coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पहिलो चरणमा स्थलगत अध्ययन

अन्वेषण थालिएको दैलेखको ज्वाला क्षेत्र पञ्चकोशी। तस्बिर : गोविन्द केसी/नागरिक

दैलेख – एक महिनादेखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणमा जुटेको चिनियाँ र नेपाली भू–गर्भविद्को टोली स्थलगत अध्ययन गरी फर्केेको छ।

स्थलगत अध्ययन दुई वर्ष र विश्लेषण र रिपोर्ट तयार गर्ने समय एक वर्ष गरी तीन वर्षभित्र अन्वेषण कार्य सकेर टोलीले नेपाल सरकारलाई रिपोर्ट दिने कार्ययोजना छ। टोलीले पहिलो चरणको अन्वेषण एक महिना लगाएर सकेको जनाएको छ।

पहिलो चरणको अन्वेषणमा पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने लक्षण देखिएको टोलीले बताएको छ। पहिलो चरणमा भू–गर्भविद्हरूले भौगोलिक स्थलगत अध्ययन, हिँड्ने बाटो र सडकको अध्ययन, क्याम्प कहाँ राख्नेलगायतका कुरा अध्ययन गरेको भू–गर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताए। ‘पहिलो चरणको अध्ययन सकिएको छ,’ रजौरेले भने, ‘अब अर्को चरणको अन्वेषण गर्न ६ महिना लाग्नेछ।’

पहिलो चरणमा सर्वेक्षण तयारीका लागि स्थलगत अध्ययन भ्रमण गरेर नेपालका धेरै स्थानहरूमा टोली पुगेको रजौरेले बताए। अबको दसैंपछि मात्र अन्वेषणको काम सुरु हुने भू–गर्भ विभागले जनाएको छ। दसैंपछि सुरु हुने अन्वेषण कम्तीमा ६ महिनाको हुनेछ। त्यसक्रममा जमिनमुनि कहाँ डिल (कुवा खनेर हेर्ने) गर्ने भन्ने पत्ता लगाई कम्तीमा चार किलोमिटर जमिनमुनि खनेर कम्पन दिइने जनाइएको छ। डिल गरिसकेपछि कति भण्डारण छ भनेर पत्ता लाग्नेछ। अहिले जमिनमुनि कहाँ डिल गर्ने भन्ने पत्ता लागिनसकेको भू–गर्भ विभागले जनाएको छ। ‘जमिनमुनि कहाँ डिल गर्ने पत्ता लागेको छैन,’ परियोजना प्रमुख रजौरेलेले नागरिकसँग भने, ‘अब दसैंपछि ६ महिनासम्म हुने अन्वेषणपछि मात्र कहाँ डिल गर्ने र कति भण्डारण छ भनेर पत्ता लाग्नेछ। पेट्रोलियम पदार्थ छ भन्ने प्रमाण त दैलेखमा बलिरहेको ज्वाला नै हो।’

अन्वेषणबारे अनावश्यक हल्लाले पनि काम गर्न कठिनाइ भइरहेको भू–गर्भ विभागका एक कर्मचारीले बताए। दैलेखको पञ्चकोशी क्षेत्रमा तीन साता अघिबाट पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु भएको हो। अन्वेषणका क्रममा देशभर १० वटा ब्लक यसअघि नै नेपाल सरकारले बनाइसकेको छ। पाँच हजार स्वायर किलोमिटरको फरकमा १० वटा ब्लक बनाइएको हो, जो चुरेपहाडदेखि तराईसम्म र पश्चिमदेखि पूर्वसम्म रहेका छन्।

दैलेखमा मात्र तेल तथा ग्यास रहेको प्रमाणित भएकाले अन्वेषण यहाँबाट सुरु भएको भू–गर्भ विभागले जनाएको छ। चीनको चाइना जिओलोजिकल सर्भेको टोली र नेपालका भू–गर्भविद्को संयुक्त टोली अन्वेषणमा जुटेका हुन्।

प्रकाशित: ६ श्रावण २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App