coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

अस्वाभाविक मूल्यवृद्धि

विषादी परीक्षण र भारी वर्षाको कारण देखाउँदै बजारमा तरकारीको भाउ जुन हिसाबले बढाइएको छ, त्यो अस्वाभाविक छ। गत वर्षको तुलनामा तरकारीको मूल्य २ सय ९ प्रतिशतसम्मले बढ्नु आफंैमा आश्चर्यको विषय हो। त्यति मात्र होइन, गत साताको तुलनामा अहिले शतप्रतिशतसम्म तरकारीको भाउ वृद्धि हुनुले पनि यसलाई स्वाभाविक मान्न सकिँदैन। यसरी भान्सामा दैनिक प्रयोग हुने तरकारीको मूल्य जुन हिसाबले वृद्धि भएको छ, त्यसरी नै उपभोक्ता पनि दिनप्रतिदिन मर्कामा परेका छन्। भारतबाट आउने तरकारी विषादी परीक्षणबेगर ल्याउन नपाउने निर्णयसँगै वृद्धि भएको तरकारीको भाउ पछिल्लो समय भारी वर्षा भएपछि झनै बढ्न पुगेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको साउन ३ गते २२ रुपैयाँ किलो बिक्री भएको गोलभेडा यो वर्षको साउन ३ गते २ सय ९ प्रतिशतले बढेर ६८ रुपैयाँ किलो पुगेको हो। गोलभेडा मात्र होइन, अन्य तरकारीको अवस्था पनि उस्तै छ। तरकारीको भाउ दिन प्रतिदिन बढ्दै गएकोमा उपभोक्ता निरास छन्। बर्खा लागेसँगै तरकारीको भाउ अकासिएपछि उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएका हुन्। त्यसो त उत्पादनमा गिरावट र तयारीबिनै भारतबाट आयातित फलफूल तथा तरकारी परीक्षण गर्ने नियम लागू भएका कारण अधिकांश तरकारीको मूल्य बढेको व्यवसायीको तर्क भए पनि त्यो पत्यारलाग्दो छैन। बरु व्यवसायीहरूले भारतबाट आउने तरकारी रोकिएको बहाना बनाएर मूल्य बढाउन थालेका हुन्। अझै पछिल्लो समय बाढी आएपछि उनीहरूलाई झनै बढी बहाना थपिएको हो।  वर्षाका कारण गोलभेंडा, सिमी, बोडीलगायत तरकारी कुहिने तथा बिग्रने कारणले पनि थोरै मूल्य बढेको कुरालाई स्वाभाविक मान्न सकिएला। तर जसरी सबै किसिमका तरकारीको मूल्य बढेको छ, त्यसको पछाडि व्यवसायीहरूको कार्टेलिङ नै मुख्य कारण हो।

व्यवसायीहरूले भारतबाट आउने तरकारी रोकिएको बहाना बनाएर मूल्य बढाउन थालेका हुन्। अझै पछिल्लो समय बाढी आएपछि उनीहरूलाई झनै बढी बहाना थपिएको हो।  वर्षाका कारण गोलभेंडा, सिमी, बोडीलगायत तरकारी कुहिने तथा बिग्रने कारणले पनि थोरै मूल्य बढेको कुरालाई स्वाभाविक मान्न सकिएला। तर जसरी सबै किसिमका तरकारीको मूल्य बढेको छ, त्यसको पछाडि व्यवसायीहरूको कार्टेलिङ नै मुख्य कारण हो।

उपत्यकाभित्रका टनेलमा उत्पादित तरकारीले पनि काठमाडौंको बजारको ठूलो हिस्सालाई धानिरहेको छ। त्यसमाथि काठमाडौं आसपास काभ्रेको पाँचखाल, मकवानपुरको चित्लाङ र धादिङका विभिन्न क्षेत्रमा उत्पादित तरकारीको बजार पनि यहीं नै हो। र, ती स्थानबाट पनि तरकारी आइरहेका छन्। यो अवस्थामा भारतबाट आएको तरकारीको विषादी परीक्षणलाई मात्रै निहुँ बनाएर तरकारीमा अचाक्ली मूल्य वृद्धि गरिनुचाहिँ आश्चर्यजनक छ। त्यसैले पनि तरकारीको मूल्यवृद्धि हुनुमा बिचौलियाको भूमिका रहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन। अहिलेको अवस्थामा तरकारीको मूल्यवृद्धिले बिचौलिया मालामाल हुने तर त्यसको प्रत्यक्ष असर मध्यम र निम्नवर्गका उपभोक्तालाई बढी परेको छ।

त्यसो त धेरै मूल्य लिएर उपभोक्ता ठगेको आरोपमा सरकारले १९ तरकारी व्यापारीलाई कारबाही गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार गरेको अनुगमनमा बल्खु र कालीमाटीमा अस्वाभाविक मूल्य लिएको भेटेपछि ती व्यापारीलाई कारबाही गरिएको घटनाले पनि व्यापारीहरूले अनावश्यक हिसाबले मूल्य बढाएको र त्यसैका  कारण तरकारीको मूल्य अकासिएको प्रस्ट हुन्छ। धेरै मूल्य लिने र बिलबिजक जारी नगर्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको हो। जसअनुसार त्यस्ता व्यापारीलाई ५ हजारदेखि २० हजारसम्म जरिवाना गरिएको छ। यसरी कारबाहीमा पर्नेमा बल्खुका ११ र कालीमाटीका आठ व्यापारी छन्।अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा फेला परेका बिचौलियालाई समेत विभागको अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना गरेको थियो भने खरिद–बिक्री बिल र विवरण नभएका कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई १० हजार रुपैयाँका दरले जरिवाना गरेको थियो। अनुगमन टोलीले प्रत्येक स्टलमा तरकारीको मूल्यसूची राख्न र थोक बिक्री गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गर्नसमेत व्यापारीलाई निर्देशन दिएको छ। यो अवस्थामा सरकारले तरकारी बजारको प्रभावकारी अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्छ। अन्यथा विभिन्न बहानामा व्यापारीले मूल्य बढाइरहने तर उपभोक्ताचाहिँ चर्काे मूल्य तिर्न बाध्य भइरहने अवस्था रहिरहन्छ। त्यसैले पनि सरकारले तरकारीलगायतका दैनिक उपभोग्य वस्तुमा भएको कालोबजारीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्न जरुरी छ।
 

प्रकाशित: ६ श्रावण २०७६ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App