coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वर्षाले अवरुद्ध सिद्धिचरण लोकमार्ग अझै सातादिन नखुल्ने

कटारी (उदयपुर)- अविरल वर्षाका कारण ३ दर्जनबढी ठाउँमा गएको पहिरोले १० दिनयता अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु हुन अझै सातादिन बढी लाग्ने भएको छ। सिराहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुङ्गा जोड्ने लोकमार्गको ४२ किलोमिटर खण्डमा ४० ठाउँबढी पहिरो गएर यातायात अवरुद्ध हुन पुगेको थियो।

सडक मर्मत कार्य ३ दिनदेखि लगातार जारी रहे पनि कम्तीमा सातादिनपछि मात्र सुचारु हुनसक्ने सडक डिभिजन कार्यालय लाहानले जनाएको छ। पहिरोले सातादिनयता सो लोकमार्गमा यातायात अवरुद्ध छ। निरन्तर वर्षाले सडक भत्काएपछि यात्राकै क्रममा बीच सडकमा अड्किन पुगेका दर्जनौं ठूला तथा साना सवारी साधन अझै निस्कन सकेका छैनन्। ३ दिनदेखि पहिरो पन्छाउने तथा सडक सफा गर्ने क्रम चलिरहे पनि अझै ५० भन्दा बढी सवारी साधन कटारी–घुर्मी खण्डमा अलपत्र परिरहेको रौता हिमाली यातायात व्यवसायी केन्द्र शाखा कटारीले जनाएको छ।

सडक अवरुद्ध भएपछि मिर्चयादेखि ओखलढुंगा आउजाउ पूर्णतः ठप्प भएको छ भने कटारीदेखि पहाडी भेगका आधादर्जन बढी वडाबासीलाई कटारी आउजाउ र अन्तरवडाको सम्पर्कसमेत बन्द भएको नगरपालिकाले जनाएको छ। सडक सुचारु गर्न मर्मत कार्य तत्काल थालिए पनि कम्तीमा सातादिनपछि मात्र सुचारु हुने नगर उपप्रमुख भिमकुमारी राउतले बताईन्। ‘अविरल वर्षाले लोकमार्गको ४० भन्दा धेरै ठाउँमा पहिरो गएर पुरै यातायात अवरुद्ध भएको छ’ सडक कार्यालय लाहानका प्रमुख इन्जिनियर (डिई) सहितको प्राविधिक टोली लिएर स्थलगत अनुगमनबाट फर्केकी उपप्रमुख राउतले शनिबार भनिन् ‘नगरपालिका र सडक कार्यालयले संयुक्तरुपमा मर्मत कार्य जारी राखेका छौं। तर, अझै कम्तीमा एकसाता सडक सुचारु हुन नसक्ने देखियो।’

२ जेसिबी र एउटा स्काभेटरले दुईदिनदेखि पहिरो पन्छाउने काम गरिरहेको तर, त्यत्तिले काम ढिला हुने भएकाले थप २ वटा स्काभेटर परिचालन गरिएको उनले बताईन्। जतिसक्दो चाँडो सडक सुचारु गर्ने उदेश्यसहित ४ वटा जेसिबी र स्काभेटर परिचालन गरेर मर्मत कार्य तिब्र गतिमा भईरहेको उपमेयर राउतले बताईन्। उनका अनुसार सडक अवरुद्ध हुँदा सिराहा–ओखलढुंगा आउजाउ गर्नेलाईभन्दा नगरपालिका आउजाउ गर्ने पहाडी भेगका वडाबासीलाई बढी पीडा भएकाले मर्मत कार्य छिटो गर्नुछ।

डिभिजन सडकक लाहानका प्रमुख डिई विनोद साहले मिर्चयादेखि कटारी हुँदै बेतिनीसम्मको खण्डमा भत्केको सबै पहिरो पन्छाउने काम सकिदै गएको बताए। तर, ठाँटीनजिकै झण्डै अढाई ३ सय मिटर चौडाई सडकको जगसहित पहिरोले भत्काएका कारण तत्काल सडक सुचारु हुन नसक्ने उनको भनाई छ। उनका अनुसार सो खण्डमा मर्मत गर्ने ठाउँ नै नराखी पहिरो गएकाले वैकल्पिक ट्र्याक खोल्नु पर्ने बाध्यता छ। विगत वर्षहरुमा लोकमार्गकै सबभन्दा अप्ठ्यारो ठाउँ कटारी ११ स्थित ठाँटी भन्ज्याङ थियो तर, यो वर्षाले त्यो भन्दा अप्ठ्यारो त्यसको १ सयमिटर वर (कटारीतर्फ) को लप्सेभीर सावित भएको साहले बताए।

उनले मर्मत गर्ने ठाउँ नरहने गरी पहिरो गएकाले साविक सडकभन्दा झण्डै ५ सय मिटर माथिबाट डाँडो काटेर बैकल्पिक ट्रयाक खन्न थालेको बताए। डाँडा खारेर नयाँ ट्र्याक निकाल्नु परेकाले साता १० दिनपछि मात्र सडक सुचारु गर्न सकिने डिई साहले बताए।

कटारी ११ का वडाध्यक्ष दिपक बुढाथोकीका अनुसार विगतमा हरेक वर्षायाममा ठाँटी भन्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुने गरेको थियो। तर, गतवर्ष मात्र डेढसय मिटर तलदेखि दुवै पटि सिमेन्ट–ढंगाजडित ‘रिटेनिङ वाल’ निर्माण गरिएपछि अहिले त्यहाँ कुनै समस्या छैन। तर, लप्सेभीरमा  पुरै सडक बगाएर अढाई ३ सय मिटर चौडाको पहिरो गएको र पहिरो खस्ने क्रम निरन्तर चलिरहेका कारण मर्मत गर्नसक्ने अवस्था नभएर विकल्प सडक खन्नु पर्ने अवस्था सिर्जना भएको उनले बताए।

प्रकाशित: ५ श्रावण २०७६ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App