मकवानपुर– पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–९, रजैयामा प्रहरी र लागुऔषध गाँजा तस्करबीच गोली हानाहान भएको छ। दोहोरो भिडन्तमा एक प्रहरी घाइते भएका छन्। गाँजा तस्करी आरोपमा एकजनालाई पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ।
गाँजा लाँदै गरेका ४–५ जनाको समूहले प्रहरीलाई देखेर फायर खोलेपछि प्रहरीले आत्मसुरक्षाका लागि जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
‘मनहरि–९, रजैया राप्तीखोलास्थित राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटो हुँदै पर्सातर्फ गाँजा लैजान खोज्दै थिए,’ उनले भने, ‘प्रहरी टोलीले बाटोको खोचमा घेरा हाली एम्बुसिङ थापेर उनीहरूलाई पक्राउ गर्न सफल भयौँ।’
पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका–१, ढुङ्गेनका ४३ वर्षीय कुमार स्याङ्तान भन्ने राजु स्याङ्तानलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ। उनको साथबाट कटुवा पेस्तोल एक थान, गोलीको खोका (पेस्तोलमा लोड भई फायर भएको) एक थान, प्रयोग नभएको गोली (लाइभ राउन्ड) पाँच थान र गाँजा दुई पोकामा ३१ किलो चार सय ग्राम बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए।
शनिबार राति सवा १२ बजे भएको घटनामा स्याङ्तानलाई समात्ने क्रममा प्रहरी सहायक निरीक्षक नवीनविक्रम थापा सामान्य घाइते भएको उनले बताए। प्रहरी र तस्करले एक–एक राउण्ड गोली प्रहार भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले पेस्तोल, गोली र गाँजासहित स्याङ्तानलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिन खोज्दा स्याङ्तानले प्रहरीमाथि गोली प्रहार गरेको र भरियाहरू भागेको प्रहरी निरीक्षक बुढाथोकीले बताए। ‘साढे १० बजेनै उक्त स्थानलाई घेरा हाली हामी बसेका थियाँै,’ उनले भने, ‘मुख्य मतियार स्याङ्तानलाई लडाएर नियन्त्रणमा लिन हामी सफल भयौँ।’
स्याङ्तान लागुऔषधको दुर्नाम कारोबारी, द्वन्द्वकालमा डाँका गरेको भन्दै दुईपटक कारबाहीमा परेको तथा राजमार्गमा अपराध गर्ने प्रमुख व्यक्ति भएको स्थानीयवासीले बताएकाले थप अनुसन्धान गरी कारबाही गरिने प्रहरी उपरीक्षक सिंहले बताए।
यसअघि काठमाडौंको कीर्तिपुर नगरपालिका–१६ बाट उनलाई लागुऔषध नियन्त्रण ब्युरोले एक सय किलो गाँजासहित २०७१ पुस १६ गते पक्राउ गरी सजाय पाएको प्रहरीले जनाएको छ।
उनीमाथि हातहतियार खरखजाना, लागुऔषध, ज्यान मार्ने र एकीकृत कसूरमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार खरखजानासम्बन्धी कसूरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूरको १८३ अनुसार ज्यान मार्ने नियतले गोली फायर गरेको हुँदा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
त्यस्तै लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना तथा पटके कायम गरी थप सजाय हुने र मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा ४३ अनुसार एकीकृत कसूरमा पनि थप सजाय हुने बताइएको छ।
प्रकाशित: ५ श्रावण २०७६ ११:४५ आइतबार