७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘मुखर्जी भ्रमणले सम्बन्ध थप विश्वासिलो’

काठमाडौं– सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जगाएको निष्कर्ष निकालेको छ ।

मुखर्जी भारत फर्कनुअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र भारतबीचको तीक्तता अन्त्य गर्न मुखर्जीको नेपाल भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकले भारतीय राष्ट्रपतिको भ्रमण क्रममा गरिएको सुरक्षा व्यवस्था सकारात्मक रहेको निष्कर्ष पनि निकालेको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले मुखर्जीको भ्रमणमा गरिएको सुरक्षा व्यवस्थापछि ठूला भिआइपीलाई सुरक्षा दिन पनि नेपाल सक्षम छ भन्ने सकारात्मक सन्देश सबैसामु दिन सफल भएको निष्कर्ष पनि बैठकले निकालेको जानकारी दिए ।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजस्व सचिव राजन खनाललाई नियुक्त गरेको छ । त्यसैगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहने उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा. बुद्धिबहादुर नेपालीलाई मनोनयन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार बैठकले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस गर्न स्वीकृत गरी संसद्को विधेयक समितिमा पठाउने निर्णयसमेत गरेको छ ।
 

प्रकाशित: २० कार्तिक २०७३ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App