coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौं मलको बोलपत्रबारे समितिको ध्यानाकर्षण

काठमाडौं - कर्मचारी सञ्चय कोषले काठमाडौं मल भाडामा दिने विषयमा बोलपत्र नगरेपछि छिटो बोलपत्र गर्न संसद्को सार्वजनिक लेखा समितिले ध्यानाकर्षण गराएको छ। आइतबार सार्वजनिक लेखा समितिको बैठकले कर्मचारी सञ्चय कोषका अध्यक्षको ध्यानाकर्षण गराएपछि अध्यक्ष शिशिर कुमार ढुंगानाले ४५ दिनभित्र बोलपत्र आह्वान गर्ने प्रतिबद्धता जनाएका छन्।

गत पुस ११ गतेदेखि संचयकोषले नै काठमाडौ मलको भाडा उठाउँदै आएपछि कोषले व्यापारिसँग कमिसन खाँदै आएको आरोप लागेको थियो। सञ्चय कोषले लापरबाही गरेको भन्दै सांसद प्रेम आलेले पुसदेखि अहिलेसम्म किन बोलपत्र आह्वान भएन भन्दै प्रश्न गरेका थिए।

बोलपत्र आह्वान नगरेर व्यापारीसँग कमिसन खाएको यसबाट नै पुष्टि हुने उनको भनाइ थियो। कर्मचारी सञ्चय कोषले तत्कालीन भाडावाला शिवलक्ष्मी कोजुलाई पुस ११ गते हटाएपछि अर्को बोलपत्र गरेको छैन। कोषले ‘भाडा व्यवस्थापन कार्यविध २०७५’ र प्रचलित अभ्यासबमोजिम बोलकबोल प्रक्रियाबाट भाडामा नलगाएसम्म सो मलभित्रका भाडायोग्य क्षेत्र पहिचान गरी नापजाँच गरी भाडादर ताकेर अल्पकालको लागि भाडा उठाउने कार्य गरिरहेको अध्यक्ष ढुंगानाले बताए। पुनः बोलकबोल प्रक्रियाबाट भाडा लगाउन कोषले आवश्यक गृहकार्य गरिरहेको पनि उनले बताए। तर, समितिको ध्यानाकर्षणपछि उनले ४५ दिनभित्र बोलपत्र गर्ने प्रतिबद्धता गरेका हुन्।

कर्मचारी सञ्चय कोषले दोस्रो बोलकवल प्रक्रियामार्फत शिवलक्ष्मी कोजुलाई २०७३ माघ ६ गतेदेखि मासिक २ करोड ७१ लाख ११ हजार १ सय ३९ तिर्नेगरी भाडामा दिएको थियो। कोजुले नियमिति रुपमा भाडा नतिरेको कारण निजलाई हटाई २०७५ पुस ११ देखि कोष आफैले सोही भवनको पाँचौ तल्लामा मल व्यवस्थापन गर्न इकाई कार्यालय स्थापना गरी सो कार्यालय मार्फत मल व्यवस्थापन गर्दै आएको अध्यक्ष ढुंगानाको भनाइ छ। सो अवधिमा कोजुबाट कोषलाई भाडा तथा जरिवानावापत ४८ करोड ३७ लाख ७७ हजार ९ सय २४ प्राप्त भएको र बाँकी रकम असुलीको निमित्त काबवाही अघि बढाइएको अध्यक्ष ढुंगानाले बताए। त्यसअघि प्रवीरशमशेर राणाले भाडा नियमित नतिरेका कारण कोषले निजलाई हटाएको थियो। राणाले कोषलाई यसअघि तिरिआए बमोजिम कोषले २०७३ माघ ५ गतेसम्मको भाडा असुल गरेको थियो। पहिलोपटक बोलकबोल प्रक्रियाद्वारा राणालाई मासिक ६४ लाख ४४ हजार ४ सय ४४ भाडा तिर्नेगरी कोषले भाडामा दिएकोमा निजले २०७२ असोज ६ गतेसम्म सो मल सञ्चालन गरेको थियो।

ललितपुर जिल्ला अदालतको २०७३ फागुन ८ गतेको फैसला अनुसार राणाले कोषलाई १२ करोड ६२ लाख ६५ हजार ९ सय ७८ भुक्तानी गर्न बाँकी रहेको थियो। भवन भित्र थप गरेका संरचनाको समेत मूल्यांकन गरेर हिसाव मिलान गर्नुपर्ने देखिएकोले कोषले सो को मूल्यांकन गरिरहेको अध्यक्ष ढुंगानाले बताए। कर्मचारी सञ्चय कोषको काठमाडौं सुन्धारामा निर्मित १ लाख ९६ हजार ४ सय ६२ वर्गफिटको सुन्धारा भवन (काठमाडौं मल) लाई २०६२ ला भदौ १ गतेदेखि भाडामा लगाउँदै आएको थियो।

प्रकाशित: ६ श्रावण २०७६ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App