coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरूको छुट्टै बैठक बसेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो। ओलीले पूर्वएमालेका नेताहरूलाई छुट्टाछुट्टै भेट गरेपछि शनिबार साँझ पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरूको छुट्टै बैठक बसेको हो।

‘पूर्वएमालेको भागमा परेका विभागको जिम्मेवारी र जिल्ला इन्चार्जहरू कसकसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ओलीले सामूहिक छलफल गर्न चाहेकाले सचिवालयसम्बद्ध नेताहरूको छुट्टै बैठक बसेको हो,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘अब एकढिक्का भएर जाने विषयमा छलफल भएको छ। सम्भवतः आइतबार बस्ने सचिवालय बैठकले एकीकरणका सबै विषय टुंगो लगाउनेछ।’

पार्टी एकीकरणका क्रममा ३२ विभागमध्ये १८ वटामा पूर्वएमालेका र बाँकी १४ वटामा पूर्वमाओवादी केन्द्रका नेताहरूका जिम्मेवारी पाउनेछन्।

यसअघि पार्टी अध्यक्ष ओलीले वामदेव गौतम र घनश्याम भुसाललाई छुट्टाछुट्टै भेट गरेका थिए। बालुवाटारनिकट स्रोतका अनुसार शनिबारको छलफलमा पूर्वएमालेको भागमा परेको स्कुल विभाग प्रमुखमा सचिवालय सदस्यभन्दा बाहिरबाट विभागीय प्रमुख बनाउने विषयमा छलफल भएको थियो। पूर्वएमालेका उपाध्यक्ष भीम रावल वा पूर्वउपमहासचिव भुसालमध्ये एकजनालाई सो विभागको जिम्मेवारी दिँदा उपयुक्त हुने सुझाव आएको थियो। त्यसो हुँदा स्कुल विभागका लागि प्रस्तावित सचिवालय सदस्य पोखरेल भने जिम्मेवारीविहीन हुने अवस्था आउनेछ। ‘नेताहरूले सहमति गरे वा एक ढिक्का भएर स्कुल विभाग सचिवालय सदस्यभन्दा बाहिर रहेका वरिष्ठ नेताहरूमध्ये एकजनालाई जिम्मेवारी दिए राम्रो हुने सल्लाह आएकाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेका हुन्,’ निकट स्रोतले भन्यो।

तत्कालीन एमालेको भागमा परेको संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुख कसलाई बनाउने भन्ने विषयमा निरन्तर छलफल गरेका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल सचिवालय सदस्य गौतमलाई संगठन विभाग प्रमुख बनाउन तयार भएका थिए। यसअघि बिहीबार राति प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पूर्वएमालेका सचिवालय सदस्यको बैठकले गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको थिए। स्कुल विभागमा प्रमुखमा उपप्रधानमन्त्री पोखरेललाई दिने बताइँदै आएको भए पनि शनिबारको छलफलमा भने ओलीले पार्टीभित्र सबैलाई समेटेर लैजानुपर्ने भएकाले सचिवालय सदस्यभन्दा बाहिर रहेका नेताहरूमध्ये एकजनालाई दिनुपर्ने प्रस्ताव गरेका थिए।

तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता नेपाललाई विदेश विभागको जिम्मेवारी दिइने स्रोतको दाबी छ। स्रोतका अनुसार नीति तथा प्रतिष्ठान विभाग भने खनाललाई दिइनेछ। यदि स्कुल विभाग सचिवालय सदस्यभन्दा बाहिरका नेताले पाए भने महासचिव पौडेल र पोखरेल मात्रै विभाग प्रमुख हुनबाट वञ्चित हुनेछन्। स्रोतका अनुसार पूर्वमाओवादीको भागमा आर्थिक र प्रचार विभाग परेका छन्। हाल पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठलाई प्रचार वा आर्थिक विभागमध्ये एउटा दिने सम्भावना छ।

निरन्तरको संवादपछि दुई अध्यक्षले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंग्याएको भए पनि त्यसलाई बाहिर ल्याएका छैनन्। पूर्वएमालेका भागमा परेको ४७ जिल्ला र पूर्वमाओवादीको भागमा ३० जिल्ला परेका छन्। सुरुमा पूर्वमाओवादीलाई २७ जिल्ला र पूर्वएमालेले ५० जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी लिने सहमति भए पनि पछि अध्यक्ष दाहालको जोडमा तीन जिल्ला थपघट भएको हो। जिल्ला इन्चार्जहरूको विषयमा पनि शनिबार छलफल भएको थियो।

नेकपामा ४ सय ४१ केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय विभाग, प्रतिष्ठान, प्रवास, मोर्चा संगठनमा जिम्मेवारी दिने गरी छलफल भइरहेको छ। आइतबारको बैठकअगावै केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विशेष प्रदेश कमिटीको एकीकरणमा पनि सहमति जुटाउनेगरी ओली र दाहालबीच छलफल भएको थियो। शनिबार बिहान पनि दुई अध्यक्ष र उपलब्ध केही सचिवालय सदस्यहरूबीच छलफल भएको थियो। शनिबार बिहान सचिवालय सदस्य गौतमले पनि ओलीसँग भेट गरेका थिए।

दुई अध्यक्षले कार्यविभाजनबारे वरिष्ठ नेता नेपालसँग पनि छलफल गरिरहेका छन्। ओली, दाहाल र नेपालबीच तत्कालीन एमाले र माओवादीका इन्चार्जहरूलाई नै पुनः इन्चार्ज र सहइन्चार्ज दिने सहमति भएको थियो। यस्तो हुँदा सांसद तथा मन्त्रीहरूले पनि पार्टीमा कार्यकारी जिम्मेवारी पाउनेछन्। यसो गर्दा धेरै अन्यायमा नपर्ने नेताहरूको बुझाइ छ। तर सबै केन्द्रीय सदस्यहरूले जिम्मेवारी नपाउने भएका छन्। ४ सय ४१ केन्द्रीय सदस्यमध्ये करिब २ सय १६ सदस्यहरूले मात्रै जिम्मेवारी पाउनेछन् भने बाँकी जिम्मेवारीविहन हुनेछन्। उनीहरूलाई कसरी जिम्मेवारी दिने भन्ने विषयमा दुई अध्यक्षले छलफल गरिरहे पनि कुनै निष्कर्ष निस्किएको छैन। अध्यक्ष ओलीले आइतबार दिउँसोका लागि सचिवालय बैठक बोलाएका छन्।

नेताहरूमा द्वैध चरित्र छः भुसाल
नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले देशमा दलाल पुँजीवाद हावी हुँदा नेताहरूमा द्वैध चरित्र देखिएको बताए। बाहिर आदर्श, परिवर्तन, क्रान्ति, त्याग र बलिदानका कुरा गर्ने नेताहरू दलाल पुँजीवादीसँगको भेटघाटले भित्रभित्रै कानुनी छिद्र खोज्दै उनीहरूलाई जोगाउनतिर लाग्दा नेताहरूमा त्यस्तो चरित्र देखिएको उनले स्पष्ट पारे। शनिबार राजधानीमा गौरीशंकर प्रगतिशील अखिल मञ्चले आयोजना गरेको कार्यक्रममा सामन्तवादको जरोकिलो उखेल्न नेतृत्व गरेको नेकपा दलाल पुँजीवादको दलदलमा फसेको दाबी गरे।

‘नेताहरू बिहान एउटा कुरा गर्छन्, बेलुकै अर्कै। मुलुकमा दलाल पुँजीवादीहरूको पार्टी, सरकार, सत्ता र नेताहरूसँग राम्रो उठबस छ। त्यसलाई उद्यमशील र समाजवाद उन्मुख पुँजीवादमा प्रयोग गर्न नसक्नु नेताहरूको ठूलो कमजोरी हो,’ नेता भुसालले भने। उनले पार्टीभित्र दुई अध्यक्षले मात्रै हरेक निर्णय गर्दा आठ लाख नेता–कार्यकर्ता अफिम खाएजस्तै भएको र उनीहरूका आँखा राम्रोसँग देख्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरे।

प्रकाशित: ५ श्रावण २०७६ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App