने ।  

लामी डाँडा पुगेपछि सेताम्य काँसले स्वागत गर्छ । जति जति ओह्रालो लाग्यो शरिरले उष्ण वातावरण थाहा पाउँछ । भैंसे दोभान पुगे पछि खोला किनारै किनारै साइकल कुदाउन झन् रमाइलो । प्रकृतिको मायावी दृष्यले उत्ताउलिएको छु । मात्तीएको छु । पागल बनेर साइकल हुईक्याउदै छु । तर होस गुमाएको छैन ।

बजार पुग्दा साँझ निक्कै झमक्क हुन्छ । मन र मस्तिष्कमा भने अघिका दृष्य ताजै छन् । हेटौंडा बजारको लक्ष्मण साईकल स्टोर सजिलो अखडा भएको छ अरु साइकले भेट्ने । म सोझै उतै हानिन्छु । दुई दिन सँग सँगै साइकल चढ्ने योजना बन्छ ।
 

मनकामना

सबेरै ८– ९ जना चोकमा भेला भयौं । तीन जना लाग्यौं आमभञ्ज्याङ्गतिर । नरेश राजभण्डारी र शैलेश मानन्धरले भञ्ज्याङ्गसम्म साथ दिए । हेटौंडाका साइकल प्रेमीका सार्वाधिक मन पर्ने रुट । हेटौडा चोकबाट करिब ९ किमि पार गरे पछि भञ्ज्याङ्ग पुगिन्छ । हिउँद, बर्षा जुनसुकै बेला पनि रमाइलो छ । हिउँदमा पहेंल पूर तोरी फुल्दा को पो नलठ्ठीएला यहाँ ।
भञ्ज्याङ्गबाट सानो मनकामना हुँदै हेटौंडा निस्कने निधो गर्छु म । दुई सहयात्रीलाई समय अनुकूल छैन । उनीहरु जुन बाटो आयो त्यतै फर्के । मलाइ भने प्रायः आउँदा जाँदा एकै बाटो हिँड्न मन लाग्दैन ।  

सानो मनकामना जान सामरी खोला तर्नु पर्छ । राती पानी परेकाले खोलाको बेग अलि दह्रो छ । नरेशजी र शैलेशजी ले खोलाको किनारैसम्म पु¥्याए । किनारमा उभिएर खोला फिजारिएको ठाँउमा आँखा दौडाएं । मन आतुर छ सामरी पार गर्न । सलल्ल बगेको कञ्चन पानी । पिंध सम्म छर्लङ्ग देखिन्छ । साइकल काँधमा राखेर ओर्लिएं । बेग अलि दह्रो छ । नेपाल खाल्डोमा बस्नेको अहो भाग्य नै मान्नु पर्छ यति सफा खोलामा चोपलिन पाउनु ।

सामरी तरें । किनारमा सेताम्य फुलेका काँस  सिर्सिर हल्का हावाले हल्लाउँदा कोमल काँस घारीमा समुन्द्रमा उठेको लहरको आभाष दिन्छ । काँस घारी संगै जोडिएको तरेली मिलेका खेतको हरीयाली । बर्षादमा रुझेका पहाड । रातो माटे कच्ची बाटो । कति सुन्दर, शान्त, सौम्य ।

नागवेली बाटोमा पाउदान घुमाउँदै उकालो लागें । करिब ४१० मी. उचाई बाट करिब ७०० मी. पुग्नु छ । उकालो त्यति ठाडो छैन । जति जति उकालो लाग्यो त्यति त्यति रमाइलो । निक्कै अघि देखिको मनकामना डाँडा फन्को मार्ने साइत जु¥यो । भञ्ज्याङ्गबाट सानो मनकामनासम्म आइ पुग्दा करिब ४.५ कि.मी दूरी तय हुन्छ । हेटौडाबाट आम भञ्ज्याङ्ग हुँदै आरामसाथ जाँदा पनि दुइ घन्टामै पुगिन्छ मनकामना ।

मनकामनाबाट हेटौंडा झर्ने बाटा धेरै छन् । मन्दिरबाट अलि अगाडि माछा पोखरी, हेटौंडा बजार, चूरे पहाडको मोहक दृष्य देखिन्छ । सालघारीबाट ओह्रालो लागेर करिब ८ कि.मी तय गरे पछि पुनः हेटौडा बजार पुगिन्छ । करिब २२ कि.मी दूरी को एक फन्को मार्न साइकलेलाई २ घण्टा लाग्छ । ।  
 

शहिद स्मृती पार्क

हेटौंडाको हावापानी अलि उष्ण छ । दिउँसो साइकल कुदाउन मन लाग्दैन । साँझ दिपेन्द्र चन्द ठकुरी, लक्ष्मण ताम्राकार, रोजन भण्डारीसंग शहिद स्मृती पार्क जाने योजना । चार साइकले लाग्यौ हेटौडा चोकबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम । करिब ४.५ किमि दूरीमा पार्क । तीन किमि राजमार्ग तय गरे पछि दायाँ तर्फ करिब डेढ किमि उकालो चढ्नु पर्छ ।   
पार्कमा ठूलो पत्थरमा कुँदिएको शहिदका आकृती । मनै हर्ने फुलबारी । सानो चिढीया घर । बाल उद्यान । स्मारक स्तम्भ आदिले घुमफिरका लागि आकर्षक गन्तव्य बनेको छ स्मारक । वन भोजका लागि पनि टाढा टाढाबाट आउछन् यहाँ । खाना र नास्ता खाने ठाउँ छन पार्कमा ।

साइकल प्रेमीका लागि बजार फर्कदा पुनः त्यहि बाटो भएर फर्कनु पर्दैन । वैकल्पिक बाटा छन् । हामी डाङडुङ्गे हुँदै फर्कियौं । सानो पहाडी गाउँ । सुविधा युक्त, सफा बाटा । प्राय घरमा सानो भए पनि बगैंचा । पारीपट्टि चुरे, फेदिमा बग्ने राप्ती र फाँटको सुन्दर दृष्यले मन लोभ्याउँछ ।
 

मकवानपूर गढि  

दिपेन्द्र चन्द ठकुरी, सकुल श्रेष्ठ, सुनिल बज्राचार्य, लक्ष्मण ताम्राकार, पुरुषोत्तम पुडासैनी, रोजन भण्डारी सहित सात साइकले जम्मा भयौं । निर्धारित समयमै लाग्यौ माछा प्लान, चौघडा हुँदै चुच्चेखोला । आधा घण्टामा करिब सात किमि तय हुन्छ । खुवाको लागि प्रसिद्ध चुच्चे खोलामा चिया, पानी विश्राम पछि समय अनुकूल हुने चार जना दिपेन्द्र चन्दजी, लक्ष्मणजी र रोजन भाई लाग्यौ गढितिर । चुच्चेखोला कटे पछि १० किमि उकालो लाग्नुपर्छ । साल घारीको घुमाउरो बाटो । चराका चिर बिर । बीच बीचमा ससाना गाँउ बस्ती । उकालो लाग्दै जाँदा दक्षिण पूर्व तर्फ हटिया, हर्नामाढि  उत्तर पश्चिममा देखिने सामरी र राप्तीका फराकिला फाँट सबै दृष्य लोभ लाग्दा छन् । थकाइ नमारी बिस्तारै जाँदा २ घण्टा लाग्छ गढि पुग्न ।  
मनसुन सकिएको थिएन । आकासमा सेता टाटे पाटे बादल देखिन्छन् । लह लह धानका हरीया फाँटमा टम्म कुहिरो । उत्तर पट्टि गगन भेदि महाभारत श्रृखंला । दक्षिण तर्फ पूर्व पश्चिम छिचोल्ने चूरे । गढिबाट देखिने मनोरम उपत्यका । हरेक मौसमका लागि वातानुकुलित गढि । ऋतु अनुसार रुपरंग फेर्ने उपत्यका । लह लह गहुँ, आलुको बीचमा तोरी फुल्दा होस या पाक्दा । छुपुछुपु धान रोप्ने बेला होस या काट्ने, गह्राहरु बिछट्टै राम्रो देखिन्छ । सूर्यास्तमा मनै हर्ने दृष्य देखिन्छ ।
सिंढि चढेर माथि पुगे पछि गढिको ढुङ्गे पर्खाल देखिन्छ । पर्खाल बाहिरी भाग खाल्डोले घेरिएको छ । गढिलाई बाहिरी आक्रमणबाट बचाउन होला । गढिको मूल द्वारसम्म जाने काठे पुल छ । मूल द्वार सामन्ने वंशी गोपालको मन्दिर छ । मन्दिर पछाडि खण्डहर सेन वंशीय प्राचिन दरवार ।  

कुनै समय मकवानपूर समृद्ध राज्य थियो भन्ने प्रमाण यहाँको गढिले प्रमाणीत गर्छ ।  मकवानपूरमा सात पुस्ता शासन गरेका मध्य छैठौं सेन वंशीय राजा हेमकर्ण सेनकी छोरी इन्द्र कुमारीको विवाह नेपालका राष्ट्र नायक पृथ्वी नारायण शाह सँग भयो । एतिहासिक महत्वको सेन वंशीय दरबार खण्डहर बनेको छ । शताब्दीयौं देखि नेपालीे इतिहासको साक्षि बिस्तारै नामेट हुँदै छ । गह्रौ मन लिएर पुनः फर्कियौं हेटौंडा ।
 

गुम्बा डाँडा

गुम्बा डाँडा (६३० मिटर) हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण झल्कने घरहरु । यहाँको साइकल यात्राको अनुभव बेजोड छ । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ ।

मलाई दिपेन्द्र चन्द ठकुरीले पुनः साथ दिए साँझ । बिभिन्न देशका कलाकारले त्यहाँ ढुँगामा मूर्ति कुँदेका छन् । पर्यटकीय उद्देश्य पुरा गर्न पूवाधार तयार गर्नु पर्ने देखिन्छ । विश्राम स्थल, कुन देशको कलाकारले के बनाएको व्याख्या, सूचना, आकृतीका परिचय व्यवस्था गर्न सके राम्रो हुन्छ । कला उद्यान संरक्षण र हेरचाह अभाव छ ।
पर्यटकीय गन्तव्य बनाउन प्रचार प्रसार, खाने बस्ने व्यवस्था आबश्यक छ । होमस्टे व्यवस्था गर्ने कि ! गर्मी छल्न सिमावर्ती पर्यटक भित्राउन सकिने सम्भावना छ ।
 

अन्तमा
हेटौंडालाई केन्द्र मानेर मकवानपूर गढि, गुम्बा डाँडा (मूर्तीकला उद्यान), कुस्माण्ड सरोबर, सहिद स्मारक, त्रिखण्डि महादेव, भूटन देवी, चूरीया माई लगायत ठाँउ घुम्न सकिन्छ । जिल्ला पर्यटन समितिले बस्ने, खाने, घुम्न जाने पर्यटकीय गन्तव्यका जानकारी, पर्यटकीय नक्सा, उपलब्ध गराउने तथा भरपर्दो यातायातको सहज सुविधा भए छोटो बसाइको लागि हेटौंडा उपयुक्त गन्तब्य बन्न  सक्छ ।

विदेशिएका युवाले रेमिटेन्सलाई टेवा दिएकाछन् । रेमिटेन्स उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सकिएको छैन । कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानीका अबसर आकर्षित गर्न सके रोजगारी सिर्जना तथा समग्र क्षेत्रको दिगो बिकास संभव हुन्छ ।
साइकल प्रेमीहरुलाई सहज सुविधा उपलब्ध गराउन लक्ष्मण साइकल स्टोरका लक्ष्मण ताम्राकार साइकल भाडामा दिने तयारी गर्दै छन् । शुभकामना !

basnyatdev@gmalif\.com

 

प्रकाशित: २० कार्तिक २०७३ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App