coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झिलिमिली गाउँ

खातीखोला जलविद्युत् आयोजनाको पावर हाउस। तस्बिरः नागरिक

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिका–५, ल्हाँकी लक्ष्मीकुमारी झाँक्रीको पिठ्यूँमा डोको, थाप्लोमा नाम्लो लगाएर वनमा देवद्यारको झरो (दियालो) खोज्न जानुपर्ने बाध्यता हटेको छ।

राति उज्यालो गर्नु परे र आगो सल्काउनु परे जस्तोसुकै काम थाँति राखेर पनि दियालो खोज्न वन जानु पथ्र्यो। बिजुली बत्ती आएदेखि यो बाध्यता हटेको हो।

स्थानीय धनबहादुर बुढाले पनि गाउँमा बत्ती बलेपछि रातिको समयमा ज्येष्ठ नागरिकलाई सुविधा पुगेको, बालबालिकाहरूलाई पढ्न लेख्नमा सहज हुनुका साथै स्वास्थ्यमा समेत फाइदा भएको बताए।

त्रिपुरासुन्दरी नगरपालिका–६, पालुङस्थित खातीखोला जलविद्युत् आयोजनाले विद्युत् आपूर्ति सुरु गरी गाउँ झलमल्ल बनाएपछि स्थानीयमा खुसीयाली छाएको हो।

२०६६ सालमा चार करोडको लागतमा निर्माण कार्य सुरु भई २०७४ सालमा निर्माण सम्पन्न भएको हो। ८० किलोवाटको खातीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्ष नबित्दै २०७४ चैतमा आएको बाढीपहिरोले आयोजनाको बाँध तथा कुलोमा क्षति पु-याउँदा विद्युत् आपूर्ति बन्द भएको थियो।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत १८ लाख र त्रिपुरासुन्दरी नगरपालिकाको पाँच लाख गरी २३ लाखको लागतमा उक्त जलविद्युत् आयोजनाको मर्मत गरिएको थियो। विद्युत् आपूर्ति सुरु भएपछि त्रिपुरा सुन्दरी–५ र ६ का सात सय ३२ घर लाभान्वित भएका छन्।

खातीखोलाको पानीको बहाव र भू–क्षयले जलविद्युत् आयोजनाको भौतिक संरचना भत्किएर झण्डै एक वर्षसम्म विद्युत् आपूर्ति बन्द भएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रमुख ताराप्रसाद आचार्यले बताए। स्थानीयको मागअनुसार मर्मत गरिएको उनको भनाइ छ।

प्रकाशित: ५ श्रावण २०७६ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App