७ वैशाख २०८१ शुक्रबार
कला

चुराको व्यापार घट्यो

काठमाडौं - साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेहन्दी लगाउने प्रचलन बढ्ने गरेको छ। हरियो पहिरन, चुरापोते र मेहन्दीले यसपटक साउनको व्यापारको रौनक बढाउन सकेको छैन्। साउन महिनामा हरियो पहिरन र चुरा लगाउने ट्रेन्ड स्थापित भइरहेको अवस्थामा यस वर्ष व्यापार बढ्न नसकेको व्यवसायीहरू बताउँछन्।

विगत १८ वर्षदेखि इन्द्रचोकमा चुरा बिक्री गर्दै आएका व्यवसायी बबी तुलाधरका अनुसार साउन महिना उत्कृष्ट भएपनि व्यापार बढ्न नसकेको छैन्। ‘साउन महिना व्यापारका लागि भ्याइनभ्याइ हुने महिना भएपनि यसपटक बिक्री हुन सकेको छैन्। यस महिनामा महिलाहरू हरियो पहिरन, चुरापोते र मेहन्दीमा देखिन मनपराउँछन्। यस वर्ष हरियो पहिरन, चुरापोते र मेहन्दीले साउनको व्यापारको रौनक बढाउन सकेको छैन्,’ उनले भने, ‘ यस पटक महिला र युवतीहरू हातभरी हरियो चुरा र मेहन्दीमा देखिने प्रचलन घटेको हुँदा व्यापारको माहोल बढ्न सकेको छैन्। बिस्तारै नेपाली संस्कृति मासिँदै गएको छ।’

महिला र युवतीहरू हातभरी हरियो चुरा र मेहन्दीमा देखिने प्रचलन घटेको हुँदा व्यापारको माहोल बढ्न सकेको छैन्। बिस्तारै नेपाली संस्कृति मासिँदै गएको छ।

अघिल्ला वर्षहरुको तुलनामा चुराको व्यापार ह्वात्तै घटेको अनुभव उनले गरेका छन्। न्यूरोड र असन क्षेत्रमा मेहन्दीको व्यापार हुन नसक्दा उनले नयाँ सामानहरू झिकाएका छैनन्। ५० रुपैयाँदेखि एक हजारसम्म मूल्य पर्ने विभिन्न डिजाइनका चुराहरू उनको पसलमा पाइन्छ। ‘गत वर्ष यो सिजनमा व्यापारीहरूलाई भ्याइनभ्याइ हुन्थ्यो। झण्डै ४ लाखसम्मको व्यापार हुने गरेकोमा यस वर्ष ५० हजार कट्न सकेको छैन्,’ उनले भने।
आधुनिकतासँग महिलाहरूले टिसर्ट र पाइन्टलाई प्राथमिकता दिएकाले चुराको व्यापार घटेको छ। इन्द्रचोक क्षेत्रमा कस्मेटिक सामग्री बिक्री गरिरहेका वैभव लक्ष्मी शृंगार पसलका दिनेशमान सिंह साउन महिनामा अधिकांश पसलहरूमा ग्राहकको घुइँचो लाग्ने नसकेको बताउँछन्। उनले पसलमा ५० देखि आठ सयसम्मका चुराहरू बिक्रीका लागि राखेका छन्। ‘चुरापोते र मेहन्दीको व्यापार गर्ने व्यवसायीहरू फुर्सदमा छन्। साउन महिनालाई केन्द्रित गरेर झिकाइएको सामानहरू स्टोरमा थन्किएका छन्। टिसर्ट र पाइन्ट लगाउने संस्कारले प्राथमिकता पाउँदा व्यापार ओरालो लागेको हो,’ उनी भन्छन्।

मखनमा कस्मेटिक पसल सञ्चालन गरिरहेकी शोभा मानन्धर साउनमा सामान्य व्यापारपनि बढ्न नसकेको देखेर आश्चर्यमा छिन्। ‘चुराको बिक्री गर्न र लगाइदिने काममा भ्याइनभ्याइ हुन्थ्यो। यतिबेलासम्म बालिकादेखि युवती तथा वृद्धसम्मका महिलाले हरियो चुरा लगाएका छैनन्। साउनको पहिलो सातासम्म व्यापार बढ्न सकेको छैन्,’ उनी भन्छिन्।

असारको अन्तिम दिनदेखि साउन पहिलो सातासम्म चुरापोते र मेहन्दीको उच्च मात्रामा कारोबार हुनुपर्ने व्यापारीहरू बताउँछन्। अघिल्लो वर्षको तुलनामा व्यवसायमा मन्दी आएको उनीहरूको अनुभव छ। इन्द्रचोकमा रहेको शोरम कस्मेटिककी सञ्चालक संगीता श्रेष्ठका अनुसार व्यापार बढ्न नसक्दा धेरै व्यापारीहरू फुर्सदमा छन्।  ‘असार १५ देखि व्यापार हुनै छाडेकोजस्तो भएको थियो। पछिल्लो तीन दिन एक्कासी व्यापार बढेकोजस्तो महसुस गरेको छु,’ उनले भनिन्। तीन दिनमा उनले ८० हजारको चुरा बिक्री भएको बताइन्।

इन्द्रचोक क्षेत्रमा चुरा किन्न पुगेकी जोरपाटीकी खुद्रा व्यापारी इन्दु दंगाल व्यापार हुन छाडेकाले कम सामान लागुपर्ने अवस्था रहेको बताउँछिन्। ‘खुद्रा पसलमा सामान हेर्न आउनेको भीड बाक्लो भएपनि सामान बिक्री हुन नसक्दा कम सामान लागे सोचमा यहाँ आइपुगेकी छु। यस सामान सकिने बेलामात्र फेरि आउनुपर्ला,’उनी भन्छिन्।

अर्का ओमप्रकाश साह हातमा मेहन्दीले फूलबुट्टा भर्ने गर्छन्। उनीसँग सीप भएपनि मेहन्दी लगाउने मान्छेहरू अभाव भएको बताउँछन्। उनले आफ्नो गुनासो पोखिहाले, ‘गत वर्ष दैनिक १ सयभन्दा बढीको हात मेहन्दीबाट विभिन्न बुट्टा कोरिन्थ्यो। अहिले मुस्किलले दिनमा १० जनापनि पुग्दैनन्।’

न्यूरोडमा भेटिएका हरिभक्त साह मेहन्दी लगाउन आउने मान्छेको पखाईमा थिए। ‘अहिले मुस्किलले ५ जनाले मेहन्दी लगाएर गएका छन्,’ उनले भने, ‘म जस्तै मेहन्दी लगाइदिन बाटोमा बस्ने सयौं छन्। तर, दिनमा १० जनाभन्दा बढी मेहन्दी लगाउन आउँदैनन्।’ उनले मेहन्दी लगाएको १ सय रुपैयाँ लिने गरेको बताउँछन्। ठाउँठाउँमा ब्युटी पार्लर भएकाले पनि बाटोमा मेहन्दी लगाउन आउनेहरुको संख्या घटेको उनको बुझाई छ।

प्रकाशित: ६ श्रावण २०७६ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App