coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छठः मन जोड्ने अवसर

छठ पूजाका लागि लहान हटियामा बिक्रीका लागि राखिएको केरा छान्दै श्रद्धालु

काठमाडौं–

'अचेल पहाडी र मधेसी जनता मिलेरै छठ मनाउँछन् । छठमा सबै मिलेजसरी हामी नेता पनि मिलेर राजनीति गर्नुपर्छ तर केही शासक नेता जनताको त्यो चाहना बुझ्दैनन्, समस्या यहीँ छ ।'
–राजेन्द्र महतो, अध्यक्ष सद्भावना पार्टी

'संविधान लेखनमा मधेसी जनताको चित्तदुखाइ र भारतीय नाकाबन्दीका कारण पहाडी समुदायको चित्तदुखाइलाई मेट्ने अवसरका रुपमा छठलाई लिएर मन माझामाझ गर्नुपर्छ ।'
–जितेन्द्र सोनाल, महामन्त्री, तमलोपा

'केपी ओली र राजेन्द्र महतो एकै ठाउँमा उभिएर छठ मनाए सामुदायिक सद्भावमा बढोत्तरी हुनेछ । मधेसी नेताले सधैं आन्दोलन होइन, मधेसको विकास र समृद्धिको कुरा पनि यसै छठबाट गर्न सुरु गरुन् ।'
–डा. राजेश अहिराज, मधेस मामिलाविज्ञ

'छठपछाडि आन्दोलन गर्ने भनेर मधेसी नेताले बताए पनि तराईका जनता अहिले आन्दोलन गर्ने मुडमा छैनन् । यहाँ ‘सेभ वीरगन्ज’ भन्ने अभियान चलेको छ, मधेसी नेताले यो कुरा यसै बेला बुझून् ।'
– दीपेन्द्र चौहान, वरिष्ठ पत्रकार, वीरगन्ज

तराई क्षेत्रमा मात्र मनाइँदै आएको छठ पर्वले बिस्तारै राष्ट्रिय स्वरुप प्राप्त गरेको छ । यसलाई राजनीति सपार्ने अवसरका रुपमा लिनुपर्ने तर्क राजनीतिक नेता र बुद्धिजीवीबाट व्यक्त हुन थालेको छ ।

छठ पर्व पछिल्ला वर्ष हिमाल र पहाडमा पनि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर सुख समृद्धिको कामनासहित मनाउन थालिएको छ । यसै कारण यस पर्वले राष्ट्रिय स्वरुप लिँदै गएको आमबुझाइ छ । हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने पुलका रुपमा समेत छठ पर्व स्थापित हुँदै गएको छ । राजनीति सपार्ने कडीका रुपमा छठलाई उपयोग गर्नुपर्ने नेताहरू बताउँछन् ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनाल संविधान लेखन प्रक्रियामा ठूला राजनीतिक दलले दुखाएको मधेसी समुदायको मन र भारतीय नाकाबन्दीले दुखाएको मधेसीसहित पहाडी समुदायको मन जोड्ने अवसरका रुपमा छठ पर्वलाई उपयोग गर्न सकिने बताउँछन् ।

‘अहिले मधेसी र पहाडी जनताबीच मनोवैज्ञानिक रुपमा केही दुरी बढेको हो कि भन्ने अनुभूति जताततै भएको छ, टाढिएका मन जोड्न छठ उपयोगी साबित हुन सक्नेछ,’ सोनाल भन्छन्, ‘छठ पर्वमा सबै पार्टीका नेता एकै ठाउँ उभिएर हामी सबै एकै हौं भन्ने सन्देश दिन सक्छन् ।’

उनका अनुसार छठलाई आधार मानेर संविधान संशोधनदेखि मुलुकको समृद्धिका विषयमा नेता एकै ठाउँ उभिएर राजनीतिक सद्भाव कायम रहेको सन्देश दिन सक्छन् ।

छठले पहाडी र मधेसी समुदायलाई भावनात्मक रुपमा जोड्दै लगेको मधेसी पत्रकार संघका महासचिव सुरेश यादव बताउँछन् । ‘काठमाडौंमा पहिला मधेसी समुदायले छठ पर्व मनाउँदा पहाडी दर्शक हुन्थे, अहिले तिनै दर्शक छठ मनाउन रातभर जाग्राम बस्न थालेका छन्,’ यादव भन्छन्, ‘जनताको तहमा देखिएको यो सद्भाव आदानप्रदान र सम्मानलाई नेताहरूले पनि महसुस गर्नुपर्छ ।’

पछिल्ला वर्ष काठमाडौंमा पहाडी समुदायका व्रतालुको संख्या बढ्दै गएको छ । रानीपोखरी, कमलपोखरी, वागमती नदीकिनारका थापाथली, गौरीघाट, गुहेश्वरी क्षेत्रमा छठ तराईबाहेक अन्य मूलका व्रतालु पनि अत्यधिक देखिन थालेका छन् । यसले पहाडी समुदाय र मधेसी समुदायको ‘कल्चर मिक्स्ड’ गर्न सहज भएको यादवको अनुभव छ ।

मुलुकको पहिलो राष्ट्रपतिमा जनकपुरवासी रामवरण यादव निर्वाचित भएपछि तराईमा मात्रै सीमित छठ पर्व काठमाडौं र पहाडका कन्दरासम्म व्यापक रुपमा मनाउन थालिएको उनको अनुभूति छ । रानीपोखरी र कमलपोखरी पुगेर तत्कालीन राष्ट्रप्रमुख यादवले प्रसाद ग्रहण गर्न थालेपछि छठले राष्ट्रिय पर्वको स्वरुप लिँदै गएको रौतहटका रामपुकार साह बताउँछन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पहाडी समुदायले मधेसी समुदायमा मात्रै सीमित छठ पर्वलाई स्वीकार गरेर सद्भाव देखाएजस्तै दलका नेताले पनि मधेसी समुदायप्रति सद्भाव देखाउनुपर्ने औंल्याउँछन् ।

‘छठ पर्व अब मधेसी समुदायको मात्र रहेन, यो राष्ट्रिय पर्व भइसक्यो, जनताबीच छठमा देखिएको एकताबाट पाठ सिकेर सत्तामा पुगेका नेताले मधेसी समुदायलाई अधिकार दिन ढिलो नगरुन्,’ महतो भन्छन्, ‘छठ पर्व सबैको भइसक्यो, अब देश पनि सबैको होस् भन्ने सद्बुद्धि शासक नेतालाई छठी माताले दिऊन् ।’

मधेस मामिलाविज्ञ डा. राजेश अहिराज छठ पर्वमा एमाले अध्यक्ष केपी ओली र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एउटै नदीकिनार छठ मनाए देशलाई समुदायगत रुपमा एकताबद्ध बनाउन बल पुग्ने बताउँछन् ।

‘दुवै एक्स्ट्रिम नेता एउटै नदीकिनार, एउटै घाटमा सामूहिक रुपमा छठ मनाएको दृश्यले मात्रै पनि सद्भाव कायम गर्न काफी हुनेछ,’ अहिराज भन्छन्, यसै छठदेखि मधेसी नेताले आन्दोलन होइन, समृद्धि र विकासका योजना पनि सार्वजनिक गरून् ।’ छठका अवसरमा मधेसका नेताले मधेससहित सिंगो देशको समृद्धि र विकासका योजना सार्वजनिक गर्न सके उनीहरूको उचाइ बढ्ने अहिराज बताउँछन् ।

छठ मधेसी समुदायले मात्रै नभई पहाडीया समुदायले पनि उत्तिकै मनाउन थालेको वरिष्ठ पत्रकार दीपेन्द्र चौहान बताउँछन् । उनका अनुसार पछिल्लो समय मुसलमान समुदायले पनि छठ मनाउन थालेका छन् । उनका अनुसार राजनीति विकृत हुँदा नेता तहमा केही मनोमालिन्य देखिए पनि जनता तहमा भने सद्भाव कायमै छ, यसलाई बिथोल्ने काम नेताहरूले नगरून् ।
‘छठपछाडि आन्दोलन गर्ने भनेर मधेसी नेताले बताए पनि तराईका जनता आन्दोलन गर्ने मुडमा छैनन्, मधेसी नेताले यो कुरा यसै बेला बुझून्,’ चौहान भन्छन्, ‘जनताको भावना कदर गरेर मधेसी नेता अघि बढ्नुपर्छ, ठूला पार्टीका नेता पनि संविधान संशोधनमा लचिलो भएर अघि बढ्नुपर्छ ।’

तीन दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो बन्नुपर्छ । दोस्रो दिन दिनभर उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर खिर खाने चलन छ । तेस्रो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने एकमात्र चाड छठ भएकाले यसको विशेष महŒव छ । ठेकुवा, भुसुवाजस्ता मिठाइका विशेष परिकार बनाइने छठमा नदी किनारमा व्रत बसेर केरा, नरिवल, उखुजस्ता फलपूmल छठी मातालाई चढाउने परम्परा छ ।

यस वर्षको छठ पर्व शुक्रबारदेखि सुरु भइसकेको छ ।

प्रकाशित: २० कार्तिक २०७३ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App