७ वैशाख २०८१ शुक्रबार
खेल

श्रीलंकाली प्रशिक्षकलाई हटाउन निर्देशन

चण्डिका हाथुरुसिंघा ।

कोलम्बो (एएफपी)– श्रीलंकाको खेलकुद मन्त्रालयले गत विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण लिग चरणबाटै बाहिरिएपछि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघालाई बर्खास्त गर्न निर्देशन दिएको छ।

श्रीलंकाली क्रिकेटका एक अधिकारीका अनुसार टोली प्रशिक्षक चण्डिका र उनका सहायकलाई बर्खास्त गर्न निर्देशन दिएको दाबी गरेका छन्। विश्वकपको लिग चरणका ९ खेलमा श्रीलंकाले तीन जित मात्र हात पार्दा सेमिफाइनलमा स्थान बनाउन असफल भएको थियो। प्रमुख प्रशिक्षक चण्डिकासँगै उनका सहकर्मीलाई बंगलादेशविरुद्धको एकदिवसीय शृंखलापश्चात् बर्खास्त गर्न खेलकुद मन्त्रालयले निर्देशन दिइसकेको श्रीलंका क्रिकेट बोर्डका एक अधिकारीले बताएका हुन्।

श्रीलंकाले घरेलु मैदानमा तीन एकदिवसीय क्रिकेट खेल्दै छ। पछिल्ला समय श्रीलंकामा हिंसात्मक घटना भएपछि पहिलो पटक कुनै पनि देश त्यहाँ प्रतियोगिता खेल्ने आएको हो। उक्त द्वन्द्वमा २ सय ५८ जनाको मारिँदा ४५ जना विदेशी थिए। तर, पनि श्रीलंकाले बंगलादेशलाई घरेलु मैदानमा खेलाउन सफल भयो। यद्यपि, यो शृंखलापछि भने श्रीलंकाले आफ्नो प्रशिक्षण टोली परिवर्तन गर्ने योजना चर्चा चलिरहेको छ।

श्रीलंकाका खेलकुदमन्त्री हरिन फर्नान्डोले नै विश्वकपलगत्तै प्रशिक्षकलाई हटाउने चाहना बनारहेका थिए। ‘विश्वकपको नतिजापछि नै मन्त्री फर्नान्डो प्रशिक्षकलाई बर्खास्त गर्ने योजनामा थिए,’ ती अधिकारीले भने, ‘तर यस पटक बंगलादेशसँगको शृंखलापछि नै बर्खास्त गर्न निर्देशन दिएका छन्।’

पछिल्लो समय दबाबमा रहेका प्रशिक्षक चण्डिकाले भने केही हप्ताअगाडिदेखि नै आफ्नो सम्झौता अवधिसम्म आफू रहने दाबी गर्दै आइरहेका छन्। ‘मेरो सम्झौताअवधि अझै १६ महिना बाँकी छ,’ प्रशिक्षक चण्डिकाले भने, ‘मलाई आशा छ, त्यो अवधिसम्म म रहनेछु।’ प्रशिक्षक चण्डिकाले टोलीका व्यवस्थापकहरूले पनि हारको जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन्।

यता, बंगलादेशसँगको शृंखलामा राम्रो नतिजा दिन सके प्रशिक्षक चण्डिकालाई पनि केही राहत मिल्नेछ। श्रीलंकाले घरेलु मैदानमा पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार अन्तिम खेल कोलम्बोस्थित प्रेमादासा रंगशालामा बुधबार (जुलाइ ३१) मा  खेल्नेछ।

त्यसपछि प्रशिक्षक चण्डिकासँगै फिल्डिङ प्रशिक्षक स्टिभ रिक्सन, ब्याटिङ प्रशिक्षक जोन लिविस र तीव्र गतिका बलर रुमेश रत्नायकेलाई पनि हटाउने तयारी भइरहेको छ। बंगलादेशमा तीन वर्षको प्रशिक्षण अवधि राम्रो बनाएका चण्डिका सन् २०१७ मा श्रीलंका आएपछि भने घरेलु टोलीको क्रिकेट धराशयी बन्दै गएको छ।

प्रकाशित: ६ श्रावण २०७६ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App