६ वैशाख २०८१ बिहीबार
अन्य

पहाडमा साइकल पर्यटन

कन्याम चियाबारीका गोरेटा–गोरेटामा साइकलमा फन्का लगाएपछि विश्व साइकलयात्री पुष्कर साह भन्दैथिए, ‘अहिलेसम्म संसारका सयौं पहाड र हिमालमा साइकल कुदाइयो तर देशभित्र चाहिँ पूर्वी पहाडमा जस्तो आनन्द कहीं पाइएन ।’ दर्जनभन्दा धेरै गाउँमा साइकल कुदाएर २ दिनमा सदरमुकाम आइपुगेपछि पनि उनले थपे, ‘इलामका सबै गाउँ साइकलमै घुम्न खोजे पनि सकिने रहेछ ।’

‘पहाडमा साइकल पर्यटन’ सम्भावना पनि मेची र कोसीका पहाडमा उच्च देख्छन् उनी । विश्व पर्यटन दिवसमा शाह सहितका युवा मेची र कोसीका पहाड पसेका थिए । हामीले उनीहरुलाई कन्याममा स्वाग ग¥यौं । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली, सूर्याेदय नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र भट्टराई र होटल एसोसिएसन अध्यक्ष टीका ओडारीले स्वागत गरेपछि ८ युवा साइकलमा गाउँ पसे ।

‘साइकलयात्री आउँदैछन्’ भन्ने थाहा पाएर महिना दिनदेखि गाउँ सजाउन जुटेका गाउँले फूलमाला हातमा बोकेर सडकमा कुरि बसेका थिए । अक्करमा साइकल कुदाएको देख्दा उनीहरु अचम्मित भए ।

कन्याम चियाबारीका थुम्काथुम्कीमा साइकल कुदाउँदाको दृश्य रोचक देखियो । स्थानीय हरि निरौला भन्दै थिए, ‘पहाडमा पनि यति राम्ररी साइकल कुद्छ भन्ने देखेको त होइन, सोचेको पनि थिइनँ ।’

राष्ट्रिय झन्डा साइकलमा ठड्याएर शाह अघि लागे । उनलाई पछ्याए  इलाम, बाँझो गाउँका आकाश लिम्बू र विकास लिम्बू, खोटाङका दिलकुमार राई, सुनसरीका कृष्ण केसी, सदिउर घले र विनु राई तथा बाराका सुजन चौधरीले । उनीहरूलाई १० किलोमिटर फिक्कलसम्म साथ दिन कन्याम र फिक्कलका युवाले मोटरसाइकल ¥याली गरिहाले ।  

फिक्कलबाट ३६ किलोमिटरमा पर्ने जमुनासम्म कच्ची सडकमा साइकलको टायरले छुनेबित्तिकै हिलो सुरु भइहाल्यो । पुष्करले साथीहरूलाई भने, ‘अब चाहिँ मज्जा आउने रैछ ।’ कच्ची सडक, त्यसमा पनि नयाँबजार (२००० मिटर) पुग्दा उनीहरू केही थकित त देखिए तर साइकलमा रौसिनुको मज्जा पनि यहाँजस्तो अरूतिर कहाँ पाइन्थ्यो र ! कृष्णले सम्झिए, कुनैबेला हामीलाई साइकलले बोक्यो, कुनैबेला हामीले साइकल । तर, ज्यादै रोचक र सम्झन लायक यात्रा थियो त्यो ।’

उनीहरू त्यसदिन बाँकी १८ किलोमिटरमा रहेको जमुनास्थित ढापपोखरी पुग्ने योजनामा थिए । तर, त्यही त हो, साइकलमा हिँडेपछि बाटामा भेटिएका अनौठा ढुंगादेखि छाँगा–छहरा, फाँट, चियाबारी र अलैंचीबारीले मोहनी लगाइहाल्थ्यो । अनि, साइकलबाट ओर्लिएर रमाउँदा समय बितेको पत्तै भएनछ । पर्यटनको अर्गानिक गन्तव्य नयाँबजार पुग्दा उनीहरूले स्थानीयको मीठो स्वागत पाए । चाख्न पनि भ्याए– तोङ्बा, सुँगुरको मासु, लोकल रक्सी ।

‘साइकलयात्री आउँदैछन्’ भन्ने थाहा पाएर महिना दिनदेखि गाउँ सजाउन जुटेका जमुनाबासी फूलमाला हातमा बोकेर बसेका थिए । साँझसम्म पर्खेका जमुनाबासी भोलिपल्ट पनि अझ उत्साहसाथ अघिल्लै दिनजसरी सडकमा लाइन लागिहाले । उनीहरुले कतै घरभित्रै पाइला टेकेर ‘पवित्र’ बनाइदिन्छन् कि भनेर तातोपानी, चिया र तोङ्बासमेत ठिक नपारेका होइनन् ।

२ दशकदेखि सदरमुकाम बसेका जमुनाका विप्लव भट्टराई र रमेश भट्टराईको पनि साइकलयात्रीलाई स्वागत गर्ने तयारीका लागि ३ महिनादेखि गाउँ आउ–जाउ बाक्लिएको थियो । ढापपोखरी चन्द्रपाल थेवे संरक्षण तथा पर्यटन विकास समिति अध्यक्ष विप्लव गाउँको पर्यटन प्रवद्र्धनमा खुब चासो दिन्छन् । इङ्लाका उमेश गुरुङ अरूलाई हौस्याउने गरी टेलिफोनमा भन्दैथिए, ‘साइकलयात्री पाहुनाको स्वागतका लागि १२–१५ हजार मान्छे गाउँमा भेला भएका छन्, ५ किलोमिटरदेखि सडकमा फूलमाला बोकेका गाउँले उभिएका छन् । तपाइँ नआएर ठूलो अवसर चुकाउनुभयो ।’

ढापपोखरीमा साइकल टोलीले फन्को मार्दा जमुना, माबु, प्याङ, जोगमाई, माइमझुवा र सुलुबुङमात्र होइन, नयाँबजार र गोर्खेदेखि आएका गाउँलेले अचम्मै माने । ल्यान्डरोभर गाडीसमेत मुस्किलले पुग्ने यी गाउँमा साइकल पर्यटन कल्पनासम्म नगरेको बताउने जोगमाईका रणबहादुर राईले भने, ‘संसारमा असम्भव केही छैन भनेको सुनेको थिएँ, हो रहेछ ।’ साइकलयात्री सुजन चौधरीले गाउँलेकै बीचमा साइकल ‘स्टन्ट’ देखाउँदा त झन् उनीहरूको अचम्मको सीमा नाघिसकेको थियो ।

साइकलयात्री त्यही साँझ सदरमुकाम फर्किए । भोलिपल्ट सदरमुकामस्थित इलाम उद्योग वाणिज्य संघ, पर्यटन सरोकार समिति, यातायात–होटल व्यवसायी, मेची पहाडीका पदाधिकारीमात्र होइन, स्थानीय सर्वसाधारण र बिब्ल्याँटे बजारबासीले समेत उनीहरूको भव्य स्वागत गरे । सदरमुकामको जिरो किलोमिटरदेखि बिब्ल्याँटेसम्म ५ किलोमिटरमा मोटरसाइकल र साइकल ¥याली गरियो । यहाँका बासिन्दाले पनि घर–घरका पेटी र सडकछेउमा फूल, घडा सजाएर स्वागत गरे ।

त्यसपछि पाँचथर सीमावर्ती राँके बजारमा ‘आमसभाजत्तिकै’ समारोह गरियो । साइकलयात्री कच्ची सडक यात्रा गर्दै त्यसदिन पाँचथरको दुर्गम ग्रामीण क्षेत्र घुर्बिसे पञ्चमी पुगे । भोलिपल्ट रबि बजार हुँदै लिम्बा गाविसको लेकगाउँ बास बसेका उनीहरू त्यसको भोलिपल्ट धनकुटाको छ नम्बर बुधबारे बसेर पर्सिपल्ट भेडेटार हुँदै धरान पुगे ।

शाहसहितका युवा पूर्वी पहाडका हिलाम्य कच्ची सडकमा ‘पिडौंला फर्काउँदै’ प्याडल मारिरहेको देख्दा उत्साही नहुने कोही थिएनन् । पुष्करलाई कतिपय ठाउँमा त साइकलकै लागि किन यत्रो धेरै उत्साह होला भन्ने पनि नलागेको होइन । तर, उनी पनि त्यही उत्साहले यहाँसम्म पुगेका रहेछन् । उनले भने, ‘पूर्वेलीको स्वागतले यति गद्गद् बनायो कि, उनीहरूसँग छुट्टिएपछि साइकल कुदाउन शरीरमा ठूलो बल भरिएजस्तो लाग्थ्यो ।’

इलामदेखि पाँचथर, धनकुटा र सुनसरीका पहाडी क्षेत्र घुमेका पुष्करले आफूहरू घुमेका सडक साइकल यात्राका लागि ज्यादै उपयुक्त रहेको बताए । ‘साइकललाई धेरै राम्रो बाटो चाहिन्न,’ रमाउँदै उनले सुनाए, ‘सडक ओभानो मात्रै बनाउन सके ल्यान्डरोभर नै नपुग्ने कच्ची सडक भएर पहाड चढ्न सकिन्छ । माउन्टेन बाइक त पहाडकै लागि बनेको हो नि !’

कन्यामबाट धरान पुग्दा उनीहरूले करिब ९० किलोमिटर यात्रा सिध्याए । गाडीमा नपाइने आनन्द साइकल चढेर पाएको अनुभव पुष्करले सुनाए । ‘गाडीमा चढेका बेला कुनै अनौठो र रमणीय ठाउँ देखियो भने करिब २–३ सेकेन्ड हेर्न सकिएला तर साइकलमा भएका बेला घन्टौं रमाउन सकिन्छ, छाँगा–छहरासँग लुकामारी खेल्दै हिँड्नुको मज्जा लिन साइकलजस्तो उपयोगी साधन अरू के होला ।’

अर्गानिक कृषि, चिया, जडीबुटी, जैविक विविधता र हिमशृंखलाले पर्यटक लोभ्याउने पूर्वी पहाडमा ‘साइकल पर्यटन’ सम्भावना खोजी गर्न उनीहरूले व्यक्तिगत रूपमा साइकल यात्रा गरेका हुन् । शाहले पूर्वका पहाडी गाउँहरूमा साइकल कुदाउने पर्यटक निकै आकर्षित हुने सम्भावना रहेको बताए ।

पूर्वमा वर्णन गरेर नभ्याइने सौन्दर्य रहेपनि पर्यटक आकर्षित गर्न नसकिएको उनले सुनाए । इलामको पर्यटनको सम्भावना चियामा मात्रै नभएर चोयाटार वनमा पाइने विश्वकै दुर्लभ रेडपान्डा, पूर्वी पहाडी जिल्लाको पहिचानै लाग्ने बादलको रंगीन विविधता, झरनाको गीत, तोङ्बा, सुँगुरको मासु, जातीय खानेकुरा र पहिरन बेच्न स्थानीय सरोकारवाला नै लाग्दामात्रै सम्भव हुने सुझावसमेत उनले दिए ।

तीन वर्ष अघि पनि पुष्कर साइकलमा इलाम आएका थिए । दार्चुलाबाट ४५ दिनको हिमाल–पहाड साइकल यात्रा सकेर ०७० जेठ १३ मा इलाम आइपुगेका थिए । पहाडी र हिमाली जिल्लामा साइकल पर्यटनको सम्भावना खोजी गर्न आयोजित ‘टुर डे ग्रेट हिमालय ट्रेल’ का क्रममा थिए शाह । त्यतिबेला उनीहरूले १ हजार आठ सय ३० किलोमिटर यात्रा गरेका थिए ।
    यसपाली साइक्लिङ धरान र टस्क माउन्टेन बाइकले व्यवस्थापनमा सघाएका थिए । साँच्चै  विश्व साइकल यात्रीको टोलीले पूर्वेलीलाई झक्झक्याएको छ । अब साइक्लिङ पर्यटनमा जोड दिनु पर्छ ।   


............
इलामको कन्याम, बरबोटे गाउँ (कच्ची सडक), इलाम बजारमा साइकल कुदाउँदै पुष्कर साहसहितका युवा । बिब्ल्याँटेमा साइकल स्टन्ट देखाउँदै साइकलयात्री सुजन चौधरी । साइकलयात्रीलाई इलाम बजारमा स्वागत गरिँदै । साइकलयात्रीका लागि राखिएका कलस ।

तस्बिरहरू ः भीम चापागाईं÷नागरिक

प्रकाशित: २० कार्तिक २०७३ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App