८ वैशाख २०८१ शनिबार
कला

क्यानभासमा चलायमान भगवान

काठमाडौं - चित्रमा पात्रहरूको विभिन्न गतिविधि देखाउनु सामान्य हो । तर, चलायमान पात्रहरूको सोचलाई आधारित रहेर चञ्चल मन क्यानभासमार्फत देखाउनु चूनौतीपूर्ण काम हो । क्यानभासमा ऐक्रेलिकको प्रयोग गरेर चलायमान मनका भाव देखाएका छन्, चित्रकार रोशन भण्डारीले ।

ठमेलस्थित दलाई– ला आर्ट ग्यालरी असार २४ देखि ‘स्ट्रोक्स अफ डिभिनिटी’ शीर्षकमा सुरु एकल चित्र प्रदर्शनीमा राखिएका विभिन्न ६ चित्रकलाले उनको चलायमान मनको भावलाई प्रतिनिधित्व गरेको छ । यो उनको सिरिजको दोस्रो प्रदर्शनी हो । यसअघि उनको ‘स्ट्रोक्स अफ साइलेन्स’ शीर्षकमा चलायमान मनको भाव समेटेका थिए ।

‘स्ट्रोक्स अफ डिभिनिटी’ मा भगवान र मानिसको मनमा आधारित रहेर आफ्नो अनुभव र स्थानीयसँगको कुराकानीमा रहेर चित्रकलाहरू कोरेका छन् ।

‘स्ट्रोक्स अफ डिभिनिटी’ मा भगवान र मानिसको मनमा आधारित रहेर आफ्नो अनुभव र स्थानीयसँगको कुराकानीमा रहेर चित्रकलाहरू कोरेका छन् । भगवान विष्णु, शिव, कृष्ण, सरस्वती माता गणेशका ठूला आकारका चित्रहरूमा उनले काम गरेका छन् । प्रेम, आक्रोश, त्रास र पीडा लगायत भावलाई उनले रंगहरूमार्फत प्रतिनिधित्व गरेका छन् । करिव तीन महिनाको अवधिमा उनले यी चित्रकलाहरू तयार गरेका हुन् ।

‘मानिसको शरीर आफैं ठूलो आत्मा हो । यो आत्मा र भगवानलाई हेर्ने दृष्टिमा आधारित रहेर चित्रकलाहरू तयार भएका छन् । मैले भगवानप्रति देखाउने आत्मीय अनुभवपनि चित्रमार्फत देखाउने प्रयास गरेको छु,’ उनले भने । आमालाई भगवान विष्णुको अवतारको रूपमा वर्णन गरेका उनले भाव र कल्पनालाई आधार मानेर चित्र कोरेका छन् । ‘कुनै पनि व्यक्तिले नयाँ चिज लिनका लागि आफूभित्र भएका नकारात्मक कुरालाई हटाउनुपर्छ । नयाँ कुराको खोजी गर्नुपर्छ । मैलै यसमा देखाउन खाजेको यत्ति हो,’ उनले भने,‘ भगवानलाई हेर्ने दृष्टि मानिसअनुसार फरक हुन्छ । त्यसमा आध्यात्मिक कुराले पनि असर गर्दछ ।’

भगवान कृष्णको चञ्चल स्वभावमाथि आधारित चित्रले चलायमान प्रवृतिको बयान गरेको छ । ‘रंगको कुनै आकार नभएपनि यसले मानिसको सोचाईलाई केन्द्रित गरेको छ ,’ उनी भन्छन् । दुर्गा माताको चित्रकलाले आमा र छोरीको सम्बन्धको बयान गरेको छ । आमाको ममतालाई क्यानभासमा उतारिएको चित्रकला आकर्षक देखिन्छ । मातृत्वको नमुनाको रूपमा उत्त चित्रकलालाई देखाउने प्रयास गरिएको छ । त्यस्तै भगवान गणेशको बालकदेखि वृद्धसम्मलाई समेट्ने प्रयास गरिएको छ । ‘भगवान र मानिसको तस्बिर एउटै क्यानभासमा कोरेर दुई जनाबीचको सम्बन्धलाई परिभाषित गर्न खोजेको छु । आध्यात्मिक रूपमा हामीले भगवानलाई आदर गर्ने गछौं । भगवान कस्तो आकृतिको होलान् । कहिल्यै कल्पना गरेनौं,’ उनले भने,‘ त्यो कल्पनालाई क्यानभासमा उतारेको छु ।’

प्रायः पेन्टिङहरूमा मनका भित्री गति, कल्पनाशीलता, अस्थिरता या चञ्चलतालाई भिन्नाभिन्नै शैलीमार्फत उनले उतारेका छन् । उनी कल्पनाको माध्यमबाट भगवानलाई सम्झन्छन् । मानिसहरूको शारीरिक स्थिर हेरेर उनले भगवानको भाव प्रस्तुत गर्ने गरेका छन् ।  मानिसको मनभित्रको गतिलाई उनले आफ्ना चित्रहरूमा रंगमार्फत व्याख्या गर्न खोजेका छन् । सबै उमेर समूहका मानिसहरू उनका चित्रमा अटाएका छन् ।  सबै चलायमान गतिविधिमा देखिएका छन् । मानिसको मनमा बनेको कल्पनाको चित्रण पृष्ठभूमिमा हलुका रंगहरूका माध्यमले उनले देखाउने प्रयास गरेका छन् । प्रदर्शनी आगामी साउन १५ सम्म चल्नेछ ।

 

 

प्रकाशित: ५ श्रावण २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App