coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक अवरुद्ध हुँदा उपभोग्य वस्तुको अभाव

खोटाङ– सिद्धिचरण राजमार्ग अन्तरगत उदयपुरको घुर्मी–कटारी सडक अवरुद्ध हुँदा खोटाङमा दैनिक उपभोग्यवस्तुको अभाव हुने अवस्था सिर्जना भएको छ। पूर्वी शहर तथा दक्षिणका तराईलाई जोड्ने घुर्मी–कटारी सडक अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको अभाव हुने खतरा बढ्दैगएको खोटाङ उद्योग बाणिज्य संघले जनाएको छ। 

दिक्तेलबजारमा मौज्दात उपभोग्य वस्तु सकिँदै गएको अवस्थामा लोकसेवा आयोगको करिब ७ हजार परिक्षार्थी जिल्ला भित्रिएकाले मौज्दात उपभोग्यवस्तुले केही समय मात्र धान्ने भएकाले जिल्लामा उपभोग्यवस्तुको अभाव हुने अवस्था सिर्जना भएको संघले जनाएको छ। विज्ञप्ति प्रकाशित गर्दै बाणिज्य संघले अवरुद्ध घुर्मी–कटारी सडक मर्मत गरेर तत्काल सूचारु गराउन अपिल जारी गरेको छ। सडक ठप्प हुँदा हाल उपभोग्यवस्तुको ढुवानी समेत हुन सकेको छैन। 

हाल दिक्तेलमा चालम ३३ हजार ५ सय केजी, दाल २ हजार ९७० केजी, खाने तेल ८३४ काटन, चिनी ५ हजार १ सय थान र ग्यास ३८ थान मात्र मौज्दात रहेको अवस्थामा सडकका कारण अन्य उपभोग्य सामान ढुवानी गर्ने अवस्था नबने खाद्य संकटको स्थिति सिर्जना हुने जनाइएको छ।  ‘पूर्वी शहरबाट अधिकांश उपभोग्य सामग्री भित्र्याउनका लागि उपयोग हुँदैआएको घुर्मी–कटारी–दिक्तेल सडक ठप्प हुँदा उपभोग्य वस्तुको हाहाकार हुने अवस्था सिर्जना भएको छ’, संघका अध्यक्ष उपिनकुमार राई र महासचिव मनोज बजिमयले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘बजारको सिमित मौज्दात सामान सकिएपछि अभाव सिर्जना हुने र जनजीवन समेत प्रभावित हुने भएकाले सडक चाँडो खुलाउन आग्रह गर्दछौं।’ संघले विपदको घडीमा महंगी बृद्धि र कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायीलाई आग्रह गरेको छ। 

कटारी–घुर्मी सडक खण्डको ठाँटीमा पहिरोले सडक भत्काएपछि पूर्वी शहर र खोटाङबीचको यातायात सम्बन्ध पुःनस्थापित गर्न सकिएको छैन। कटारी–घुर्मी सडक पहिरोले अवरुद्ध हुँदा बर्दिबास–सिन्धुलीको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता छ। तर, बर्दिबास–सिन्धुलीको इजाजत नलिएका कारण जरिवाना लाग्ने भएकाले सो बाटो उपयोग गर्ने अवस्था नभएको व्यवसायीले बताएका छन्। 

टुटेको यातायात सम्पर्क नौ दिनपछि जोडियो 

वर्षाका कारण पहिरो जाँदा खोटाङ र काठ्माडाैं बीचमा टुटेको यातायात सम्पर्क पुनः स्थापित भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गतका सडक खण्डका दर्जनौं ठाउँमा खसेको पहिरो पन्छाउने काम सम्पन्न भएपछि शुक्रबारदेखि दिक्तेल र काठ्माण्डौं याताायात सुचारु भएको हो। अविरल वर्षाका कारण पहिरो खस्दा र पहिरोले तान्दा गत असार २६ गतेदेखि जिल्ला राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएको थियो। पहिरोको कारण दिक्तेल र काठ्माण्डौंबीचमा टुटेको यातायात सम्पर्क ९ दिनपछि जोडिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले बताए। ‘हाललाई दिक्तेल देखि काठ्माडाैं आवतजावत गर्ने सिंगल ट्र्याक खुलेको हो,’ प्रजिअ उपाध्ययले भने, ‘एकतर्फी भए पनि आवतजावत गर्न मिल्ने वातावरण बनेको छ।’  

हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्र पर्ने सडकभित्रको पहिरो पन्छाएको थियो। सबैभन्दा बढी पहिरो खसेको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार सडकको अवरोध हटाउने काम पूरा गरेको हो। उदयपुर र घुर्मीबीचमा मध्यपहाडी लोकमार्ग आयोजनाले सडकको पहिरो पन्छाएको प्रजिअ उपाध्ययले बताए।

दिक्तेल र काठ्माण्डौंबीचमा याताायात सुचारु भए पनि दिक्तेल–कटारी, दिक्तेल–धरान, दिक्तेल–बिराटनगर लगायतका अन्तरजिल्ला सडक भने अझै पनि ठप्प छन्। 

प्रकाशित: ५ श्रावण २०७६ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App