८ वैशाख २०८१ शनिबार
खेल

इकबाल बंगलादेशी अन्तरिम कप्तान

तमिम इकबाल

ढाका (एएफपी)– श्रीलंका भ्रमणमा निस्कन लागेको बंगलादेशी टोलीका लागि बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले शुक्रबार ओपनर तमिम इकबाललाई अन्तरिम कप्तानको जिम्मेवारी दिएको छ। नियमित कप्तान मासरफ मोर्ताजा ह्यामस्ट्रिङबाट ग्रसित भएपछि श्रीलंका भ्रमणका लागि ओपनर इकबाललाई नियुक्त गरेको हो।

मासरफलाई अभ्यासका क्रममा ह्यामस्ट्रिङको समस्या देखिएको थियो। भ्रमणअघि मनिपुरमा आायोजना गरेको पत्रकार सम्मेलनमा मासरफ टोलीबाट बाहिर रहेको आधिकारिक जानकारी दिइएको थियो।

‘मोर्ताजा अभ्यासका क्रममा आज बायाँ ह्यामस्ट्रिङको समस्याबाट ग्रसित भएका छन्। उनलाई तत्काल विशेष उपचारको खाँचो छ,’ बंगलादेश क्रिकेट बोर्डका सिनियर फिजिसियन देवाशिष चौधरीले जारीको गरेको विज्ञप्तिमा उल्लेख छ।

‘समयसमयमा देखिने समस्या मासरफमा देखिएको छ। यो निको हुन तीनदेखि चार हप्ता लाग्छ। त्यसैले उनी एक महिना आराम गर्दै खेल गतिविधिबाट बाहिर रहनुपर्ने भएको छ,’ सिनियर फिजिसियन देवाशिषले चौधरीले थपे।

बिसिबीले तमिमलाई अन्तरिम कप्तानको जिम्मेवारी दिएको छ। उपकप्तान साकिब अल हसन विश्वकपछि आराममा रहेकाले मासराफलाई अन्तरिम कप्तानको जिम्मेवारी दिएको हो। अघिल्लो साता सम्पन्न विश्वकपमा साकिबले उत्कृष्ट खेल प्रदर्शन गर्दै बंगलादेशलाई राम्रो नतिजा दिलाएका थिए। यद्यपि बंगलादेशले अन्तिम चारको ढोका खोल्न भने असफल भयो।

यस्तै अर्का अलराउन्डर मोहम्मद साइफुदिन पनि टोलीबाट बाहिर छन्। ढाडको समस्याबाट गुज्रिएका साइफुदिन श्रीलंकासँग हुन लागेको शृंखलाबाट बाहिर रहेको बिसिबीका सञ्चालक अक्रम खानले जानकारी दिए। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको खेलाडी टोलीमा समावेश नहुँदा अन्य खेलाडीले स्थान पाएका छन्। उनीहरूको स्थानमा तीव्र गतिका बलर तासकिन अहम्मेद र अलराउन्डर फरहार्ड रिजालाई टोलीमा स्थान दिइएको छ। उनीहरू मासरफ र साइफुदिनको स्थानमा टोलीमा समावेश भएका हुन्।

बंगलादेशले श्रीलंका भ्रमणको क्रममा तीन एकदिवसीय शृंखला खेल्नेछ। पहिलो एकदिवसीय खेल जुलाई २६, दोस्रो २८  र अन्तिम एकदिवसीय खेल जुलाई ३१ मा हुने तालिका सार्वजनिक भएको छ। सबै खेल कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा हुनेछ।

यसअघि मासरफले पत्रकार सम्मेलनमा सन्यासको विषयमा कुनै मनसाय नरहेको जनाएका थिए। तत्कालीन भारतीय कप्तान महेन्द्रसिंह धोनीले जस्तै शृंखलामा सन्यास लिने योजनामा हो भन्ने जिज्ञासामा आफूमा त्यस्तो मनसाय नरहेको बताएका थिए।

मासरफ र धोनीले इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपपछि संन्यासको घोषणा गर्ने अड्कल गरे पनि उनीहरूले घोषणा अहिलेसम्म गरेका छैनन्। उनीहरूले आफ्नो टोलीबाट व्यक्तिगत छविलाई सुधार गर्न राम्रो खेलेका थिए।
सेमिफाइनल खेलमा महेन्द्रसिंह धोनीले न्युजिल्यान्डविरुद्ध अर्धशतकीय इनिङ खेले पनि आफ्नो करियरको बारेमा केही बोलेका छैनन्। उता बंगलादेशका कप्तान मासरफले भने कप्तानको जिम्मेवारीलाई निरन्तरता दिँदै टोली सम्हाल्ने जनाएका थिए।

‘साँचो अर्थमा भन्दा संन्यासको विषयमा कुरा गर्न मलाई कुनै अप्ठ्यारो लाग्दैन। सबैको जीवनमा आउने कुरा हो। सबैले एक न एक पटक संन्यास लिँदै खेलबाट बिदा लिनुपर्छ,’ बंगलादेशका कप्तान मासरफले भने, ‘महेन्द्रसिंह धोनीजस्तो एकदिवसीय खेलमा मैले छैन। बारम्बार धोनीलाई प्रत्येक पत्रकार सम्मेलनमा संन्यासको प्रश्न सोधिन्छ। यसलाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ।’

‘विश्वकपमा राम्रो खेल्दा खेल्दै र कप्तानको जिम्मेवारी सम्हाल्दा सम्हाल्दै पनि हामीले राम्रो स्थान लिन सकेनौं,’ मासरफले भने, ‘यस्तो अवस्थामा संन्यासका प्रश्न आउनु स्वाभाविक हो। यसलाई सामान्य अर्थमा लिनु राम्रो हो।’

उनको टोली इङ्ल्यान्ड विश्वकप संस्करणमा आठौं स्थानमा रहँदै विश्वकप यात्रा समाप्त गरेको थियो। कप्तान मासरफले मात्र एक विकेट हात पार्दा नौ खेलमध्ये तीन खेलमा बंगलादेशले जित निकाल्न सफल भएको थियो। बंगलादेशले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तानविरुद्ध जित निकाल्न सफल भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो।

बंगलादेशले श्रीलंका भ्रमणको क्रममा तीन एकदिवसीय शृंखला खेल्नेछ।

प्रकाशित: ५ श्रावण २०७६ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App