साउनको सार्थकता

सोमबार, ०६ साउन २०७६, ०८ : ४७ डा. नम्रता पाण्डे

साउनलाई भगवान् शिवको आराधना गर्ने र महिलाले व्रत बसी आफ्ना श्रीमान्को सुस्वास्थ्य र दीर्घायु कामना गर्ने अनि आफू पनि हरियो, पहेँलो पहिरन र शृंगारले सजिने महिनाका रूपमा चिनिन्छ। यसले प्राकृतिक रूपमा हरियाली भएको मौसम, सांस्कृतिक र धार्मिक दृष्टिले भगवान् शिवको महŒव दर्शाउँछ, तर यसको आध्यात्मिक पाटो पनि छ। मानिसको जीवन बहुआयामिक पक्षबाट चलेको हुन्छ, सांसारिक, भौतिक, सांस्कृतिक, धार्मिक, सामाजिक मान्यतासँगै आध्यात्मिक बोध पनि जोडिएर आएको हुन्छ। बोधबिना कुनै पनि प्रचलनको अर्थ रहँदैन। हाम्रो वास्तविक बोध, संस्कार र मर्यादा त ध्यान नै हो, जुन मनुष्यतालाई बचाइराख्न र पृथ्वीलाई जीवित राख्न आवश्यक छ। ओशोले आफ्ना हरेक प्रवचनमा र विशेषगरी शिवसूत्रमा भगवान् शिव र उनले दिएका ध्यान विधि र मानिसको जीवनमा यसको महŒवबारे बताउनुभएको छ।

साउनमा मात्र नभई बाह्रै महिना ध्यानको अभ्यास, भित्र ध्यान बाहिर प्रेम कायम राख्दै सत्कर्ममा कसरी जीवन बिताउने भन्ने विषयमा शिवले आफ्ना ध्यान विधिहरूमार्फत उल्लेख गर्नुभएको र त्यही सन्देश देवी पार्वतीमार्फत सारा मनुष्यलाई दिन खोज्नुभएको तथ्य ओशोले खुलस्त पार्नुभएको छ। ओशो भन्नुहुन्छ– ‘ध्यान त योगको आठौँ अंग हो। ध्यानसम्म पुग्न सातवटा सिँढी पूरा गर्नैपर्छ, अन्यथा एकैचोटि आठौँ सिँढी चढ्न खोज्दा लडिन्छ, दुर्घटना हुने सम्भावना रहन्छ।’ योगका ८ अंग छन्। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यानसम्म पुगेपछि मात्र मानिस समाधिमा प्रवेश गर्न सक्छ। अष्टांग योगका प्रथम ५ अंग (यम, नियम, आसन, प्राणायाम र प्रत्याहार) ले ‘बहिरंग’ अर्थात् हाम्रो बाहिरी आचरण शुद्ध र अनुशासनमा राख्न मद्दत गर्छन् भने बाँकी ३ अंग (धारणा, ध्यान, समाधि)ले ‘अन्तरंग’ अर्थात् हाम्रो आन्तरिक स्वभाव चिनाउन र जान्न सघाउँछन्। यमले ५ सामाजिक नैतिकता बुझाउँछ– अहिंसा(कसैलाई हिंसा पुग्ने काम नगर्नु), सत्य( विचारमा सत्यता, परम सत्यमा स्थिर रहनु, प्रामाणिक कुरा मात्र बोल्नु), अस्तेय (चोरी गर्ने प्रवृति त्याग्नु), ब्रह्मचर्य (चेतनालाई ब्रह्म ज्ञानमा स्थिर राख्नु र सबै इन्द्रीय(जन्य सुखलाई संयमपूर्वक भोग्नु)।        

नियम अन्तर्गत ५ व्यक्तिगत नैतिकता पर्छन्–  शौच (शरीर र मन शुद्ध राख्नु), सन्तोष (सबै काम र व्यवहार, सन्तुष्ट र प्रसन्न रहने गरी गर्नु), तप(स्वयंमा अनुशासित रहनु), स्वाध्याय (आत्मचिन्तन गर्नु) र ईश्वर प्रणिधान(ईश्वर अर्थात् अस्तित्वप्रति पूर्ण समर्पण र श्रद्धा हुनु)।  अब आसन ः योगासनद्वारा शारीरिक नियन्त्रण गर्नु अर्थात् शरीर स्वस्थ र मजबुत राख्नु। प्राणायाम ः श्वासको विधिद्वारा मन निश्चल बनाउनु। प्रत्याहार ः इन्द्रीयहरूलाई अन्तर्मुखी बनाउनु, चञ्चल मन र चित्तलाई एकाग्र बनाउनु। धारणा ः एकाग्र चित्त हुनु, आफ्नो मन वशमा राख्न सक्ने क्षमता बढाउनु। ध्यान ः विचारप्रति जाग्नु, होसपूर्ण हुनु र अन्तिममा समाधिमा प्रवेश गर्नु भनेको आत्मासँग जोडिनु, परम चैतन्य अनुभूति गर्नु हो। ध्यान विधि हो भने समाधि उपलब्धि। यी आचरण अर्थात् विधिलाई जीवनमा उतार्न सके मात्र भगवान् शिवप्रति सच्चा भक्ति ठहर्छ र स्वयंको जीवन पनि अनुशासित, आनन्दित, प्रफुल्लित र सफल भएको महसुस गर्न सकिन्छ।

बाहिरी शृंगार, मन्दिर दर्शन, उपासना र व्रतले मात्र न श्रीमान्को आयु बढ्छ न त स्वयंलाई दीर्घकालीन खुसी मिल्छ। दैनिक जीवनमा अपनाउनुपर्ने अनुशासन र आचरणसहित ध्यानस्थ अवस्थामा कर्म गर्ने खुबी राख्नु वास्तविक साधना पनि हो। ध्यानबिनाको खुसी र सफलता क्षणिक हुन्छन्। जतिबेला पनि आँखा चिम्लेर आसनमा बस्न जरुरी छैन, हरेक क्रियाकलापप्रतिको जागरुकता ध्यान हो। मनलाई जान्नु, यसको भड्काव, अस्थिरता र चञ्चलता मनन गर्दै आफ्नो स्वभावमा स्थिर हुने कला विकास गर्दै जानु ध्यान हो। ध्यानले नयाँ कुरा केही दिँदैन हामीलाई, तर हामीभित्रै भएको खजानाको बोध भने गराउँछ। ती हुन्– प्रेम, प्रफुल्लता, दया, करुणा, परोपकार, प्रसन्नता, होस, श्रद्धा। ध्यानले हामीलाई एकाग्रता अनि मौन, शान्त रहन सिकाउँछ। हामीमा संवेदनशीलता विकास गराउँछ, जसले गर्दा हामी आफ्ना समस्या र स्वार्थ मात्र हेर्दैनौँ, अरूका दुःख र संवेदना पनि बुझ्न सक्ने हुन्छौंँ। यही संवेदना विकास हुँदै गएर नै हामी परोपकार, समानता र समृद्धि एकसाथ अगाडि बढाउन सक्छौँ।

अकारण प्रेम, सारा जगत् र पदार्थप्रति प्रेम ध्यानको उपलब्धि हो। जुन शारीरिक मात्र नभई, आन्तरिक र प्रगाढ प्रेमका रूपमा प्रकट हुन्छ। यही अकारण प्रेमका कारण हामीमा कसैले केही देओस् भन्ने अपेक्षाभन्दा पनि कसैलाई केही गरौँ भन्ने करुणा भाव वृद्धि हुन्छ। अचानक, अकारण आनन्द, जे कुरामा पनि आनन्दको स्थिति, स्वीकारको अवस्था पनि ध्यानकै उपलब्धि हुन्। प्रज्ञापूर्ण जीवन जिउने प्रेरणा ध्यानबाटै प्राप्त हुन्छ। प्रवाहमय जीवनलाई सजग भएर हेर्ने, चुनौती सामना गर्ने र अपेक्षारहित हुने स्वभाव विकास हुनु नै प्रज्ञा प्राप्त हुनु हो। प्रज्ञावान् व्यक्ति अरूको आडभरोसामा होइन, आफ्नै अन्तर्दृष्टिमा बाँच्छ। आफ्नो अन्तर्मनलाई सुन्छ र मष्तिस्कबाट मात्र होइन, हृदयदेखि चल्छ। एक्लै हुनुसँग डराउँदैन, आफैँसँग रमाउँछ। आलसी र जीवनमा केही गर्न सकिएन भनेर हिम्मत हार्ने व्यक्तिलाई ध्यानले सिर्जनात्मक बनाउँछ। बाहिरी सफलता र सम्पन्नता भन्दा पनि भित्री सम्भावना देख्ने कलाको विकास हुन्छ। त्यसैले साउनको महिमा र भगवान् शिवको भक्तिमा डुब्दै गर्दा आफ्नो जीवनलाई सार्थक बनाउने ध्यान अभ्यास गर्ने प्रण पनि गरौँ। (सामाजिक परामर्शदाता)
 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad